The Scene of Nuwawat after Bhotekoshi disastrous flood in August 2026 Photo: AP/RSS
सिन्धु घाटी सभ्यतादेखि भोटेकोशीको बाढीसम्म, प्रकृतिको बदलिँदो रूप र मानव भविष्य
अमृत खरेल

ठूलो बाढी आएपछि त्यसलाई जलवायु परिवर्तनसँग जोड्ने चर्चा हुन्छ। तर कुनै एउटा घटनाको कारण वैज्ञानिक रूपमा पुष्टि गर्न प्रमाण आवश्यक पर्छ।
जलवायु परिवर्तनले हिमनदी पग्लने क्रम, हिमतालको अवस्था, वर्षाको स्वरूप र हिमाली भूभागको स्थिरतामा असर पार्न सक्छ। तापक्रम बढ्दा केही हिमताल विस्तार हुन सक्छन्। वर्षाको मात्रा र समय परिवर्तन हुँदा पहिरो तथा बाढीको जोखिम पनि बदलिन सक्छ। तर हरेक बाढीको कारण एउटै हुँदैन। भूगर्भीय बनावट, पहिरो, नदीको ढलान र पानीसँगै बग्ने माटो तथा ढुङ्गाले पनि बाढीको आकार निर्धारण गर्छन्।
मानव सभ्यताको इतिहास पढ्दा हामी प्रायः राजा, युद्ध, साम्राज्य, व्यापार र महान् वास्तुकलाको चर्चा गर्छौं। तर सभ्यताको इतिहासमा नदी जीवनको स्रोत जीवन दायिनीका रूपमा रहेको देखिन्छ। नदीले खेतमा पानी पुर्यायो, उर्वर भूमि बनायो, व्यापारका मार्ग खोल्यो, सहर बसाल्यो र विशाल साम्राज्यहरूको आर्थिक आधार तयार गर्यो। तर नदीको यही शक्ति इतिहासको कुनै अर्को क्षण विनाशको कारण पनि बन्न सक्छ। जुन नदीले हजारौँ वर्षसम्म मानव बस्तीलाई जीवन दियो, त्यसैले आफ्नो प्रवाह बदल्दा, किनार भत्काउँदा वा असाधारण बाढी ल्याउँदा मानवले बनाएका संरचना केही घण्टामै मेटाउन सक्छ।
मानिसले नदीको किनारमा बस्ती बसाउन थाल्यो, खेती गर्न सिक्यो र विस्तारै सहर तथा सभ्यताको विकास गर्यो। नदीले पिउने पानी दियो, खेतमा सिँचाइ गर्न सघायो र व्यापारका बाटा खोल्यो। त्यसैले विश्वका धेरै पुराना सभ्यता नदीकै आसपास विकसित भए। तर नदी सधैँ मानिसको अनुकूल रहेन। कहिले बाढी आयो, कहिले नदीले धार बदल्यो र कहिले लामो समयसम्म पानीको अभाव भयो। यस्ता परिवर्तनले मानिसको जीवन र बसोबासमा गहिरो असर पारे।
आजभन्दा हजारौँ वर्षअघि विकसित सिन्धु सभ्यतादेखि मेसोपोटामिया र प्राचीन इजिप्टसम्मको इतिहासमा नदीको महत्त्व देखिन्छ। नेपालमा २०२६ अगस्ट २६ मा आएको भोटेकोशी–त्रिशूली बाढीले पनि हिमाली नदीको स्वभाव र त्यससँग जोडिएको जोखिमबारे फेरि सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ।
प्राचीन सभ्यताको इतिहास र नेपालको पछिल्लो बाढीबीच प्रत्यक्ष सम्बन्ध छैन। तर नदीको बहाव, पानीको उपलब्धता र भूगोलमा हुने परिवर्तनले मानव जीवनलाई कसरी असर गर्छ भन्ने विषयमा यी घटनाबाट धेरै कुरा बुझ्न सकिन्छ।


नदी किनारमा किन विकसित भए पुराना सभ्यता?
