राम कुमार राई

जी. शाहका रचनामा रचनाधर्मिताको एउटा उल्लेखनीय पक्ष जीवनलाई बुझ्नु र त्यसबाट प्राप्त अर्थलाई अरूसँग बाँड्नु हो। उहाँ प्रेमलाई केवल व्यक्तिगत आकर्षणमा सीमित गर्नुहुन्न; त्यसलाई स्मृति, मौनता र लेखनसँग जोड्नुहुन्छ।
………………………..
दुःखलाई केवल पीडाको बयानमा रोक्नुहुन्न बरु त्यसबाट आत्मबल निर्माण गर्ने सम्भावना खोज्नुहुन्छ। राष्ट्रलाई भूगोलमा सीमित गर्नुहुन्न, त्यसलाई नागरिक कर्तव्य र ऐतिहासिक स्मृतिसँग सम्बन्धित गराउनुहुन्छ।
तर उहाँको सिर्जनात्मक स्वभावको अर्को पक्ष प्रत्यक्ष सन्देश दिनेतर्फ उन्मुख छ। यसले गीतलाई सहज, लोकप्रिय र स्मरणीय बनाउने सामर्थ्य राख्छ।
राजकीय व्यक्तित्वको परिचय बोकेका स्रष्टाका रूपमा चिनिनुभएका जी. शाहलाई गीतकारका रूपमा पढ्नु भनेको उहाँको सार्वजनिक व्यक्तित्वबाट अलग भएर उहाँका शब्द, संवेदना र काव्यिक अभिप्रायसँग साक्षात्कार गर्नु हो।
कुनै रचनाकारको साहित्यिक मूल्याङ्कन गर्दा सामाजिक परिचय, राजनीतिक हैसियत वा रचयिताले ओगटेको ऐतिहासिक स्थानभन्दा पहिले रचनाकारको साहित्यिक रचनाले व्यक्त गरेको मर्म, भावना, काव्यिक छटा र शैलीगत बान्की, भाषिक विशिष्टता र मानवीय चेतनाको मूल्यांकन गर्नु समीक्षकको धर्म हो।
जी. शाहका गीतहरूको समीक्षा गर्दा पनि उहाँका रचनाका यिनै आयामहरुको सिंहावलोकन नै अर्थपूर्ण हुन्छ।
जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्दछन् कवि अर्थात् कविको कल्पनाले त्यहाँसम्म यात्रा गर्न सक्छ, जहाँ भौतिक प्रकाश समेत पुग्न सक्दैन भनिन्छ। तर त्यस्तो भावमय यात्राको साहित्यिक सफलता कल्पनाको उडानमा मात्र निर्भर हुँदैन; त्यो उडानलाई कति विशिष्ट अनुभूति, मौलिक बिम्ब र सुललित अभिव्यक्तिमा रूपान्तरण गर्न सकियो भन्ने कुराले निर्धारण गर्छ।
जी. शाहका पछिल्ला केही छानिएका रचनाहरूमा प्रेमको प्रतीक्षा, दुःखको सहनशीलता, आत्मसम्मान, जीवनप्रतिको आशावाद र मातृभूमिप्रतिको निष्ठा फरकफरक स्वरमा अभिव्यक्त भएका पाइन्छन्।
तिनलाई एकसाथ पढ्दा एउटा यस्तो स्रष्टा-व्यक्तित्व देखा पर्छ, जो जीवनका निजी अनुभूति भित्रको सुक्ष्म चेतनादेखि सामूहिक राष्ट्रिय आकाङ्क्षासम्मको गहिरो दर्शनको सम्बन्ध खोजिरहेका छन्।
यो समीक्षामा जी. शाहद्वारा रचित उहाँका पछिल्ला केही गीतका पंक्तिहरुको पाठ विश्लेषण गर्ने जमर्को गरिएको छ । त्यसैले यहाँ गीतहरूको शब्दमा व्यक्त भावसंरचना, भाषिक प्रयोग, प्रतीक, बिम्ब, रस र विचारको विवेचना गर्दै गीतहरूको काव्यिक अनुशीलन गरिएको छ ।

जी. शाहका गीतमा जीवनदर्शन र सौन्दर्यचेतना
साहित्यको इतिहासमा यस्ता क्षणहरू बारम्बार आएका छन्, जहाँ कुनै व्यक्तिको जीवन दर्शन र समकालीन चेत् एवं सौन्दर्यबोधलाई बुझ्नका लागि निजको सामाजिक हैसियतभन्दा पनि सिर्जनात्मक व्यक्तित्वको ओज बढी अर्थपूर्ण बन्दछ।
राजकीय पदले मानिसलाई ऐतिहासिक परिचय दिन सक्छ, तर गीत र कविता जस्ता रचनाले व्यक्तिको अन्तर्मनको परिचय दिन्छ। पाठकहरुले जी. शाहका गीतहरूलाई यही भिन्नताको आलोकमा पढ्नु आवश्यक छ।
गीतकारको साहित्यिक छविलाई मूल्याङ्कन गर्दा उहाँको शाहवंशीय राजाको राजकीय पहिचानलाई पर राखेर उहाँको सिर्जनालाई सर्जकका काव्यिक रचनाका रुपमा तटस्थ भई हेर्नु नै समीक्षाको दृष्टिबाट न्यायोचित हुन जान्छ। साहित्यको अदालतमा अन्ततः शब्द नै साक्षी हुन्छ, अनुभूति नै प्रमाण हुन्छ र रचनाको आन्तरिक शक्ति नै निर्णयको आधार बन्छ।
जी. शाहका पछिल्लो समय लेखिएका गीतहरूमा जीवनलाई हेर्ने एउटा स्पष्ट नैतिक दृष्टि पाइन्छ। मानिस दुःखबाट मुक्त प्राणी होइन, तर दुःखसँगको सम्बन्ध मानिसले कसरी निर्माण गर्छ भन्ने कुराले उसको जीवनको गुणस्तर निर्धारण गर्छ भन्ने मिहिन सन्देश उहाँका गीतहरुले दिइरहेका छन्।
