Unified Nepal
झापा, कात्तिक ३ ।
हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवालकाअनुसार आजको प्रातःकालीन पदयात्रामा उहाँलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्भीर घाइते उहाँलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो ।
शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ । खातुनसँगै पदयात्रामा रहनुभएका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते हुनुभएको छ । उहाँको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ ।
रासस