नदीले मानव बस्तीलाई चाहिने आधारभूत आवश्यकता पूरा गर्न सहयोग गर्थ्यो। पानी सजिलै उपलब्ध हुन्थ्यो, बाढीले बगाएर ल्याएको माटो खेतीका लागि उपयोगी हुन्थ्यो र नदीबाट सामान ओसारपसार गर्न सकिन्थ्यो। कृषि उत्पादन बढ्दै जाँदा जनसंख्या बढ्यो, बस्ती विस्तार भए र व्यापार तथा प्रशासनका केन्द्रहरू बने।
मेसोपोटामियाको युफ्रेटिस नदी आसपास पनि यस्तै प्रक्रिया देखिन्छ। अहिलेको इराक र आसपासको क्षेत्रमा विकसित पुराना बस्तीहरूको इतिहास नदीसँग नजिकबाट जोडिएको छ। तर युफ्रेटिस नदी सधैँ एउटै मार्गबाट बगेन। समयक्रममा नदीको धार बदलियो र पुराना मार्गहरू निष्क्रिय हुँदै गए।
जोथेरी, एलेन र विल्किन्सनले सन् २०१६ मा प्रकाशित अध्ययनमा पश्चिमी मेसोपोटामियाको नजफ क्षेत्रमा युफ्रेटिस नदीका पुराना मार्गहरूको अध्ययन गरेका छन्। नदीले धार बदल्दा बस्तीको स्थान, कृषि र मानिसको बसोबासमा असर पर्न सक्ने उनीहरूको अध्ययनले देखाउँछ (Jotheri et al., 2016)।
नदीको बहाव परिवर्तन हुँदैमा सभ्यता नै समाप्त हुन्छ भन्ने होइन। तर कुनै बस्तीको खेतीपाती र दैनिक जीवन नदीको पानीमा धेरै निर्भर छ भने पानीको उपलब्धता घट्नु वा नदी टाढा सर्नुले त्यहाँ बसिरहन कठिन बनाउन सक्छ।
प्राचीन इजिप्टको विकासमा नाइल नदीको ठूलो योगदान थियो। नाइलमा आउने मौसमी बाढीले खेतमा उर्वर माटो पुर्याउँथ्यो र कृषि उत्पादनमा सहयोग गर्थ्यो। तर इजिप्टका पुराना सहरहरू पानीमुनि भेटिँदा तिनलाई नाइलको बाढीले नै डुबाएको थियो भन्ने व्याख्यामाथि पनि प्रश्न उठेको छ।
भूवैज्ञानिक रश्दी सइदले सन् २००२ मा प्रकाशित टिप्पणीमा हेराक्लिओन र इस्ट क्यानोपस नामका प्राचीन सहर डुब्नुको कारणबारे गरिएको व्याख्यामा शंका व्यक्त गरेका थिए। ती सहरसँग सम्बन्धित नाइलको क्यानोपिक शाखा सहरहरू डुबेको भनिएको समयभन्दा धेरैअघि नै सुकिसकेको उनको तर्क थियो (Said, 2002)। यसले पुराना सहरको विनाशको कारण पत्ता लगाउन ऐतिहासिक विवरणसँगै भूगर्भीय प्रमाण पनि आवश्यक हुन्छ भन्ने देखाउँछ।


सिन्धु सभ्यताको पतनमा नदीको भूमिका
आजको पाकिस्तान र भारतको उत्तरपश्चिमी क्षेत्रमा विकसित सिन्धु उपत्यका सभ्यता प्राचीन विश्वका प्रमुख सहरी सभ्यतामध्ये एक थियो। हडप्पा र मोहेन्जोदारो यस सभ्यताका चर्चित केन्द्र हुन्। योजनाबद्ध सडक, ढल निकास, घर निर्माण र व्यापारिक सम्पर्कका कारण यो सभ्यता आज पनि अध्ययनको विषय बनेको छ।
तर यो सभ्यता किन कमजोर भयो र यसका ठूला सहरहरू किन विस्तारै खाली हुँदै गए भन्ने प्रश्नको एउटै उत्तर छैन। नदीको बहाव र वर्षामा आएको परिवर्तनलाई यसको एउटा सम्भावित कारण मानिन्छ। कतिपय मिथकीय कल्पनामा ठूलो बाँध विस्फोटको प्रलयले यो सभ्यतालाई नष्ट गरेको हुनसक्ने पनि अनुमान गरिएका छन्।