समयले मानिसलाई परिपक्व बनाउँछ, प्रेमले उसलाई संवेदनशील बनाउँछ, एकान्तले आफ्नै अन्तरात्मासँग परिचित गराउँछ र राष्ट्रप्रतिको उत्तरदायित्वले व्यक्तिगत अस्तित्वलाई सामूहिक अर्थ प्रदान गर्छ। यी रचनामा यही जीवनदृष्टि विभिन्न भावात्मक रचनाविधानमार्फत् व्यक्त भएको देखिन्छ।
तर जी. शाहको काव्यिक व्यक्तित्वलाई केवल प्रेरणादायी सन्देश दिने एक आदर्शवादी गीतकारका रूपमा सीमित गर्नु चाहिँ पर्याप्त हुँदैन। उहाँका रचनामा अनुभूतिको कोमलता र उपदेशात्मक अभिव्यक्तिबीचको सन्तुलन पनि छ। तर कतिपय गीतमा सरल वाक्यले गहिरो भावलाई स्पर्श गर्छन् भने कतिपय ठाउँमा भावको पुनरावृत्तिले मानव हृदयका सुकोमल तन्तुहरुलाई झंकृत तुल्याउन खोजेको आभाष हुन्छ।

शब्दको उज्यालो र संवेदनाको भूगोल: जीवनलाई स्वीकार गर्ने कलात्मक दृष्टि सहितको सौन्दर्यबोध
जी. शाहको सौन्दर्यबोध परम्परागत अर्थमा प्रकृतिको रमणीय वर्णनमा मात्र केन्द्रित छैन। उहाँको गीति रचनामा दुःखको उपस्थितिमा पनि जीवनप्रतिको विश्वास कायम राख्ने क्षमतालाई सौन्दर्यका रुपमा प्रस्तुत गरिएको छ। सौन्दर्य यहाँ वस्तुको बाह्य रूपभन्दा बढी मानवीय चेतनाको आन्तरिक गुणका रपमा प्रस्तुत गरिएको देखिन्छ।
‘जीवन त एक रंगमंच’ शीर्षकको उहाँको गीतमा प्रस्तुत गुलाबको बिम्ब यसको उल्लेखनीय उदाहरण हो।
“गुलाब काँडामै मुस्कुराएको राम्रो
तिमी पनि प्रतिकूलतामा मुस्कुराउने गर
गुलाब जस्तोलाई सबैले प्रेम गर्ने गर्छ
याद राख्नु बांचेको मान्छेले नै मुस्कुराउने गर्छ”
यो पङ्क्तिमा गुलाब केवल फूल होइन, यो प्रतिकूलताबीच आफ्नो सौन्दर्य र अस्तित्व जोगाइराख्ने जीवनको संघर्षको रूपक पनि हो। काँडाले पीडाको, अवरोधको र जीवनका कठोर परिस्थितिको सङ्केत गर्छ भने मुस्कानले आत्मबल, आशा र आन्तरिक स्वतन्त्रताको प्रतिनिधित्व गर्छ। गुलाबको सौन्दर्य काँडा नहुनुमा होइन, काँडा हुँदाहुँदै पनि फूल भइरहन सक्नुमा छ भन्ने गीतकारको चेतले जीवनको अस्तित्वको सौन्दर्य गाथा कहिरहेको देखिन्छ ।
“एक्लै हुनु र एक्लै रूनुले बलियो बनाउछ
जस्लाई जे भन्नु छ, भन्नु दिनु , के बिग्रिन्छ तिम्रो”
यसरी हेर्दा जी. शाहको सौन्दर्यचेतना पलायनवादी छैन। गीतकारले जीवनका असहज पक्षलाई हटाएर सुन्दर संसार निर्माण गर्न चाहनुहुन्न; बरु असहजताभित्रै जीवनको सम्भावना पहिचान गर्न चाहिँ प्रेरित गर्नुहुन्छ।
यही दृष्टिकोण ‘भाग्यमा लेखेको’ र ‘जिउने गर’ जस्ता उहाँका गीतमा पनि केन्द्रीय भावका रुपमा रहेको छ।
“भाग्यमा लेखेको कोहि मेट्न सक्दैन
समय भन्दा अगाडी कोहि केहि पाउनु सक्दैन
तिमी केवल मेहनत र मुस्कान आफ्नो साथ राख्नु
राम्रो समय तिमीबाट टाढा भाग्नु सक्दैन”
दुःखलाई अन्तिम सत्य नमान्नु, समयको परिवर्तनशीलतामा विश्वास राख्नु र वर्तमानलाई स्वीकार गर्दै अघि बढ्नु भन्ने उहाँको जीवनदर्शनका महत्वपूर्ण आधारका रुपमा गीतमा प्रष्फुटित भएका छन्।
“जिन्दगीलाई जिन्दगी ठानेंर जिउने गर
जो मिलेको छ त्यसैलाई पिउने गर
छोडिदेउ सारा पिडा र जतन
आफ्नै सर्तमा यो संसारमा जिउने गर
हिजोको कुरा हिजो मै छोडिदेउ तिमी
आज जो समय मिल्यो त्यस्मै जिउने गर”
यद्यपि, सौन्दर्यको यो अवधारणा धेरै ठाउँमा नैतिक सन्देशसँग निकट अझ एकाकार भएर आउँछ। त्यसले पाठकलाई सहजै आकर्षित गर्छ । लेखकले व्यक्त गर्न खोजेको अनुभूतिको सौन्दर्य त्यतिबेला अझ सघन हुन्छ, जब पाठकलाई सन्देश बुझाइदिने मात्र होइन, आफैँ अर्थ निर्माण गर्ने पर्याप्त ठाउँ पनि गीतमा दिइन्छ। यसलाई जी. शाहको गीतहरुको विशेषता भन्न सकिन्छ ।
