प्राविधिक समस्या आएपछि आज नेप्से कारोबार स्थगित
काठमाडौं, असोज ५ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज हुने नियमित कारोबार स्थगित गरिएको छ।
नेप्सेका ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि कारोबार स्थगित गरिएको हो।
समस्या समाधानका लागि पहल भइरहे पनि हालसम्म पूर्ण रूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ। यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि आजको नियमित कारोबार सत्र स्थगित गरिएको हो।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत प्राविधिक समस्या समाधान नभएसम्म आजको कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो।
सोही सन्दर्भमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम आज असोज ५ गतेको कारोबार स्थगित गरेको जनाएको छ।
प्राविधिक समस्या समाधान भएपछि नियमित कारोबार सञ्चालनबारे आवश्यक जानकारी गराइने नेप्सेले जनाएको छ।
कारोबार स्थगित हुँदा लगानीकर्तालाई पर्न गएको असुविधाप्रति नेप्सेले क्षमायाचना गरेको छ।