सिंह र उनका सहलेखकहरूले सन् २०१७ मा प्रकाशित अनुसन्धानमा हडप्पाका धेरै बस्ती नजिक भेटिएका पुराना नदीमार्गको अध्ययन गरेका थिए। उनीहरूले तीमध्ये एउटा प्रमुख नदीमार्ग कुनै समय सतलज नदीसँग सम्बन्धित रहेको देखाए। तर सतलज नदीले त्यो मार्ग छाडेको घटना हडप्पाका सहरी बस्ती विकास हुनुभन्दा धेरै अघि नै भएको उनीहरूको निष्कर्ष थियो। त्यसैले हडप्पाका सहरहरू सक्रिय हिमाली नदीको छेउमा मात्र विकसित भएका थिए भन्ने धारणा सही नहुन सक्छ (Singh et al., 2017)।
सन् २०२५ मा प्रकाशित अर्को अध्ययनले सिन्धु नदीको जलाधार क्षेत्रमा प्राचीन समयमा लामो अवधिसम्म नदीको बहाव घटेका घटना रहेको देखाएको छ। सोलंकी र उनका सहलेखकहरूले करिब ४,४०० देखि ३,४०० वर्षअघिको अवधिमा वर्षा र नदीको पानीमा आएको कमीले हडप्पा समाजलाई दबाबमा पारेको हुन सक्ने निष्कर्ष निकालेका छन्। पानीको अभावले कृषि उत्पादन, बस्तीको अवस्था र मानिसको बसाइँसराइमा असर गरेको हुन सक्ने उनीहरूको अध्ययनले देखाउँछ (Solanki et al., 2025)।
यसको अर्थ सिन्धु सभ्यता एउटै खडेरीका कारण समाप्त भएको थियो भन्ने होइन। जलवायु र पानीको उपलब्धतासँगै आर्थिक गतिविधि, व्यापारिक सम्बन्ध, सामाजिक परिवर्तन र मानिसले नयाँ परिस्थितिमा आफूलाई ढाल्न सके नसकेको विषय पनि महत्त्वपूर्ण छन्। पुराना सहरहरू कमजोर हुँदै जाँदा मानिसहरू अन्य क्षेत्रमा सरेको हुन सक्ने सम्भावनालाई पनि अध्ययनहरूले ध्यान दिएका छन्।
हिमाली क्षेत्रमा सुरु भएको बाढी कसरी तलसम्म पुग्छ?
नेपालमा नदीको जोखिम बुझ्न यहाँको भूगोललाई ध्यान दिनुपर्छ। हिमालमा हिउँ, हिमनदी र अस्थिर चट्टानी भिर छन्। पहाडी क्षेत्रमा नदीका खोँच साँघुरा र ढलान तीव्र छन्। तल्लो क्षेत्रमा भने बस्ती, सडक, पुल र जलविद्युत् आयोजना नदीकै आसपास छन्।
हिमाली क्षेत्रमा पहिरो जाँदा वा ठूलो मात्रामा चट्टान, माटो र हिउँ खस्दा नदीको बहाव एकाएक प्रभावित हुन सक्छ। पहिरोले नदी थुनिन सक्छ। त्यसरी बनेको अस्थायी बाँध फुटेमा पानीसँगै ढुङ्गा, माटो र अन्य सामग्री तीव्र गतिमा तलतिर बग्न सक्छन्। यस्तो प्रवाहले सामान्य बाढीभन्दा धेरै क्षति पुर्याउन सक्छ।
सन् २०१६ जुलाई ५ मा तिब्बतको पोइकु जलाधार क्षेत्रमा सुरु भएको हिमताल विस्फोटजन्य बाढी भोटेकोशीमा मिसिएपछि नेपालतर्फ पनि ठूलो असर परेको थियो। अरनिको राजमार्ग र माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनासहितका पूर्वाधार प्रभावित भएका थिए।