‘जीवन त एक रंगमंच’ मा जी. शाहको सूक्तिपरक अभिव्यक्तिको सबैभन्दा स्पष्ट रूप देखिन्छ। गीतमा जीवनका विविध अनुभवलाई छोटा कथन, विरोधाभास र रूपकमार्फत् प्रस्तुत गरिएको छ। यसले गीतलाई स्मरणीय बनाउने सम्भावना राख्छ, किनभने छोटा वाक्यले लामो अनुभवलाई संक्षिप्त रूपमा व्यक्त गर्न सक्छन्।
“धनको ओजन पैसामा मात्र हुँदैन
दिलमा राज गर्नेलाई चिन्नु पर्छ”
यहाँ ‘ओजन’ भौतिक तौलको अर्थबाट नैतिक महत्त्वको अर्थमा रूपान्तरित भएको छ। धनको वास्तविक मूल्य मुद्रा वा सम्पत्तिको परिमाणमा मात्र निहित हुँदैन; मानिसको हृदयमा स्थापित स्थान पनि मूल्यको अर्को मापदण्ड हो। भौतिक र भावनात्मक मूल्यबीचको यो तुलना गीतको अर्थपूर्ण पक्ष हो।
“त्यहाँमात्र जल्नु जहाँ तिम्रो जरुरत हुन्छ
उज्यालोमा दियोको मतलब हुँदैन”
दियो र उज्यालोको सम्बन्धमा आधारित यो कथनले प्रयोजन र उपस्थितिबीचको सम्बन्ध देखाउँछ। दियोको महत्त्व अँध्यारोमा बढी देखिन्छ। यसबाट मानिसले आफ्नो क्षमता र ऊर्जा त्यहीँ खर्च गर्नुपर्छ जहाँ त्यसको वास्तविक आवश्यकता छ भन्ने अर्थ निस्कन्छ।
“आलोचना नराम्रो होइन, जीवनमा त्यो त साबुनको काम गर्छ”
यो गीतको सबैभन्दा स्पष्ट र सहजै ग्रहण गर्न सकिने उपमामध्ये एक हो। साबुनले बाह्य मैलो हटाउँछ भने आलोचनाले व्यक्तिलाई आफ्ना कमजोरी पहिचान गर्न मद्दत गर्न सक्छ। यसरी अमूर्त नैतिक प्रक्रियालाई दैनिक जीवनको परिचित वस्तुसँग तुलना गरिएको छ। उपमाको शक्ति यसको बोधगम्यतामा छ।

‘रातभर’: प्रतीक्षाको मनोविज्ञान र विरहको सौन्दर्य
जी. शाहका रचनामध्ये ‘रातभर’ भावात्मक संवेगका दृष्टिले विशेष ध्यान दिन योग्य छ। अन्य गीतमा जीवनदर्शन प्रत्यक्ष कथनमार्फत् व्यक्त हुने प्रवृत्ति देखिन्छ भने यस गीतमा अनुभूति दृश्य, समय र मनोदशाको संयोजनबाट विकसित हुन्छ।
“सपना आँखामा जलिरह्यो रातभर
तिम्रो बाटो हेरि रह्यो रातभर
चांदनी पनि आज पोलेको लाग्यो
चोटको रातमा जलि रह्यो रातभर
केहि कदम सुनें, आएको लाग्यो
आफैलाई त्यसै छलि रह्यो रातभर”
यी पङ्क्तिहरु गीतको भावभूमिमा सम्मिश्रित अनेकौं संवेगहरुलाई स्पर्श गर्न चाहने पाठकहरुका लागि मनमोहन प्रवेशद्वारका रुपमा रहेका छन् । सामान्यतया सपना भनेको आशा, आकाङ्क्षा र सम्भावनाको प्रतीक हो। तर यहाँ सपना ‘जल्छ’। जल्नुले उज्यालो दिन जल्न सक्ने दियो जस्तो सम्भावना र पीडा दिन सक्ने अनुभूति दुवैलाई एकैसाथ समेट्छ । सपना जीवित छ, तर त्यसको जीवनदायी शक्ति यातनामा परिणत भएको छ। प्रेममा प्रतीक्षारत मनका लागि आशा कहिलेकाहीँ आश्रय पनि हुन्छ र घाउ पनि।
गीतको अर्को पङ्क्तिले यस भावलाई अझ मूर्त बनाउँछ।
“चाँदनी पनि आज पोलेको लाग्यो”
चाँदनी नेपाली प्रेमगीत र विरहकाव्यमा प्रायः शीतलता, सौन्दर्य र प्रेमिल वातावरणलाई सदृश तुल्याउने परम्परागत बिम्ब हो।
जी. शाहले त्यसै चाँदनीलाई पोल्ने अनुभूतिसँग जोड्नु भएको छ। बाह्य संसारको उज्यालो र आन्तरिक संसारको पीडाबीचको विरोधाभासले यस पङ्क्तिलाई प्रभावकारी बनाएको छ।
प्रकाशको स्वभाव नबदलिएको हुन सक्छ, तर त्यसलाई अनुभव गर्ने चेतना बदलिएको छ। विरहले संसारका परिचित वस्तुको अर्थ नै उल्टाइदिन सक्छ भन्ने मनोवैज्ञानिक सत्य यहाँ अभिव्यक्त हुन्छ।
“केही कदम सुनेँ, आएको लाग्यो
आफैलाई त्यसै छलिरह्यो रातभर”
यी पङ्क्ति पढ्दा प्रतीक्षाको मनोविज्ञान अझ राम्रोसँग प्रष्टिएको अनुभूति हुन्छ। प्रेमको अभावले मनलाई यति संवेदनशील बनाउँछ कि सामान्य ध्वनिसमेत आगमनको सङ्केतजस्तो लाग्छ। तर त्यो आगमन वास्तविक होइन, आफ्नै आशाले सिर्जना गरेको छल हो। गीतको वक्ता केवल अर्को व्यक्तिको प्रतीक्षा गरिरहेको छैन, ऊ समयसँग पनि जुधिरहेको छ।
