दुगुनागढी किल्ला
सिन्धुपाल्चोक, कात्तिक २८ ।
नेपालको ऐतिहासिक, सामरिक तथा पुरातात्त्विक महत्त्व बोकेको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकास्थित यार्मासिङमा अवस्थित ‘दुगुनागढी किल्ला’ अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि एक प्रमुख आकर्षक गन्तव्य बन्दै गएको छ।
समुद्र सतहबाट करिब २,२०० मिटरको उचाइमा रहेको यो गढी नेपाली इतिहासको एक जीवन्त दस्तावेजका रूपमा उभिएको छ।
इतिहासका पानाहरू पल्टाउँदा विसं १९१२ मा नेपाल र तिब्बतबीच भएको भीषण लडाइँका बेला देशको सार्वभौमिकता र सुरक्षाको रक्षा गर्न तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले यस रणनीतिक स्थानमा यो गढी निर्माण गर्न लगाएका थिए।
नेपाल सरकारद्वारा ऐतिहासिक मानिएका १० प्रमुख गढीहरूमध्ये दुगुनागढीलाई अति महत्त्वपूर्ण मानिन्छ।
युद्धका क्रममा प्रधानमन्त्री जङ्गबहादुर राणा स्वयं यसै गढीमा उपस्थित भएर घुँडा टेकी तिब्बती फौजमाथि गोली प्रहार गरी निर्णायक आक्रमणको नेतृत्व गरेका थिए भन्ने ऐतिहासिक वर्णन पाइन्छ।
आज पनि गढी परिसरमा उहाँको पैतालाको निशान सुरक्षित रहेको विश्वास गरिन्छ, जसले इतिहासप्रेमी तथा पर्यटकहरूलाई गहिरो आकर्षण गर्ने गरेको छ।
पछिल्लो समय यो क्षेत्र केवल ऐतिहासिक अध्ययन र अनुसन्धान गर्नेहरूको मात्र नभई साहसिक पदयात्रा (ट्रेकिङ) गर्न रुचाउने घुमन्तेहरूको पनि पहिलो रोजाइ बन्दै गएको छ।
ऐतिहासिक गौरव बोकेको यस स्थानको उचित प्रचारप्रसार र संरक्षण हुन सकेमा यस क्षेत्रले नेपालको पर्यटन प्रवर्द्धनमा अझ ठुलो टेवा पुर्याउने देखिन्छ।
