काठमाडौं, कार्तिक १५। आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान, काठमाडौंले यस वर्ष (२०८३) का लागि प्रदान गरिने षडानन्द राष्ट्रिय पुरस्कार नेपालका प्रख्यात संस्कृतिविद् प्रा.डा. प्रेम कुमार खत्रीलाई प्रदान गर्ने भएको छ ।
यस्तै प्रतिष्ठानले धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिर आश्रमलाई षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र कवि जसराज किरातीलाई षडानन्द क्षेत्रीय पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार भोजपुरको तत्कालीन प्याउली गाविस, नौलपुरमा जन्मनुभएका प्रा.डा. प्रेमकुमार खत्रीलाई प्रदान गरिने भएको छ।
त्रिभुवन विश्वविद्यालयमा विसं. २०३० देखि २०६६ सम्म प्राध्यापन गर्नुभएका खत्रीले मानविकी तथा सामाजिक शास्त्र अध्ययन संस्थानको डिन, नेपाल तथा एसियाली अध्ययन केन्द्रको कार्यकारी निर्देशक तथा कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको संस्कृति विभाग प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो।
संयुक्त राज्य अमेरिकाबाट मानवशास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधि उपाधि हासिल गर्नुभएका खत्री नेपाली संस्कृति, मानवशास्त्र र समाजशास्त्रका अध्येता तथा अनुसन्धानकर्ता हुनुहुन्छ।
उहाँका नेपाली भाषामा १० र अंग्रेजी भाषामा चार गरी १४ वटा पुस्तक प्रकाशित छन्। समाजशास्त्र, मानवशास्त्र तथा नेपाली संस्कृतिका क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई पुरस्कार प्रदान गर्न लागिएको हो।
आबाल ब्रह्मचारी षडानन्द अधिकारी (विसं. १८९२–१९७३) को स्मृतिमा प्रतिष्ठानले दाताहरूको सहयोगमा स्थापना गरेको यस पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।
शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार तथा पर्यावरण संरक्षणमध्ये कुनै एक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई हरेक वर्ष सम्मानपत्रसहित यो पुरस्कार प्रदान गरिन्छ। गत वर्ष यो पुरस्कार मुन्धुम संस्कृतिका अध्येता, लिम्बू भाषा तथा लोकसाहित्यका अनुसन्धाता एवं वरिष्ठ कवि तिलविक्रम नेम्बाङ (वैरागी काइँला) लाई प्रदान गरिएको थियो।
यसैगरी, हरेक दुई वर्षमा प्रदान गरिने षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार यस वर्ष धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिर आश्रमलाई प्रदान गरिने भएको छ।
विसं. २०४० मा स्थापित आश्रमले धार्मिक, सांस्कृतिक तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। आश्रमले आर्थिक रूपमा विपन्न परिवारका व्यक्तिहरूका लागि निःशुल्क दाहसंस्कार तथा १३ दिनसम्मको काजकिरिया गर्न आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ। साथै, वृद्धाश्रम सञ्चालन, निःशुल्क भोजन, गुरुकुलीय संस्कृत शिक्षा तथा सामान्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
स्वर्गीय पं. यज्ञनिधि चापागाईंको स्मृतिमा उहाँका जनातिद्वय उदयकुमार चापागाईं र दिलीपकुमार चापागाईं (मार्से) ले स्थापना गरेको अक्षय कोषको ब्याजबाट यो पुरस्कार प्रदान गरिँदै आएको छ। समाज सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने यस पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ। यसअघि २०८१ सालमा यो पुरस्कार समाजसेवी, कलाकार तथा साहित्यकार भद्राकुमारी घलेलाई प्रदान गरिएको थियो।
त्यस्तै, यस वर्षको षडानन्द क्षेत्रीय पुरस्कार कवि जसराज किरातीलाई प्रदान गरिने भएको छ। विसं. २००१ मा जन्मनुभएका किरातीले खोटाङको बुइपालाई आफ्नो साहित्यिक कर्मथलो बनाएर नेपाली कवितामा मौलिक पहिचान स्थापित गर्नुभएको छ। उहाँका ‘उज्यालो खोज्ने आँखाहरू’ (२०३७), ‘जसराज किरातीका कविताहरू’ (२०५७) र ‘जसराज किरातीका प्रतिनिधि कविता’ (२०६५) लगायतका कृतिहरू प्रकाशित छन्। साहित्य सिर्जना, साहित्यिक पत्रिकाको सम्पादन तथा समाजसेवाका माध्यमबाट उहाँले नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ।
भोजपुरको दिङ्लाका स्वर्गीय डण्डपाणि तथा युवाकुमारी चापागाईंको स्मृतिमा उहाँहरूका सुपुत्रद्वय निरञ्जन चापागाईं र गायत्रीकुमार चापागाईंले स्थापना गरेको अक्षय कोषको ब्याजबाट यो पुरस्कार प्रदान गरिँदै आएको छ।
विसं. २०७१ देखि पूर्वाञ्चल क्षेत्रमा शिक्षा, संस्कृति तथा साहित्यका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रतिवर्ष प्रदान गरिने यस पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ। गत वर्ष (२०८२) यो पुरस्कार नेवारी संस्कृति, भाषा तथा साहित्यका अध्येता, अनुसन्धाता एवं कोशकार सहप्राध्यापक काशीनाथ तमोटलाई प्रदान गरिएको थियो।
प्रतिष्ठानका अनुसार तीनवटै पुरस्कार आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १९२औँ जन्मजयन्ती तथा प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा विशेष समारोह आयोजना गरी प्रदान गरिनेछ। पुरस्कार वितरण कार्यक्रम २०८३ साल मंसिर २८ गते विवाहपञ्चमीका दिन आयोजना हुने जनाइएको छ।

सांस्कृतिक, सामाजिक, साहित्य, पर्यावरण बिषयमा अध्ययन, अनुसन्धान गरी उत्कृष्ट लेखन कार्य गरे बापत प्रदान गरिने पुरस्कार सह्रानीय छ। प्रेरणादायी छ।