‘रातभर’ को मुख्य उपलब्धि विरहलाई ठूलो नाटकीय घटनामा रूपान्तरण नगरी साना अनुभूतिमा सरल र बोधगम्य रुपमा प्रस्तुत गर्नु हो। सपना, चाँदनी, पाइलाको आभास, हावा र आँसु मिलेर प्रतीक्षारत चेतनाको एउटा सानो संसार बनाउँछन्। रात यहाँ घडीको समय मात्र होइन, मनको अवस्था पनि हो। पुनरावृत्त हुने ‘रातभर’ ले भावलाई लयात्मक एकता दिन्छ र प्रतीक्षाको अन्तहीन अनुभवलाई भाषिक संरचनामै उतार्छ।
यद्यपि, सपना, चाँदनी, आँसु र प्रतीक्षा विरहकाव्यका परिचित बिम्ब हुन्। गीतको मौलिकता यी बिम्बको प्रयोगमा मात्र होइन, तिनको भावात्मक सम्बन्धमा निर्भर गर्छ। गीतको प्रस्तुत पाठमा चाँदनीको पोलाइ र पाइलाको भ्रमजस्ता क्षणहरू सबैभन्दा प्रभावकारी अनुभूति देखिन्छन्, किनभने तिनले भावनालाई व्याख्या नगरी पाठकलाई नै लेखकले भन्न खोजेको अवस्थाको अनुभव गराउँछन्।

‘दिलको कुरा’: प्रेमको अभिव्यक्ति र लेखनको आत्मपरकता
‘दिलको कुरा’ मा प्रेमको विषय लेखनको विषय पनि बनेको छ। गीतको वक्ता अर्थात् गीतकार प्रेम गर्छ, सम्झन्छ र प्रतीक्षा गर्छ, तर ऊ सँगसँगै आफ्ना भावनालाई लेखेर अभिलेखित पनि गर्छ।
यस अर्थमा गीत प्रेमको अभिव्यक्ति मात्र होइन, लेखनको प्रक्रियामाथिको आत्मपरक टिप्पणी पनि हो।
“दिलको कुराकानी कागतमा उतारेको छु म
दिलको सारा किताब लेखिरहेको छु म
तिम्रो नामको सपना लेखिरहेको छु म
दिलै दिलमा हरेक जवाब लेखिरहेको छु म”
यहाँ ‘लेख्नु’ क्रियाले दोहोरो अर्थ बोकेको छ । एकातिर प्रेमीले प्रिय व्यक्तिको नाममा सपना निर्माण गरिरहेको छ भने अर्कोतिर स्रष्टाले आफ्ना भावनालाई भाषामा रूपान्तरण गरिरहेको छ।
सपना लेख्नु भनेको भविष्यको कल्पना गर्नु पनि हो र वर्तमानको भावनालाई शब्दमा स्थिर बनाउनु पनि हो।
“जुन शब्दहरू ओँठमा आएर जब रोकिने हुन्छ
त्यही शब्दहरूको हिसाब लेखिरहेको छु म”
यी पङ्क्तिमा मौखिक अभिव्यक्तिको असफलता र लिखित अभिव्यक्तिको सम्भावना एकअर्कासँग जोडिन्छन्। ओठमा आएर रोकिने शब्दहरू भावनाको अभावले रोकिएका होइनन्, सम्भवतः तिनको तीव्रताले गर्दा त्यो समयमा व्यक्त हुन नसकेका हुन्। कागज त्यही मौनताको विकल्प बन्छ । यसरी लेखन प्रिय व्यक्तिसम्म पुग्ने माध्यम मात्र रहँदैन, आफ्नै भावनालाई बुझ्ने र व्यवस्थित गर्ने प्रक्रिया पनि बन्छ।
“दिलको कुराकानी कागजमा उतारेको छु म
दिलको सारा किताब लेखिरहेको छु म”
‘दिल’ र ‘किताब’ बीचको सम्बन्ध गीतको केन्द्रीय रूपक हो। हृदयलाई पुस्तकमा रूपान्तरण गर्दा भावना पढ्न सकिने वस्तु बन्छ। तर यो पुस्तक अरूका लागि पूर्ण रूपमा खुला छैन, यसका पानामा व्यक्तिगत स्मृति, अपूर्ण संवाद र अप्रेषित प्रेमका तहहरू छन्।
गीतको मध्यतिर आउने “यो गीत तिम्रो घरको आँगनमा नपुग्ला” भन्ने स्वीकारोक्तिले अभिव्यक्तिको सीमालाई उजागर गर्छ। लेखिएको कुरा लेखिएकै व्यक्तिसम्म पुग्छ भन्ने निश्चितता छैन। प्रेमको अभिव्यक्ति सफल सञ्चारको प्रत्याभूति पनि होइन। तैपनि गीतको पात्र लेख्न छोड्दैन। यही निरन्तरतामा सिर्जनाको एउटा आधारभूत सत्य भेटिन्छ । रचना सधैँ प्रत्यक्ष प्रत्युत्तरका लागि मात्र जन्मँदैन, बरु कहिलेकाहीँ अभिव्यक्ति आफैँ आफ्नो औचित्य हुन्छ।

‘भाग्यमा लेखेको’: आशावाद, समय र कर्मको द्वन्द्व
‘भाग्यमा लेखेको’ जीवनका कठिनाइसँग जुधिरहेका मानिसलाई सम्बोधन गर्ने प्रेरणामूलक गीत हो। यसको आधारभूत स्वर आशावादी छ, तर यसको आशावाद केवल सुखद भविष्यको कल्पनामा निर्भर छैन। गीतले धैर्य, मेहनत, आत्मविश्वास र निरन्तरताको महत्त्वमा जोड दिन्छ।
“भाग्यमा लेखेको कोहि मेट्न सक्दैन
समय भन्दा अगाडी कोहि केहि पाउनु सक्दैन
तिमी केवल मेहनत र मुस्कान आफ्नो साथ राख्नु
राम्रो समय तिमीबाट टाढा भाग्नु सक्दैन”