सत्तार र उनका सहलेखकहरूले सन् २०२२ मा प्रकाशित अध्ययनमा उक्त घटनाको विश्लेषण गर्दै सानो हिमतालबाट सुरु भएको बाढी तलतिर बग्ने क्रममा कसरी ठूलो मलबा प्रवाहमा परिणत हुन सक्छ भन्ने देखाएका छन् (Sattar et al., 2022)।
यस घटनाले हिमाली क्षेत्रमा सुरु भएको विपत्तिको असर सीमित क्षेत्रमा मात्र रहँदैन भन्ने स्पष्ट पार्छ। नदीको माथिल्लो भागमा भएको घटनाले केही समयमै तलका सडक, पुल, बस्ती र विद्युत् आयोजनामा क्षति पुर्याउन सक्छ।
२०२६ को भोटेकोशी–त्रिशूली बाढी
२०२६ अगस्ट २६ मा भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले नेपालमा हिमाली विपद्को जोखिमलाई फेरि चर्चामा ल्यायो। यस घटनाको कारण र विकासक्रमबारे प्रारम्भिक अध्ययन सार्वजनिक भएको छ। तर सबै विवरणलाई अन्तिम वैज्ञानिक निष्कर्ष मान्न अझै मिल्दैन।
इन्टिग्रेटेड रिसर्च अन डिजास्टर रिस्क (IRDR) अन्तर्गतका युवा वैज्ञानिकहरूले अगस्ट २८ मा सार्वजनिक गरेको द्रुत विश्लेषण प्रतिवेदनले डेडिङ/लाङटाङ क्षेत्र आसपास हिउँ, चट्टान र माटोको ठूलो पिण्ड खसेको घटनाबाट बाढी सुरु भएको हुन सक्ने अनुमान गरेको छ। प्रतिवेदनअनुसार त्यसले नदीमा अस्थायी अवरोध बनाएको र करिब १८ देखि १९ घण्टापछि अवरोध फुटेर पानी र मलबा तलतिर बगेको हुन सक्ने उल्लेख छ (IRDR Young Scientists in Nepal, 2026)।
यो प्रारम्भिक प्रतिवेदन उपलब्ध दोस्रो स्रोतका विवरणमा आधारित छ। प्रत्यक्ष स्थलगत अध्ययन नगरिएको प्रतिवेदनले घटनाको सम्भावित क्रमबारे जानकारी दिन्छ, तर वास्तविक कारण पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ। घटनास्थलको भूगर्भीय अध्ययन, उपग्रह चित्र, नदीको बहावसम्बन्धी तथ्याङ्क र पहिरोबाट आएको सामग्रीको विश्लेषणले थप स्पष्टता दिन सक्छ।
यस्ता घटनाले नेपालका विकास योजनासमक्ष गम्भीर प्रश्न उठाउँछन्। हिमाली नदी आसपास बनेका सडक, पुल र जलविद्युत् आयोजना सामान्य बहावको हिसाबले सुरक्षित देखिए पनि ठूलो बाढी र मलबा प्रवाहको सामना गर्न नसक्ने हुन सक्छन्। त्यसैले पूर्वाधार निर्माण गर्दा विगतमा नदी कहाँसम्म फैलिएको थियो, माथिल्लो क्षेत्रमा पहिरोको सम्भावना कति छ र असामान्य बाढी आएमा त्यसको असर कुन क्षेत्रमा पुग्न सक्छ भन्ने विषयको अध्ययन आवश्यक छ।
सिन्धु सभ्यताका सहरहरू किन हराए भन्ने प्रश्नको एउटै उत्तर छैन। मेसोपोटामियामा नदीका धार बदलिँदा बस्ती र खेतीमा असर परेको थियो। नाइल नदीले प्राचीन इजिप्टको कृषि र अर्थतन्त्रलाई सहयोग गरेको थियो। यी सबै उदाहरणमा मानिसको जीवन पानीको उपलब्धता र नदीको स्वभावसँग जोडिएको देखिन्छ।
के भोटेकोशीको बाढी जलवायु परिवर्तनका कारण आएको हो?
