काल्पनिक तस्वीर

रामकुमार राई
काठमाडौं, कात्तिक १८ ।
गोरखको लिगलिग कोटमा राजा छनोट गर्ने अति नै अनौठो र विशिष्ट परम्परा रहेको थियो ।
प्रत्येक वर्ष बडादसैँका विजया दशमीको दिन लिगलिगकोट भन्दा केही तलतिर चापा भञ्ज्याङ्बाट खुर्पाजङ्गसम्म दौड प्रतियोगिता हुने र प्रथम हुने व्यक्तिलाई मुखिया वा राजा घोषणा गर्ने घले राज्य परम्परा थियो ।
लमजुङ राज्यका युवराज द्रव्य शाह जब यस दौड प्रतियोगितामा सामेल भए, तब घलेहरुले एक निशस्त्र र सामान्य व्यक्ति ठानेर उनलाई सहज रुपमा दौडमा भाग लिन दिए ।
तर, द्रव्य शाहको राजनीतिक उद्देश्यका बारेमा उनीहरु अनभिज्ञ थिए । दौडको कार्यक्रम सुरु भयो तर चापा भञ्ज्याङ् खोल्ली पोखरीबाट सुरु भएको दौडका लिगलिग कोट नपुग्दै बाटोमा लुकाइ राखिएको द्रव्य शाहका सशस्त्र सेनाद्वारा महिबल भन्दा केही तल आँपपिपल भन्ने स्थामा भीषण आक्रमण गरियो ।
हतियार बिना निशस्त्र दौडिरहेका घलेहरुसँग आँपपिपल नजिकैको पाच्यान भन्ने स्थानमा दुवै पक्षबीच भीषण युद्ध भयो । यस युद्धमा द्रव्य शाह विजयी भए र लिगलिगकोट उनको अधीनमा आयो ।
लिगलिगकोट विजय पश्चाल द्रव्य शाहले वि.सं. १६१६ भाद्र २५ गतेका दिन गोरखाका खड्का राजा मानसिंह खड्कालाई गोर्खालीहरुको सहयोगमा अपदस्त गरी शाहवंशीय शासन एवम् विशाल नेपालको एकीकरणको औपाचारिक श्रीगणेश गरे ।
द्रव्य शाहले आफ्नो बाहुबलद्वारा गोरखा राज्य कायम गरेपछि लमुजङका राजा बनेको उनका दाजु नरहरि शाहसँग मनमुटाव बढ्दै गयो । लमजुङ र गोरखाबीचको सीमा विवाद र भविष्यमा दाजु भाइबीच ठूलो रक्तपात नहोस् भनी दुवै राज्यको भद्रभलादमी र प्रतिनिधिहरुलाई जम्मा गरियो ।
बडामहारानी चम्पावतीको सल्लाह र उपस्थितिमा चेपे नदीलाई मूल सिमाना बनाई चेपे र मस्र्याङ्दीको दोभानमा चक्रबन्धन गरी दूधको धारा बगाइयो र अब यही दूधको साक्षी राखी राजा नरहरि शाह र द्रव्य शाहलाई आ–आफ्नो राज्यको सिमाना ननाघ्ने कसम खुवाइयो ।
गोरखा वंशावलीमा यसलाई गोरखा र लमजुङ बीचको पहिलो ऐतिहासिक सीमा सन्धिको रुपमा वर्णन गरिएको छ । पछि पनि लमजुङका राजा नरहरि शाहले षडयन्त्रपूर्वक बुबाको श्रद्धाको बहानामा निशस्त्र बोलाएर द्रव्य शाहलाई मार्न खोज्दा धाइआमाकी छोरीको सहयोगले द्रव्य शाह सुटुक्क भागी चेपे नदी तरेर पालुङटारको बाटो हुँदै गोरखा पुगेका थिए ।
