रतन भण्डारी

कमान्डर-इन-चिफ (प्रधान सेनापति) धीरशमशेर अर्थात् ‘सान्नानी’। असोज ३० गते राणा कुँवरहरूमा ‘शमशेर खलक’ का जन्मदाता कमाण्डर जनरल धीरशमशेर कुँवर राणाको निधन भएको दिन हो। जंगबहादुर राणाका सबैभन्दा कान्छा र विश्वासपात्र भाइ धीरशमशेर निकै साहसी, कूटिल, चतुर सैन्य जनरल थिए। अर्का दाजु रणोद्दीप सिंहको प्रधानमन्त्रीकालमा धीरशमशेर राज्यसत्ताको वास्तविक हर्ताकर्ता थिए। भाइहरुमा कान्छो भएकाले जंगबहादुरसहित सबै दाजुहरुले उनलाई ‘सान्नानी’ भनेर बोलाउँथे।
नेपालको ऐतिहासिक राजनीतिक घटनाक्रममा धीरशमशेर संलग्न रहे। वि.सं. १९०३ को रक्तपातपूर्ण कोत पर्वमा उनले आफ्ना काहिला दाजु कृष्णबहादुरको ज्यान बचाएर जेठा दाजु जंगबहादुरको मन जितेका थिए। उनले पछि वि.सं. १९०७ मा दाजु जंगबहादुरसँगै बेलायत र फ्रान्सको भ्रमण गर्न पाए। वि.सं. १९११/१२ को नेपाल-भोट (तिब्बत) युद्धमा कुती मोर्चाको कमान्ड सम्हाल्दै विजय हासिल गरे। वि.सं. १९१४ (१८५७) को उत्तरी भारतको सिपाही विद्रोह दमनमा नेपाली सेनाको नेतृत्व गर्दै लखनऊ, बनारस पुगे।
सैन्य क्षेत्रका साथै सामाजिक-शैक्षिक क्षेत्रको विकासमा पनि धीरशमशेरको भूमिका रह्यो। काठमाडौँको तीनधारामा ‘तीनधारा संस्कृत छात्रावास’ र अङ्ग्रेजी प्राथमिक विद्यालय स्थापनामा उनको हात थियो। वि.सं. १९३६ मा दाजु जगतशमशेरको निधनपछि प्रधान सेनापति बनेका धीरशमशेरले कमजोर स्वभावका प्रधानमन्त्री दाजु रणोद्दीप सिंहको शासनकालमा राजनीति र प्रशासनमा हाबी रहे। वि.सं. १९३८/३९ तिर प्रधानमन्त्री रणोद्दीपविरुद्ध भएका आन्तरिक षड्यन्त्र र सत्ताच्युतको प्रयास विफल पार्ने धीरशमशेर नै थिए।
प्रधानमन्त्री बन्ने रोलक्रमको नजिकै पुगेका धीरशमशेरको वि.सं. १९४१ असोज ३० गते (घाँटीमा हाड अड्किएका कारण) ५७ वर्षको उमेरमा निधन भयो। उनको मृत्युपछि नै नेपालको राजनीतिमा अर्को ठूलो उथलपुथल आयो।
धीरशमशेरका चार श्रीमतीबाट १७ जना छोरा थिए, जसलाई इतिहासमा ‘सत्र भाइ राणा’ वा ‘शमशेर खलक’ भनिन्छ। धीरशमशेरको मृत्युपछि प्रधानमन्त्री रणोद्दीप सिंहले जंगबहादुरका छोराहरू (विशेषगरी जगतजंग) लाई फेरि रोलक्रममा अगाडि ल्याएर प्रधानमन्त्री बनाउने तयारीमा जुटे। त्यसबाट धीरशमशेरका १७ छोराहरू अत्तालिए। जंगबहादुरका छोराहरू सत्तामा आए भने आफ्नो राजनीतिक भविष्य सकिने अवस्था देखे।
त्यसपछि धीरशमशेरका यिनै १७ भाइ छोराहरू (वीरशमशेर, खड्गशमशेर, चन्द्रशमशेर, डम्बरशमशेर) ले विद्रोह (१९४२ सालको पर्व) गरी आफ्ना ठूलोबुवा प्रधानमन्त्री रणोद्दीप सिंहको हत्या गरे। त्यसपछि वि.सं. २००७ सालसम्म राज्यसत्ताको बागडोर धीरशमशेर खलकमा सर्न पुग्यो। अर्थात्, २००७ सालसम्म नेपालमा शासन गर्ने सबै राणाहरू धीरशमशेरका सन्तान मात्रै रहे।
धीरशमशेरका चार श्रीमतीबाटका १७ छोराहरू (सत्र भाइ) छोराहरूमा: १. वीरशमशेर (प्रधानमन्त्री), २. डम्बरशमशेर, ३. खड्गशमशेर (कमान्डर इन चिफ), ४. रणशमशेर (कमान्डर इन चिफ), ५. देवशमशेर (प्रधानमन्त्री), ६. चन्द्रशमशेर (प्रधानमन्त्री), ७. भीमशमशेर (प्रधानमन्त्री), ८. फत्तेशमशेर, ९. ललितशमशेर, १०. जीतशमशेर, ११. पूर्णशमशेर, १२. यदुशमशेर, १३. शेरशमशेर, १४. दुर्गाशमशेर, १५. जुद्धशमशेर (प्रधानमन्त्री), १६. खम्ब (धम्ब) शमशेर र १७. हर्कशमशेर हुन्।
लेखक इतिहास, नेपालको सीमाना र जलस्रोत विषयका विज्ञ हुनुहुन्छ ।
