दैलेखको भूर्ति पञ्चदेवल
काठमाडौं, भाद्र २८ ।
स्थानीय प्रकाश न्यौपानेका अनुसार भुर्तेलहरु जुम्लाबाट तर्ताङ हुँदै दैलेखको भुर्ति भन्ने ठाउँमा आएर बसे त्यसैले यो स्थानको नाम भुर्ति भएको हो ।
यस क्षेत्रका देवलहरु महाभारत कालमा पाण्डवहरुले आफ्नो गुप्तवास एवम् स्वार्गारोहणको यात्राका क्रममा एकै रातमा बनाएको हो भन्ने जनविश्वास रहेको छ ।
भुर्तिका २२ वटा देवलहरुमध्ये पाँच वटा अलि ठूला र मुख्य छन् । जसलाई पाँच पाण्डव युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव र एउटालाई द्रौपदीको देवल भन्ने गर्दछन् ।

भुर्तेल जातिको उद्गमस्थल भूर्तिको २२ देवल प्राङ्गणमा वल्लो भूर्ति र पल्लो भूर्तिका सबै मिलेर दसैंतिहारको अवसरमा पिंङ हाल्ने, रातभरि ठाडो भाका गाउने, लोकदोहोरी गाउने र भुस्या खेल्ने गर्दथे । देवल र ढुङ्गेधाराको बीचमा रहेको ठूलो बुढो पिपलको रुखका हाँगाहरुमा जोडी पिङ थाप्ने गरिन्थ्यो ।
त्यसबाहेक कुनै प्रकारको पूजाआज, जात्रा, पर्व, जस्ता सांस्कृतिक क्रियाकलापहरु थाहा नपाएको सञ्चारकर्मी रमेश भट्टराईले जानकारी दिए । नेपालका अन्य प्राचीन मन्दिरहरु जस्तो भूर्ति स्मारक क्षेत्रमा वर्तमान समयमा सक्रिय धार्मिक तीर्थस्थल होइन । यहाँ नियमित रुपमा कुनै पूजाआजा वा बलि चढाइने परम्परा छैन । जसले गर्दा यो विशुद्ध पुरातात्विक स्थलको रुपमा सुरक्षित छ । केवल इतिहासको साक्षी बनेर ठिङ्ग उभिएको छ भूर्तिका २२ देवल र पञ्चदेवलहरु ।

