‘एक चिहान’ मा आधारित नाटक
काठमाडौं, असोज १३ ।
वरिष्ठ लेखक तथा निबन्धकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि २५ गतेसम्म काठमाडौँ गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुनेभएको छ ।
उक्त नाटक प्रदर्शनीसम्बन्धी जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी १६ गतेदेखि १० दिनसम्म हरेक दिन ५ः०० बजे र बिदाका दिन २ः०० बजेसमेत नाटक प्रदर्शन हुने आयोजकले बताएको छ ।
आयोजकका अनुसार कक्षा १२ को नेपाली पाठ्यक्रममा एक चिहानु समावेश भएकाले विद्यार्थी र युवा पुस्ताका लागि यो नाटक विशेष रूपमा उपयोगी र फलदायी सिद्ध भएको छ। पुस्तकमा मात्र पढेको सामग्रीलाई प्रत्यक्ष रङ्गमञ्चमा अनुभव गर्दा साहित्यको अध्ययन अझ जीवन्त, रुचिकर र अर्थपूर्ण बन्छ।
नेपाली साहित्यको एउटा अत्यन्तै चर्चित, प्रभावशाली र जीवन्त ‘एक चिहान’ उपन्यासले नेपाली समाजको यथार्थपरक चित्रण गर्दै वर्गीय विभेद, गरिबी, सामाजिक अन्धविश्वास, र क्रान्तिकारी चेतनालाई सशक्त रूपमा उठाएको छ।नाट्य शालाको प्रस्तुतिमा यस कालजयी कृतिलाई नाट्य रूपान्तरण गरी रङ्गमञ्चमा उतारिएको छ।
यो नाटक कोहलपुर, बुटवल, चितवन, हेटौँडा, र सुर्खेत जस्ता देशका विभिन्न प्रमुख सहरहरूमा ९०औँ पटक सफलतापूर्वक मञ्चन गरी काठमाडौं आइपुगेको नाटकका निर्देशक नकुल पौडेलले जानकारी दिए ।
नेपाली समाजमा चलचित्र वा अन्य मनोरञ्जनका साधनहरूको तुलनामा नाटक हेर्ने संस्कृति अझै पनि ओझेलमा छ। निर्देशक पौडेलका अनुसार नेपाली समाजमा, विशेषगरी युवा पुस्ता र विद्यार्थीहरूलाई थिएटरसम्म आकर्षित गरी नाट्य संस्कृतिको जगेर्ना र विकास गर्ने, यो नाटक पाठ्यक्रममा समावेश गरिएको हुनाले विद्यार्थीहरूले किताबका पानामा मात्र सीमित राखेको ज्ञानलाई रङ्गमञ्चमा प्रत्यक्ष रूपमा देखेर बुझ्ने अवसर सिर्जना गर्न, सैद्धान्तिक सिकाईलाई व्यावहारिक र जीवन्त सिकाईमा बदल्न जस्ता उदेश्य रहेको जानकारी दिए ।
नाटकले परम्परागत प्रस्तुति शैलीभन्दा माथि उठेर पात्रहरूको मनोविज्ञान र सामाजिक परिवेशमाथि एउटा गहन अनुसन्धानमूलक र प्रयोगात्मक दृष्टिकोण प्रस्तुत गरेको उनको दाबी रहेको छ ।
चर्चित र धेरै पढिएको उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण र निर्देशन नकुल पौडेल, सह–निर्देशन मिरोन पौडेल र व्यवस्थापन मनोज तामाङले गरेका छन् ।
यस नाटकमा मिरोन पौडेल (डा. गोदत्तप्रसाद, पुजा तामाङ (नानिथकु), गोपाल महतारा (शिवनारान), शक्ति पौडेल (पुन नारान), बिपना थिङ्ग (सिन्तली), पुष्पेन्द्र खड्का (अष्टनारान), कुशल बास्कोटा (रामबहादुर), रुपा थापा (लतमाया), सञ्जय विश्वकर्मा (रत्नमान), सरस दाहाल (हाकुमाया), आयुष्मा गुरुङ (रञ्जनादेवी), विशाल कार्की (हर्षनारान), र दिवस न्यौपाने (राम खेलावन) आदि कलाकारहरुको भूमिका रहेको छ ।
नाट्य शालाद्वारा प्रस्तुत एक चिहान नाटक केवल एउटा साहित्यिक कृतिको मञ्चन मात्र होइन, यो नेपाली रङ्गमञ्चको एउटा ऐतिहासिक र गौरवशाली कोसेढुङ्गा हो।
एकीकृत नेपाल ।
