संगीत सिर्जना र मस्तिष्क
रामकुमार राई

काठमाडौं, कात्तिक १९ ।
वृद्ध उमेरसँगै आउने मानसिक वा संज्ञानात्मक कमजोरीहरू, विशेष गरी अल्जाइमर र डिमेन्सिया जस्ता गम्भीर मानसिक समस्याहरूको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ।
सन् २०२५ को जुन महिनामा प्रतिष्ठित वैज्ञानिक जर्नल फ्रन्टियर्स इन न्युरोसाइन्स मा प्रकाशित एक नवीनतम अनुसन्धानले वृद्धवृद्धाहरूमा हुने मानसिक ह्रासलाई रोक्न वा सुधार्न संगीत सिर्जनासम्बन्धी अभ्यासले कस्तो भूमिका खेल्छ भन्ने विषयमा महत्त्वपूर्ण तथ्य बाहिर ल्याएको छ।
अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयकी मनोविज्ञान विभागकी अनुसन्धानदाता ई. लिडिया वु-चुङको नेतृत्वमा गरिएको यस अध्ययनले संगीत सिर्जनाको अभ्यास र सम्पूर्ण मस्तिष्कको नेटवर्कको लचकता बीचको गहिरो सम्बन्ध उजागर गरेको छ।
यसले वृद्ध उमेरका व्यक्तिहरूमा मानसिक स्वास्थ्य जोगाउन गैर-औषधोपचार विधि कति प्रभावकारी हुन सक्छ भन्ने नयाँ दृष्टिकोण दिएको छ।
विश्वव्यापी रूपमा ६५ देखि ८५ वर्ष उमेर समूहका मानिसहरूमा सामान्य उमेरजन्य परिवर्तनभन्दा बढी संज्ञानात्मक कमजोरी देखिने दर १५ देखि २० प्रतिशतसम्म रहेको विभिन्न तथ्याङ्कले देखाएको छ।
सन् २०५० सम्ममा विश्वमा वृद्धवृद्धाहरूको जनसंख्या दोब्बर हुने अनुमान गरिएको छ, जसका कारण मस्तिष्कको स्वास्थ्य र मानसिक क्षमता जोगाउन विभिन्न विकल्पहरूमाथि तीव्र अनुसन्धान भइरहेको छ।
यसअघिका अध्ययनहरूले पनि संगीतका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदा मानिसको स्मरणशक्ति, सोच्ने क्षमता र समग्र बौद्धिक विकासमा सकारात्मक प्रभाव पर्ने देखाएका थिए।
तर, संगीतको अभ्यासले मस्तिष्कको भित्री संरचनामा कस्तो प्रभाव पार्छ र यसको वास्तविक न्युरोलोजिकल प्रक्रिया के हो भन्ने बारेमा पर्याप्त वैज्ञानिक प्रमाणहरू थिएनन्।
यही रिक्ततालाई पुर्नका लागि अनुसन्धान टोलीले वृद्ध उमेरका व्यक्तिहरूमा संगीत सिर्जनात्मकताले मस्तिष्कको नेटवर्क मोडुलारिटी र लचकतामा पार्ने प्रभावको अध्ययन गरेको थियो।
अनुसन्धानका नतिजाले प्रारम्भिक अनुमानभन्दा केही फरक तर निकै रोचक तथ्यहरू देखाएका बताइएकाे छ । ६ हप्ताको छोटो अवधिको संगीत कक्षाले मात्रै सहभागीहरूको समग्र मस्तिष्कको नसागत लचकता र मोडुलारिटीमा कुनै प्रत्यक्ष फेरबदल ल्याएको देखिएन।
तर, अनुसन्धानको सबैभन्दा ठूलो सफलता के रह्यो भने, संगीत कक्षाले कसलाई कस्तो फाइदा पुर्याउँछ भन्ने कुरा व्यक्तिको शुरुआती मस्तिष्कको नसागत लचकता मा निर्भर हुँदो रहेछ।
जो वृद्धवृद्धाहरूमा अध्ययनको थालनीमै औसतभन्दा उच्च स्तरको मस्तिष्क नेटवर्क लचकता थियो, उनीहरूले संगीत सिर्जनात्मकता कक्षापछि नियन्त्रित समूहका तुलनामा आफ्नो वैश्विक संज्ञानात्मक क्षमतामा निकै ठूलो सुधार देखाए। औसत वा कम लचकता भएका व्यक्तिहरूमा भने दुवै समूहबीच उल्लेखनीय संज्ञानात्मक भिन्नता पाइएन।
वैज्ञानिकहरूको भनाइ अनुसार उच्च मस्तिष्क लचकता हुनु भनेको मस्तिष्कका विभिन्न भागहरूले एक-अर्कासँग सहजै सूचना आदानप्रदान गर्नु र आवश्यकता अनुसार आफ्ना कार्यगत समुदायहरू बदल्न सक्नु हो।
संगीत सिर्जना गर्दा नयाँ लय, ताल र भावनाहरूको समायोजन गर्नुपर्ने हुन्छ, जसका लागि मस्तिष्कको उच्च तहको कार्यकारी नियन्त्रण आवश्यक पर्छ।
जसका मस्तिष्कमा पहिलेदेखि नै यो लचकता सक्रिय हुन्छ, उनीहरूले नयाँ कुरा छिटो सिक्न, सम्झिन र संगीतका नवीन सिर्जनात्मक चुनौतीहरूलाई आत्मसात गर्न सक्षम हुन्छन्। यसले गर्दा उनीहरूको मस्तिष्कको कार्यक्षमतामा प्रत्यक्ष सुधार देखिन्छ।