यहाँ मेहनत र मुस्कानको संयोजन अर्थपूर्ण छ। मेहनत कर्मको प्रतीक हो भने मुस्कान मानसिक सन्तुलन र जीवनप्रतिको सकारात्मक सम्बन्धको। गीतले मानिसलाई निष्क्रिय भाग्यवादमा छोड्दैन, कठिन समय पार गर्न सक्रिय प्रयत्न गर्न आग्रह गर्छ।
तर शीर्षक र आरम्भिक कथनमा नियतिको अपरिवर्तनीयताको सङ्केत पनि छ।
“भाग्यमा लेखेको कोही मेट्न सक्दैन”
यसले गीतभित्र भाग्यप्रतिको विश्वास र कर्मप्रतिको आग्रहलाई सँगसँगै राख्छ। यसलाई सांस्कृतिक रूपमा परिचित नियतिप्रतिको विश्वास र व्यक्तिगत प्रयत्नबीचको सहअस्तित्वका रूपमा पढ्न सकिन्छ।
गीतको अर्को प्रभावकारी विचार हो:
“जसले आज दुःख दिइरहेको छ
भोलि त्यसैले तिमीलाई बलियो बनाउने”
दुःखलाई अनुभव र परिपक्वतामा रूपान्तरण गर्ने यो दृष्टि जीवनदर्शनका दृष्टिले प्रेरणादायी छ। हुन त सबै पीडाले मानिसलाई अनिवार्य रूपमा बलियो बनाउँदैनन्। कुनै दुःखले मानिसलाई कमजोर पनि बनाउन सक्छ, र त्यसबाट पुनः उठ्न सामाजिक सहयोग, न्याय तथा अवसर आवश्यक पर्न सक्छ। त्यसैले यस कथनलाई सार्वभौम मनोवैज्ञानिक नियमभन्दा कठिनाइबाट अर्थ निर्माण गर्न सकिने सम्भावनाको रूपमा बुझ्दा यसको सान्दर्भिकता अझ सन्तुलित हुन्छ।
गीतको अन्तिम भागमा विगतसँग नडराउने, प्राप्त वस्तुप्रति आसक्त नहुने र गुमेको वस्तुका कारण जीवनलाई स्थगित नगर्ने आग्रह छ। यहाँ जीवनदर्शनको आधार वर्तमानमा सक्रिय रहनु हो। गीतको सफलता यसको पाठक वा श्रोतासँग सीधा सम्बन्ध स्थापना गर्न सक्ने सरल भाषामा छ।
‘जिउने गर’: आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रताको स्वर
‘जिउने गर’ मा जीवनप्रतिको गीतकारको दृष्टि केही फरक छ। ‘भाग्यमा लेखेको’ ले समयको परिवर्तनमा विश्वास गर्न सिकाउँछ भने ‘जिउने गर’ ले वर्तमानलाई आफ्नै विवेकअनुसार बाँच्न आग्रह गर्छ।
“भीडमा चिन आफ्नो न हराउनु तिमी
ऐना आफै हेरेर आफै जिउने गर”
यी पङ्क्ति गीतको आत्मपरक जीवनदर्शनका केन्द्रमा छन्। भीड सामाजिक स्वीकृति, सामूहिक दबाब र अरूको दृष्टिको प्रतीक बन्न सक्छ । ऐना भने आत्मनिरीक्षण र आफ्नै अस्तित्वसँगको साक्षात्कारको बिम्ब हो। गीतले अरूबाट पूर्णतः अलग हुन भनेको होइन; अरूको मूल्याङ्कनका बीच आफ्नो पहिचान हराउन नदिन भनेको हो।
“जीतको धुनमा नमात्तिनु तिमी
हारसँग केही सिकेर जिउने गर”
यहाँ सफलता र असफलतालाई स्थायी पहिचानका रूपमा नहेरी अनुभवका रूपमा ग्रहण गर्न आग्रह गरिएको छ। जीतले अहङ्कार जन्माउन सक्छ, हारले सिकाइको अवसर दिन सक्छ। यो दृष्टि प्रतिस्पर्धामा केन्द्रित समाजका लागि उपयोगी नैतिक सन्देश हो।
“मान्छेले त औँला उठाउने गर्छ
तिमीले त मुस्कुराएर जिउने गर”
यो सरल अभिव्यक्तिमा सामाजिक आलोचना र आत्मसंयमबीचको सम्बन्ध छ। अरूको आलोचनाको प्रत्युत्तरमा प्रतिशोध होइन, आत्मविश्वास कायम राख्नु गीतको आग्रह हो। अन्यायका विरुद्ध बोल्नु, आफ्नो अधिकारको रक्षा गर्नु र आवश्यक ठाउँमा प्रतिवाद गर्नु पनि आत्मसम्मानकै अङ्ग हुन्। यस अर्थमा गीतको सन्देशलाई मौन सहनशीलताभन्दा अरूको मूल्याङ्कनले आफ्नो जीवनमाथि पूर्ण नियन्त्रण जमाउन नदिने स्वतन्त्रताका रूपमा पढ्नु बढी फलदायी हुन्छ।

‘सिकाउँछ’: मानवीकरण र अनुभूतिको क्रमिक विस्तार
‘सिकाउँछ’ छोटो रचनाका रूपमा पनि उल्लेखनीय छ। यसले जीवनका अमूर्त अनुभवलाई समय, परिस्थिति र शरीरका विभिन्न अङ्गसँग सम्बन्धित गराउँछ।
“चुप लाग्नु समयले सिकाउँछ
चोट सहनु परिस्थितिले सिकाउँछ”
यहाँ समय र परिस्थितिलाई शिक्षकका रूपमा प्रस्तुत गरिएको छ। यसरी मानवीकरणको प्रयोगबाट मानिसले जीवनका पाठ औपचारिक शिक्षाबाट मात्र होइन, अनुभवबाट पनि सिक्छ भन्ने धारणा व्यक्त हुन्छ।
