काठमाडौं, कात्तिक १२। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर प्रकाशित ‘अमेरिकामा घुस’ सम्बन्धी समाचारलाई झुटा, आधारहीन र कपोलकल्पित भन्दै खण्डन गर्नुभएको छ।
आज जारी विज्ञप्तिमार्फत उहाँले आफ्नो नाम तानिएको समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्नुभएको हो।
दियो पोस्ट अनलाइन लगायतका सञ्चारमाध्यममा “प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’: फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण!” शीर्षकमा समाचार प्रकाशित भएको थियो।
विज्ञप्तिमा प्रधानन्यायाधीश शर्माले समाचारमा उल्लिखित व्यक्ति र प्रसङ्गसँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ। ती व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्कसमेत नभएको र कहिल्यै भेट नभएको समेत उहाँले जनाउनुभएको छ।
समाचारमा उल्लेख गरिएका मिति (नोभेम्बर, डिसेम्बर र जनवरी) मा आफू प्रधानन्यायाधीश भइसकेको अवस्थामा रहेको कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ।
“आधारहीन, झुट्टा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु,” उहाँले विज्ञप्तिमा भन्नुभएको छ। साथै यस्ता समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोध गर्नुभएको छ।

