जेनेभा, १३ असोज :
उत्तर–पश्चिमी स्विट्जरल्यान्डको एक अपार्टमेन्टमा मङ्गलबार विस्फोट भएको छ । विष्फोटमा परी चार जना घाइते भएका छन् भने घाइतेमध्ये उक जनालाई गम्भीर रूपमा चोट लागेको प्रहरीले जनाएको छ ।
“साथनीय समयअनुसा मङ्गलबार दिउँसो करिब १२ बजे एक आवासीय भवनको अपार्टमेन्टमा विस्फोट भएको थियो,” क्षेत्रीय न्यूशाटेल प्रहरीका प्रवक्ता जर्ज–आन्द्रे लोजुएले एएफपीलाई बताउनुभयो ।
“चार जना घाइते भएका छन्, जसमध्ये एक जना गम्भीर रूपमा घाइते भएका छन् र उनीहरूलाई हेलिकोप्टरबाट अस्पताल लगिएको छ,” उहाँले भन्नु्भयो ।
यो जानकारी स्थानीय दैनिक अर्किन्फोले पहिलो पटक प्रकाशित गरेको थियो।
स्विस सार्वजनिक प्रसारक आरटीएसले प्रकाशित गरेको भिडियोमा पहिलो तल्लाको अपार्टमेन्टका झ्यालबाट आगो र बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ । आवासीय भवनको तल्लो भागको अग्रभागमा ठूलो क्षति पुगेको छ ।
लोजुएले विस्फोटको कारण अझै अस्पष्ट रहेको बताउनुभयो ।
घटनाको केही समयपछि आगलागी सफलतापूर्वक नियन्त्रणमा आएको छ, तर दिउँसोको मध्यसम्म पनि उक्त क्षेत्र अवरुद्ध राखिएको छ । (रासस/एएफपी)