गीतमा ‘समय’, ‘परिस्थिति’, ‘जिन्दगी’, ‘जीवन’, ‘मन’, ‘दिल’, ‘मुटु’, ‘हृदय’, ‘आँखा’ र ‘प्रिय’ क्रमशः सिकाइका स्रोत बन्छन्। यस संरचनामा बाह्य परिस्थिति र आन्तरिक अनुभूति एकअर्कासँग जोडिन्छन्। जीवनले भरोसा सिकाउँछ, गल्ती स्वीकार्ने क्षमता आत्मबोधसँग जोडिन्छ, धैर्य मुटुसँग र शान्ति हृदयसँग सम्बन्धित हुन्छ।
यो क्रम गीतको शक्ति पनि हो र सीमा पनि। छोटा पङ्क्तिले यस गीतमा स्मरणीय लय निर्माण गर्छन्, तर लगभग प्रत्येक भावलाई ‘कसैले केही सिकाउँछ’ भन्ने समान ढाँचामा राख्दा अन्तिम भागसम्म पुग्दा अभिव्यक्ति अनुमान गर्न सकिने बन्छ।
‘सिकाउँछ’ मा जीवनलाई निरन्तर सिकाइको प्रक्रियाका रूपमा हेर्ने दृष्टि स्पष्ट छ । मानिस पूर्ण भएर जन्मँदैन अनि समय, सम्बन्ध, चोट र आत्मस्वीकारका माध्यमबाट परिपक्व बन्दै जान्छ। यो सरल तर मानवीय रूपमा गीतमा अभिव्यक्त अर्थपूर्ण विचार हो।

‘एकता’: व्यक्तिगत संवेदनाबाट राष्ट्रिय चेतनासम्म
जी. शाहका प्रेम र जीवनदर्शनसम्बन्धी गीतभन्दा ‘एकता’ विषयवस्तु र अभिव्यक्तिको दृष्टिले फरक धरातलमा उभिएको रचना हो। यसमा व्यक्तिगत मनको अनुभूति राष्ट्रिय उत्तरदायित्व र नागरिक कर्तव्यको भाषामा रूपान्तरित भएको छ।
“त्यो हृदय हुँदै होइन
जसले मातृभूमिलाई माया गर्दैन”
यसको आरम्भिक स्वर नै राष्ट्रभक्तिको नैतिक सन्देशयुक्त र स्पष्ट छ। हृदयको मानवीयता मातृभूमिप्रतिको प्रेमसँग जोडिएको छ। त्यसपछि गीतले व्यक्तिगत जीवनलाई राष्ट्रको सामूहिक इतिहाससँग गाँस्छ।
“रगत नभई रातो रंगमात्र
जसमा राष्ट्रको गौरव बगेको हुँदैन”
रगत र रातो रङबीचको भिन्नताले प्रतीकात्मक अर्थ निर्माण गर्छ। बाह्य रङ जैविक वा दृश्य विशेषता हो भने रगतभित्र बग्ने राष्ट्रको गौरव भने बलिदान, उत्तरदायित्व र ऐतिहासिक स्मृतिको प्रतीक हो। यसले देशप्रेमलाई केवल मौखिक घोषणाबाट अलग गरी आचरण र योगदानसँग जोड्न खोज्छ।
गीतमा माटो, पानी, रगत, शहीदको बलिदान र झुक्न नहुने राष्ट्रको शिरजस्ता बिम्बहरू छन्। यी सबै मिलेर राष्ट्रलाई भौगोलिक भूभाग मात्र नभई स्मृति, कर्तव्य र भावनात्मक सम्बन्धको साझा संरचनाका रूपमा प्रस्तुत गर्छन्।
“यो माटोको, यो पानीको हिसाब सबैले दिनै पर्छ”
यो कथन विशेष ध्यान दिन योग्य छ। माटो र पानीसँग सम्बन्धित ‘हिसाब’ ले नागरिक उत्तरदायित्वको भाषालाई लेखापरीक्षणको रूप दिन्छ।
राष्ट्रले नागरिकलाई अधिकार मात्र दिँदैन बरु त्यसप्रति कर्तव्य पनि हुन्छ भन्ने विचार यहाँ निहित छ। देशप्रेमलाई न्याय, सार्वजनिक इमानदारी र नागरिक सहभागितासँग जोड्दा यो विचार अझ समृद्ध बन्न सक्छ।
“अनेकतामा हुन्छ एकता गाँसेको”
यो पङ्क्तिले गीतको मूल राष्ट्रिय आकाङ्क्षालाई संक्षेपमा व्यक्त गर्छ। विविधता र एकतालाई परस्पर विरोधी मानिएको छैन। अनेक पहिचानको उपस्थितिभित्र बहुलतामा नै साझा राष्ट्रिय सम्बन्ध खोजिएको छ। नेपालजस्तो भाषिक, सांस्कृतिक, जातीय र भौगोलिक विविधता भएको देशका सन्दर्भमा यो विचारको विशेष महत्त्व छ।
तर एकता र एकरूपता एउटै कुरा होइनन्। अनेकतालाई स्वीकार गर्ने राष्ट्रियता त्यतिबेला बलियो हुन्छ, जब फरक भाषा, संस्कृति, विचार र अनुभवलाई समान सम्मान दिइन्छ। यो कुरा नै गीतको केन्द्रीय भावमा झल्किएको छ ।
यस रचनामा प्रत्यक्ष सम्बोधन, आदेशात्मक वाक्य र सामूहिक भावनाको प्रयोग बढी छ। त्यसैले यसको शैली प्रेमगीतको आत्मपरक कोमलताभन्दा सार्वजनिक आह्वानसँग नजिक छ। यहाँ काव्यिक सफलता व्यक्तिगत भावनाको सूक्ष्म चित्रणभन्दा साझा मूल्य र उत्तरदायित्वको घोषणा गर्ने क्षमतामा निहित छ।
उपमा, प्रतीक र बिम्ब: जी. शाहको काव्यभाषाको बनोट
प्रस्तुत गीतहरूको तुलनात्मक अध्ययन गर्दा केही बिम्ब र प्रतीक बारम्बार देखा पर्छन्। रात, बिहानी, सपना, आँसु, चाँदनी, दियो, गुलाब, काँडा, ऐना, कागज, किताब, माटो र रगत तिनका प्रमुख उदाहरण हुन्।