ठूलो बाढी आएपछि त्यसलाई जलवायु परिवर्तनसँग जोड्ने चर्चा हुन्छ। तर कुनै एउटा घटनाको कारण वैज्ञानिक रूपमा पुष्टि गर्न प्रमाण आवश्यक पर्छ।
जलवायु परिवर्तनले हिमनदी पग्लने क्रम, हिमतालको अवस्था, वर्षाको स्वरूप र हिमाली भूभागको स्थिरतामा असर पार्न सक्छ। तापक्रम बढ्दा केही हिमताल विस्तार हुन सक्छन्। वर्षाको मात्रा र समय परिवर्तन हुँदा पहिरो तथा बाढीको जोखिम पनि बदलिन सक्छ। तर हरेक बाढीको कारण एउटै हुँदैन। भूगर्भीय बनावट, पहिरो, नदीको ढलान र पानीसँगै बग्ने माटो तथा ढुङ्गाले पनि बाढीको आकार निर्धारण गर्छन्।
वाह र उनका सहलेखकहरूले सन् २०१९ मा हिमालय क्षेत्रमा मोरेनले थामेका हिमताल फुटेर आउने बाढीको आवृत्तिबारे अध्ययन गरेका थिए। हिमतालको क्षेत्रफल बढेका धेरै उदाहरण भेटिए पनि सन् १९८० को दशकको अन्त्ययता यस्ता बाढीको वार्षिक आवृत्तिमा स्पष्ट वृद्धि भएको विश्वसनीय प्रमाण नपाएको उनीहरूको निष्कर्ष थियो (Veh et al., 2019)।
यो अध्ययनले हिमाली क्षेत्रमा बाढीको जोखिम घटेको प्रमाणित गर्दैन। यसले हिमतालको विस्तार र बाढीको आवृत्तिबीचको सम्बन्धलाई सावधानीपूर्वक बुझ्नुपर्ने देखाउँछ। बाढी कति पटक आउँछ भन्ने प्रश्नसँगै त्यसको तीव्रता कति हुन्छ, कति मलबा बगाउँछ र त्यसले कति जनसंख्या तथा पूर्वाधारलाई असर गर्छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छन्।
भोटेकोशीको सन् २०२६ को बाढीमा जलवायु परिवर्तनको भूमिका थियो वा थिएन भन्ने निष्कर्ष निकाल्न दीर्घकालीन तापक्रम, वर्षा, हिमनदी, पहिरो र नदी प्रवाहका तथ्याङ्क आवश्यक छन्। अहिले उपलब्ध प्रारम्भिक प्रतिवेदनका आधारमा जलवायु परिवर्तन नै यसको प्रत्यक्ष कारण थियो भन्न सकिँदैन। तर हिमाली क्षेत्रमा बदलिँदो जलवायुबाट उत्पन्न हुन सक्ने जोखिमलाई विपद् व्यवस्थापनमा समेट्नु आवश्यक छ।
नदीको जोखिम बुझेर विकास गर्ने कि विपत्ति आएपछि मात्र सोच्ने?
नेपालमा सडक, पुल, जलविद्युत् आयोजना र बस्ती विस्तार भइरहेका छन्। यी विकासका काम हुन् र देशको आर्थिक जीवनका लागि आवश्यक पनि छन्। तर हिमाली नदीको प्रकृति नबुझी गरिने निर्माणले भविष्यमा ठूलो क्षति निम्त्याउन सक्छ।
नदीको अहिलेको बहाव हेरेर मात्र सडक वा पुलको सुरक्षा निर्धारण गर्न मिल्दैन। नदीले विगतमा बनाएका मार्ग, बाढी फैलिने क्षेत्र, पहिरोको सम्भावना र नदीले बगाएर ल्याउन सक्ने मलबाको मात्रा पनि अध्ययन गर्नुपर्छ। हिमाली क्षेत्रमा ठूलो ढुङ्गा र माटोसहित आउने बाढीले पुलका खम्बा थुन्न, सडक बगाउन र जलविद्युत् आयोजनाका संरचना क्षतिग्रस्त बनाउन सक्छ।
जोखिम घटाउन नदीको माथिल्लो जलाधारको नियमित अनुगमन आवश्यक छ। हिमताल, पहिरो र नदीको बहावबारे जानकारी संकलन गर्ने प्रणाली बलियो बनाउनुपर्छ। बाढीको चेतावनी समयमै तल्लो क्षेत्रका बस्तीमा पुर्याउन सकिएमा मानिसलाई सुरक्षित स्थानमा जान समय मिल्छ। जोखिमयुक्त क्षेत्रमा निर्माण गर्दा सुरक्षित स्थान छनोट, प्राविधिक मापदण्ड र विपद्को अवस्थामा अपनाउने योजनालाई प्राथमिकता दिनुपर्छ।
जलवायु परिवर्तनका कारण जोखिम कसरी बदलिन सक्छ भन्ने विषयमा पनि अध्ययन आवश्यक छ। हिमाली क्षेत्रमा भएका परिवर्तनको असर नेपालमा मात्र सीमित नहुन सक्छ। सीमापारिका नदी प्रणालीमा भएको घटनाले नेपालका बस्ती र पूर्वाधारलाई असर गर्न सक्ने भएकाले छिमेकी देशसँग तथ्याङ्क आदानप्रदान र पूर्वसूचना प्रणालीमा सहकार्य पनि महत्त्वपूर्ण हुन्छ।


के पृथ्वी फेरि हिमयुगतिर जाँदै छ?
