काठमाडौं, भदौ २१। मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२ वीणा जोशी (राजभण्डारी)द्वारा लिखित नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई प्रदान गर्ने घोषणा गरेको छ। नेवार समुदायमा प्रचलित परम्परागत मुकुन्डोनाच अर्थात् ख्यापाः प्याखं परम्पराको सङ्कलन तथा अभिलेखीकरणमा योगदान पुर्याएको भन्दै उक्त कृतिलाई यस वर्षको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
गुठीको भदौ २१ गते बसेको साधारण सभाले जगदम्बा–श्री पुरस्कार २०८२ भने विगत छ दशकदेखि नेपाली गीत लेखनमा निरन्तर योगदान दिँदै आउनुभएका गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरेको छ।
यस वर्ष मदन पुरस्कारका लागि नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित २९८ पुस्तक प्राप्त भएका थिए। तीमध्ये १० पुस्तकलाई ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८२’ मा समावेश गरिएको थियो। अन्तिम छनोटमा नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुरस्कृत भएको हो।
श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार श्राको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद पनि थिए।
मदन पुरस्कार गुठीले पुरस्कार घोषणा गर्नुअघि भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोमा परी स्वदेश तथा विदेशमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताहरूको शीघ्र उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिएका र सहयोग गर्ने सबैप्रति गुठीले सम्मान व्यक्त गरेको छ।
२०१२ सालमा स्थापना भएको मदन पुरस्कार पहिलोपटक २०१३ सालमा तीन कृतिलाई प्रदान गरिएको थियो। सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुरस्कृत भएका थिए।
त्यस्तै, रानी जगदम्बाको २०४५ सालमा निधन भएपछि उहाँको स्मृतिमा स्थापना गरिएको जगदम्बा–श्री पुरस्कार पहिलोपटक नारायण गोपाललाई प्रदान गरिएको थियो।
मदन पुरस्कार प्रत्येक वर्ष नेपाली भाषामा प्रकाशित उत्कृष्ट पुस्तकलाई प्रदान गरिन्छ भने जगदम्बा–श्री नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ।