यी बिम्बलाई मोटामोटी चार समूहमा वर्गीकरण गर्न सकिन्छ।
पहिलो, समय र परिवर्तनका बिम्बः रात र बिहानीले निराशा तथा सम्भावनाबीचको सम्बन्ध देखाउँछन्। ‘भाग्यमा लेखेको’ मा “हरेक रातपछि बिहानी आउने गर्छ” भन्ने कथनले अँध्यारोलाई अस्थायी र उज्यालोलाई सम्भावित भविष्यका रूपमा प्रस्तुत गर्छ। ‘रातभर’ मा भने रात दुःखको समाप्ति होइन, प्रतीक्षाको विस्तार हो। एउटै प्रतीकले दुई फरक भावात्मक कार्य गरेको देखिन्छ।
दोस्रो, प्रकाश र अँध्यारोका बिम्बः दियो, चाँदनी र उज्यालोले आशा, प्रेम, उपयोगिता र पीडासँग सम्बन्ध स्थापित गर्छन्। ‘जीवन त एक रंगमंच’ मा दियोको अर्थ प्रयोजनसँग जोडिन्छ भने ‘रातभर’ मा चाँदनी विरहको तापमा परिणत हुन्छ। बिम्बको अर्थ स्थिर नभई सन्दर्भअनुसार बदलिनु काव्यभाषाको महत्त्वपूर्ण सम्भावना हो।
तेस्रो, लेखन र अभिलेखनका बिम्बः ‘दिलको कुरा’ मा सपना लेख्नु, हिसाब लेख्नु र हृदयलाई किताब बनाउनु भावनालाई भाषामा रूपान्तरण गर्ने प्रक्रियाका प्रतीक हुन्। यस गीतमा प्रेमी र लेखकबीचको सीमा धमिलो हुन्छ। प्रेम स्वयं लेखनको विषय पनि हो र लेखनको प्रेरणा पनि।
चौथो, प्रकृति र राष्ट्रका बिम्बः गुलाब र काँडाले व्यक्तिगत जीवनका कठिनाइसँग जुध्ने क्षमता व्यक्त गर्छन्। माटो, पानी र रगतले ‘एकता’ मा राष्ट्रिय अस्तित्वलाई भौतिक आधार, ऐतिहासिक स्मृति र नागरिक उत्तरदायित्वसँग जोड्छन्।
जी. शाहको काव्यभाषाको विशेषता यी प्रतीकहरूको अत्यधिक दुर्लभतामा भन्दा तिनको सहज बोधगम्यतामा छ।
उहाँका गीतहरू सामान्य पाठकसम्म पुग्न चाहन्छन्। तर साहित्यिक मौलिकताको दृष्टिले परिचित बिम्बलाई नयाँ अर्थ दिने क्षमता निर्णायक हुन्छ।
‘चाँदनी पनि आज पोलेको लाग्यो’ र ‘उज्यालोमा दियोको मतलब हुँदैन’ जस्ता पङ्क्तिले परिचित वस्तुको अर्थलाई भावनात्मक वा विचारात्मक मोड दिन्छन्। यस्ता क्षणहरूमा भाषाले केवल सन्देश बोकेको हुँदैन; त्यसले नयाँ अनुभूति पनि निर्माण गर्छ।

काव्यिक रस र भावाभिव्यक्ति
जी. शाहका प्रस्तुत रचनाहरूमा कुनै एक रसको स्थायी प्रभुत्व छैन। गीतअनुसार भावको केन्द्र बदलिन्छ।
‘रातभर’ र ‘दिलको कुरा’ मा श्रृङ्गार रसको वियोग पक्ष प्रमुख छ। प्रिय व्यक्तिको अनुपस्थिति, सम्झना, प्रतीक्षा र अपूर्ण अभिव्यक्तिले प्रेमलाई मिलनको आनन्दभन्दा वियोगको संवेदनामा केन्द्रित गर्छन्। विशेषतः ‘रातभर’ मा विरहको अनुभूति चाँदनी, आवाजको भ्रम र आँसुका माध्यमबाट मूर्त हुन्छ।
‘भाग्यमा लेखेको’ र ‘जिउने गर’ मा करुणाको पृष्ठभूमिमा आशावादी भाव विकसित हुन्छ। दुःख स्वीकार गरिए पनि निराशालाई अन्तिम निष्कर्ष कदापि मानिएको छैन। यी गीतमा पाठकलाई सहानुभूति र आत्मबल दुवैतर्फ लैजाने प्रवृत्ति छ।
‘जीवन त एक रंगमंच’ मा शान्त रससँग सम्बन्धित आत्मसंयम, स्वीकार र आत्मनिरीक्षणका भाव देखिन्छन्। तर गीतको उपदेशात्मक शैलीका कारण शान्त अनुभूति सधैँ ध्यानमग्न सौन्दर्यका रूपमा मात्र अभिव्यक्त छैन बरु कतिपय ठाउँमा त्यो नैतिक निर्देशनका रूपमा बढी सुनिन्छ।
‘एकता’ मा वीर रससँग सम्बन्धित राष्ट्रनिष्ठा, बलिदानको स्मरण र सामूहिक उत्तरदायित्वको आह्वान छ। यसको भावात्मक ऊर्जा व्यक्तिगत दुःख वा प्रेमबाट होइन, साझा राष्ट्रिय अस्तित्वको चेतनाबाट उत्पन्न हुन्छ।
‘सिकाउँछ’ मा करुणा, धैर्य, प्रेम र क्षमाका भाव क्रमिक रूपमा प्रस्तुत छन्। यसको विशेषता भावको नाटकीय उत्कर्षभन्दा भावनात्मक अनुशासन र सूत्रात्मक अभिव्यक्तिमा छ।
यी सबै गीतलाई एकसाथ हेर्दा जी. शाहको भावविश्व निजी र सार्वजनिक, व्यक्तिगत र सामूहिक, कोमल र निर्देशात्मक पक्षबीच फैलिएको देखिन्छ। यस विविधताले उहाँका गीतहरूको विषयगत दायरा फराकिलो बनाएको छ।