जलवायु परिवर्तनबारे चर्चा गर्दा अर्को प्रश्न उठ्छ। पृथ्वीको इतिहासमा धेरै पटक हिमयुग आएका छन् र बीचमा तुलनात्मक रूपमा न्यानो अवधि पनि रहेका छन्। के भविष्यमा पृथ्वी फेरि हिमयुगतिर जान सक्छ?
वैज्ञानिक अध्ययनअनुसार पृथ्वीको कक्ष र अक्षको झुकावमा हुने दीर्घकालीन परिवर्तनले सूर्यको प्रकाश पृथ्वीका विभिन्न भागमा पर्ने तरिकालाई प्रभावित गर्छ। यस्ता परिवर्तनले हजारौँ वर्षको अवधिमा हिमयुग सुरु हुने वा अन्त्य हुने अवस्थालाई प्रभाव पार्छन्। तर अहिले मानव गतिविधिबाट वायुमण्डलमा बढेको कार्बन डाइअक्साइडले पृथ्वीको तापक्रममा थप प्रभाव पारिरहेको छ।
गानोपाल्स्की र उनका सहलेखकहरूले सन् २०१६ मा प्रकाशित अध्ययनमा अर्को हिमयुग सुरु हुने समय सूर्यको प्रकाश र वायुमण्डलीय कार्बन डाइअक्साइडको मात्राबीचको सम्बन्धमा निर्भर हुने देखाएका थिए। उनीहरूको जलवायु नमुनाअनुसार मानव गतिविधिको प्रभाव नभएको अवस्थामा पनि वर्तमान अन्तरहिमयुग हजारौँ वर्षसम्म रहन सक्ने सम्भावना छ। मानवजन्य कार्बन उत्सर्जनले अर्को हिमयुगको सुरुआतलाई अझ धेरै पछाडि धकेल्न सक्छ (Ganopolski et al., 2016)।
यसको अर्थ भविष्यमा हिमयुग कहिल्यै आउँदैन भन्ने होइन। तर अर्को हिमयुग कहिले सुरु हुन्छ भनेर निश्चित मिति तोक्न सकिँदैन। वैज्ञानिक अध्ययनले विभिन्न सम्भावित अवस्थाको अनुमान गर्छन्, जसको नतिजा कार्बन उत्सर्जन र पृथ्वीको जलवायु प्रणालीमा निर्भर हुन्छ।
हिमालयमा हिमनदी पग्लनु वा कुनै हिमताल फुटेर बाढी आउनु भनेको पृथ्वी हिमयुगतिर जाँदै छ भन्ने संकेत होइन। हिमाली क्षेत्रमा हुने यस्ता घटना र विश्वव्यापी हिमयुगको दीर्घकालीन प्रक्रिया फरक विषय हुन्।
भविष्य सुरक्षित बनाउन इतिहासबाट सिक्नुपर्ने कुरा
सिन्धु सभ्यताका सहरहरू किन हराए भन्ने प्रश्नको एउटै उत्तर छैन। मेसोपोटामियामा नदीका धार बदलिँदा बस्ती र खेतीमा असर परेको थियो। नाइल नदीले प्राचीन इजिप्टको कृषि र अर्थतन्त्रलाई सहयोग गरेको थियो। यी सबै उदाहरणमा मानिसको जीवन पानीको उपलब्धता र नदीको स्वभावसँग जोडिएको देखिन्छ।
नेपालको भोटेकोशी बाढीले पनि हिमाली भूगोलमा हुने घटनालाई सामान्य स्थानीय विपत्तिका रूपमा मात्र हेर्न नमिल्ने देखाएको छ। माथिल्लो क्षेत्रमा पहिरो जानु वा नदी थुनिनुले तलका बस्ती र पूर्वाधारलाई असर गर्न सक्छ। त्यसैले विकासको योजना बनाउँदा नदीको वर्तमान अवस्था मात्र होइन, विगतको इतिहास र भविष्यमा हुन सक्ने परिवर्तनलाई पनि ध्यान दिनुपर्छ।
मानिसले नदीलाई बाँधेको छ, नहर बनाएको छ र त्यसबाट ऊर्जा उत्पादन गरेको छ। तर प्रविधिको विकासले प्राकृतिक जोखिम पूर्ण रूपमा हटाएको छैन। जोखिम बुझ्ने क्षमता बढेको छ, तर त्यसअनुसार योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारी पनि बढेको छ।
नदीले सभ्यताको विकासमा ठूलो योगदान दिएको छ। त्यसैले नदीलाई केवल पानीको स्रोत वा विकासका लागि प्रयोग गरिने साधनका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। नदीको बहाव, त्यसले बनाएको भूगोल र त्यसमा हुने परिवर्तन बुझेर बस्ती तथा पूर्वाधार निर्माण गर्नु आवश्यक छ। हिमाली क्षेत्रमा बढ्दो विकासका बीच यो कुरा झन् महत्त्वपूर्ण बनेको छ।
सभ्यताको इतिहासमा नदी जीवनको आधार थियो। आज पनि नदी जीवनकै आधार हो। फरक यति हो, अहिले हामीसँग नदीको जोखिम बुझ्ने वैज्ञानिक ज्ञान र त्यसबाट हुने क्षति कम गर्ने प्रविधि उपलब्ध छन्। ती ज्ञान र प्रविधिलाई व्यवहारमा उतार्न सक्नु नै भविष्यका विपत्तिबाट जोगिने महत्त्वपूर्ण उपाय हो।
