दैलेख, भाद्र २० ।

नारायण नगरपालिकाको सदरमुकाम दैलेख बजारमा परापूर्वकालदेखि मनाइँदै आएको ऐतिहासिक तथा सांस्कृतिक लाखे जात्रा भव्य रुपमा समापन भएको छ । नेवार समुदायको गुँला पर्वको सुरुवासँगै सुरु भएको यो वर्षको एक महिने लामो लाखे नाच श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट वा नवामी तिथिका दिन लाखे पराजित भएसँगै विधिवत् रुपमा बसर्जन गरिएको छ ।

नेवार संस्कृति र परम्परा अनुसार दैलेख बजारमा अन्य समुदायहरुको पनि उपस्थितिमा आकर्षक मुकुन्डो र परम्परागत पहिरनमा सजिएका लाखेहरु एवम् श्रीकृष्णको चरित्रमा रहेको पात्राहरुले बजारका विभिन्न चोक तथा गल्लीहरुमा विभिन्न बाजाहरुको तालमा नृत्य र अभिनय गरेका थिए । यो जात्रालाई नेपालको अन्य लाखे नाचभन्दा फरक प्रमुख सांस्कृतिक सम्पदाको रुपमा लिइन्छ ।

स्थानीय मान्यता अनुसार द्वापर युगमा कंशले नवजात श्रीकृष्णलाई मार्नका लागि विभिन्न राक्षस र दैत्यहरु पठायो । त्यसै क्रममा कंशको आदेशमा बालबालिकाहरुलाई दुःख दिने र हत्या गर्ने लाखे नामक राक्षस पनि धर्तिमा पठाएको थियो । अन्त्यमा, श्रीकृष्णले आफ्नो लीलाद्वारा ती अत्याचारी लाखे राक्षसलाई समातेर पराजित गरेका थिए । सोही घटनाको सम्झना स्वरुप दैलेख बजारमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टी भव्य रुपमा मनाउने र नवमीको दिन विशेष अभिनयसहित कृष्ण र लाखेको संघर्ष र युद्धको दृश्य प्रदर्शन गरिन्छ । बजारको मुख्य चोकहरुमा कृष्ण बनेको बालकले लाखेलाई पराजित गरेको अभिनय गरेपछि यो जात्रा वर्ष दिनको लागि जात्राको समापन हुने परम्परा छ ।