रचनाधर्मिता: कवि, विचारक र नैतिक सम्बोधक
जी. शाहका यी रचनामा रचनाधर्मिताको एउटा उल्लेखनीय पक्ष जीवनलाई बुझ्नु र त्यसबाट प्राप्त अर्थलाई अरूसँग बाँड्नु हो। उहाँ प्रेमलाई केवल व्यक्तिगत आकर्षणमा सीमित गर्नुहुन्न; त्यसलाई स्मृति, मौनता र लेखनसँग जोड्नुहुन्छ।
दुःखलाई केवल पीडाको बयानमा रोक्नुहुन्न बरु त्यसबाट आत्मबल निर्माण गर्ने सम्भावना खोज्नुहुन्छ। राष्ट्रलाई भूगोलमा सीमित गर्नुहुन्न, त्यसलाई नागरिक कर्तव्य र ऐतिहासिक स्मृतिसँग सम्बन्धित गराउनुहुन्छ।
तर उहाँको सिर्जनात्मक स्वभावको अर्को पक्ष प्रत्यक्ष सन्देश दिनेतर्फ उन्मुख छ। यसले गीतलाई सहज, लोकप्रिय र स्मरणीय बनाउने सामर्थ्य राख्छ।
अर्कोतिर, जीवनका जटिल प्रश्नहरू छोटा नैतिक सूत्रमा मात्र सीमित गर्ने नभई उहाँको काव्यिक रचनामा बहुअर्थी क्षमता पनि उत्तिकै सबल हुनाले उहाँका रचनाहरु पाठकलाई के सोच्ने भनेर बताउने माध्यम मात्र होइन बरु पाठकले आफैँ सोच्नुपर्ने प्रश्न जन्माउने कलात्मक क्षेत्रका रुपमा पनि रहेको भन्नु अत्युक्ति हुँदैन ।
यही बिन्दुमा जी. शाहका गीतहरूको सिर्जनात्मक सम्भावना विशाल देखिन्छ। उहाँको गीतहरू सामान्य जीवनोपयोगी सन्देशभन्दा माथि उठेर दीर्घकालीन साहित्यिक विमर्शका विषय बन्न सक्छन्।
गीतकारको मूल्याङ्कन गर्दा भाषिक सम्पादनको पक्ष पनि महत्त्वपूर्ण हुन्छ। उपलब्ध पाठमा हिज्जे, व्याकरण, वाक्यविन्यास र केही अभिव्यक्तिगत असङ्गतिहरू छन्। त्यसैले तिनलाई प्रमाणित पाठका आधारमा परीक्षण गर्नु उचित हुन्छ। तथापि, गीतको भाषिक शुद्धता, स्वाभाविक लय र शब्दचयनमा सावधानीले साहित्यिक प्रभावलाई अझ बलियो बनाउँछ।

पदभन्दा परको पहिचान, शब्दभित्रको स्रष्टा
जी. शाहका प्रस्तुत गीतहरूलाई समग्रमा हेर्दा उहाँको सिर्जनात्मक व्यक्तित्व तीन प्रमुख आधारमा उभिएको देखिन्छ । पहिलो मानवीय संवेदना, दोश्रो जीवनप्रतिको आशावादी दृष्टि र तेश्रो नैतिक उत्तरदायित्वको चेतना।
‘रातभर’ मा उहाँको भावात्मक संवेदनशीलता सबैभन्दा बढी उजागर हुन्छ। ‘दिलको कुरा’ मा प्रेम र लेखनको सम्बन्ध कलात्मक रूपमा विकसित हुन्छ। ‘भाग्यमा लेखेको’ र ‘जिउने गर’ मा जीवनका कठिनाइसँग जुध्ने आत्मबल र आत्मसम्मानको आग्रह छ। ‘जीवन त एक रंगमंच’ र ‘सिकाउँछ’ मा अनुभवलाई सूत्रात्मक जीवनदर्शनमा बदल्ने प्रवृत्ति देखिन्छ। ‘एकता’ मा व्यक्तिगत भावभूमि राष्ट्रिय चेतनाको सार्वजनिक स्वरमा रूपान्तरित हुन्छ।
यी रचनाको सबैभन्दा ठूलो उपलब्धि जटिल अनुभूतिलाई सामान्य मानिसले बुझ्ने भाषामा प्रस्तुत गर्ने प्रयत्न हो। तिनको मुख्य सीमा भने कतिपय ठाउँमा परिचित प्रतीक, विचारको पुनरावृत्ति र प्रत्यक्ष उपदेशमा अत्यधिक निर्भर रहनु हो। तर यही उपलब्धि र सीमाको आलोचनात्मक पहिचानले नै साहित्यिक समीक्षालाई प्रशंसाभन्दा माथि उठाउँछ।
कविता सूर्यको प्रकाश नपुगेको ठाउँसम्म पुग्न सक्छ भन्ने मान्यता आफैंमा सुन्दर छ। तर त्यहाँ पुगेको कुरा कवितामा कसरी देखिन्छ, त्यसले पाठकको मनमा कस्तो नयाँ अनुभूति जन्माउँछ र त्यसले पहिले नै परिचित संसारलाई कति फरक ढङ्गले देख्न सिकाउँछ भन्ने प्रश्न अझ महत्त्वपूर्ण छ। जी. शाहका गीतहरूमा त्यस्तो सम्भावना विशेषतः विरहका सूक्ष्म क्षण, प्रेमको मौन अभिव्यक्ति र जीवनका परिचित बिम्बलाई नयाँ भावसँग जोड्ने ठाउँमा देखिन्छ।
अन्ततः रचनाको वास्तविक परिचय त्यसले सिर्जना गर्ने अनुभूति, भाषाको गुणस्तर र समयसँग संवाद गर्न सक्ने क्षमताबाट निर्मित हुन्छ। जी. शाहका यी गीतहरूलाई त्यही स्वतन्त्र साहित्यिक मापदण्डमा पढ्नु र तिनका उपलब्धि तथा सीमालाई निष्पक्ष रूपमा पहिचान गर्नु नै उहाँप्रतिको सबैभन्दा अर्थपूर्ण साहित्यिक सम्मान हो।