सन्दर्भ सूची
Adler, C., Wester, P., Bhatt, I., Huggel, C., Insarov, G. E., Morecroft, M. D., Muccione, V., & Prakash, A. (2022). Cross-chapter paper 5: Mountains. In H.-O. Pörtner, D. C. Roberts, M. Tignor, E. S. Poloczanska, K. Mintenbeck, A. Alegría, M. Craig, S. Langsdorf, S. Löschke, V. Möller, A. Okem, & B. Rama (Eds.), Climate change 2022: Impacts, adaptation and vulnerability (pp. 2273–2318). Cambridge University Press. https://doi.org/10.1017/9781009325844.022
Ganopolski, A., Winkelmann, R., & Schellnhuber, H. J. (2016). Critical insolation–CO₂ relation for diagnosing past and future glacial inception. Nature, 529(7585), 200–203. https://doi.org/10.1038/nature16494
Intergovernmental Panel on Climate Change. (2021). Climate change 2021: The physical science basis. Cambridge University Press. https://doi.org/10.1017/9781009157896
IRDR Young Scientists in Nepal. (2026, August 28). Rapid analysis report: Scientific anatomy of the 26 August 2026 Bhotekoshi flash flood. Integrated Research on Disaster Risk. https://www.irdrinternational.org/knowledge_pool/publications/142
Jotheri, J., Allen, M. B., & Wilkinson, T. J. (2016). Holocene avulsions of the Euphrates River in the Najaf area of western Mesopotamia: Impacts on human settlement patterns. Geoarchaeology, 31(3), 175–193. https://doi.org/10.1002/gea.21548
Said, R. (2002). Did Nile flooding sink two ancient cities? Nature, 415, 37–38. https://doi.org/10.1038/415037a
Sattar, A., Haritashya, U. K., Kargel, J. S., & Karki, A. (2022). Transition of a small Himalayan glacier lake outburst flood to a giant transborder flood and debris flow. Scientific Reports, 12, Article 12421. https://doi.org/10.1038/s41598-022-16337-6
Singh, A., Thomsen, K. J., Sinha, R., Buylaert, J.-P., Carter, A., Mark, D. F., Mason, P. J., Densmore, A. L., Murray, A. S., Jain, M., Paul, D., & Gupta, S. (2017). Counter-intuitive influence of Himalayan river morphodynamics on Indus Civilisation urban settlements. Nature Communications, 8, Article 1617. https://doi.org/10.1038/s41467-017-01643-9
Solanki, H., Jain, V., Thirumalai, K., Rajagopalan, B., & Mishra, V. (2025). River drought forcing of the Harappan metamorphosis. Communications Earth & Environment, 6, Article 926. https://doi.org/10.1038/s43247-025-02901-1
Veh, G., Korup, O., von Specht, S., Roessner, S., & Walz, A. (2019). Unchanged frequency of moraine-dammed glacial lake outburst floods in the Himalaya. Nature Climate Change, 9, 379–383. https://doi.org/10.1038/s41558-019-0437-5
लेखक अन्तर्राष्ट्रिय द्विदेशीय त्रिदेशीय जलपरिवहन र नदी प्रणाली कानूनका अध्येता ज्ञाता हुनुहुन्छ । उहाँ त्रिवि इतिहास संस्कृति एवं पुरातत्व विभागबाट विद्यावारिधि गर्दै हुनुहुन्छ ।