दैलेख जिल्लाको नारायण नगरपालिका वडा नम्बर ६ मा अवस्थित भूर्तिका देवलहरु नेपालको मध्यकालिन इतिहास, कला र वास्तुकलाको एक अद्वितीय र महत्वपूर्ण धरोहर हो । यी शिखर शैलीका देवलहरु १३औं देखि १५औं शताब्दीको उत्तरार्ध, अर्थात ऐतिहासिक खस मल्ल साम्राज्यको अन्त्य र रास्कोटी वंशको प्रारम्भिक कालखण्डमा निर्माण भएको मानिन्छ ।
इतिहासकारहरुका अनुसार यी देवलहरु वि.सं. १४६५ मा राजा श्रीबर्माको शासनकालमा बनेको भनिए तापनि ठोस ऐतिहासिक प्रमाणको अभावमा यसको वास्तविक निर्माता र सटीक समयको अझै अनुसन्धानकै गर्भमा छ ।
दुल्लु दैलेख र जुम्लाको सिंजा उपत्यकाको सम्बन्ध १२औं देखि १५औं शताब्दीको शक्तिशाली खस साम्राज्यको इतिहाससँग जोडिएको छ । १२आंै शताब्दीमा राजा नागराजले जुम्लाको सिंजा उपत्यकालाई राजधानी बनाएर विशाल खस साम्राज्य खडा गरेपछि नै दैलेखको भूर्ति क्षेत्र उक्त साम्राज्यको एक प्रमुख सांस्कृतिक र प्रशासनिक केन्द्र थियो ।
भूर्तिमा रहेका देवलहरु पश्चिमी मल्ल वा खस वास्तुकला शैलीमा निर्माण गरिएका छन् । सिंजा उपत्यका, दुल्लु, र भूर्ति क्षेत्रमा भेटिएका प्रस्तर स्तम्भ, शिलालेख र देवलहरुको स्वरुपले यिनीहरु एउटै साम्राज्य र सभ्यताको अङ्ग हुन् भन्ने पुष्टि गर्दछ । भूर्ति देवलको निर्माणमा प्रयोग भएको प्रविधि तत्कालीन समयको उच्च स्तरीय सिभिल इन्जिनियरिङ र खानी प्रविधिको उत्कृष्ट उदाहरण हो ।
यी देवलहरुको निर्माण्मा सिमेन्ट, माटो वा कुनै पनि प्रकारको गाह्रो प्रयोग गरिएको छैन । बरु सुख्खा ढुङ्गाहरुलाई एकमाथि अर्को गर्दै इन्टरलकिङ (खप्टाउने) प्रविधिद्वारा भव्यरुपमा निर्माण गरिएको छ शैलीका हिसाबले यी देवलहरु उत्तर भारतीय शिखर शैलीमा आधारित छन् ।
तर, यसमा धेरै बुट्टाहरु नभरी सरल र नेपाली प्रविधि प्रयोग गरी भुकम्प जस्ता प्राकृतिक कारण क्षति नहोस् भन्ने उद्देश्य पनि रहेको स्पष्ट हुन्छ । देवलमा प्रयोग गरिएका ढुङ्गाहरुलाई निश्चित ज्यामितीय आकारमा काटेर, सन्तुलन मिलाएर पञ्चदेवल शैली (एक्लै, जोडी वा पाँचको समूह) मा ठड्याइएको छ । गाह्रो बिना नै शताब्दीऔँ सम्म यी संरचनाहरु सुरक्षित रहनुले तत्कालीन खस इन्जिनियरहरुको भुकम्प प्रतिरोधी डिजाइनको क्षमता देखाउँछ ।

कतिपय इतिहासकारहरुका अनुसार यो क्षेत्र प्राचीन उत्तरापथको एक हिस्सा हुनसक्छ, जसले गङ्गाको मैदानलाई पश्चिम तिब्बत र रेशम मार्ग सँग जोड्ने गर्दथ्यो । यो पनि अध्ययन अनुसन्धानको अर्को महत्वपूर्ण पक्ष हो । यसको विशिष्ट वास्तुकला र ऐतिहासिक महत्वलाई मध्य नजर गर्दै सन् २००८ मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचीको सम्भावित सूचीमा समावेश गरेको छ । पश्चिम नेपालको इतिहास बुझ्न यो स्थल विश्वव्यापी रुपममै महत्वपूर्ण मानिन्छ ।
मध्यकालीन नेपालको इतिहास, संस्कृति, समाज, प्रविधि र ज्ञानलाई बुझ्नको लागि ज्यादै महत्वपूर्ण हुने यो सम्पदा क्षेत्रमा भुकम्प, हावापानी, बोटविरुवा जस्ता प्राकृतिक कारण, सम्बन्धित सरकारी निकायहरु, यस विषयमा कार्य गरिरहेका सरकारी–गैरसरकारी संघसंस्थाहरु र सम्पदासम्बन्धी स्थानीयलाई राम्रो जानकारी नभएको कारणले देवलहरु जीर्ण बन्दै गइरहेका छन् ।
केही देवलहरुमा ढुङ्गा खस्ने, पर्खाल बिग्रने, ढुङ्गाहरु फुट्ने जस्ता समस्याहरु देखिएको छ । सार्वजनिक यातायातको पहुँच भएर पनि उचित संरक्षण, यसको प्रचार प्रसार, संस्कृति र पुरातत्व सम्बन्धी नियमित अनुसन्धानको कमी र आगन्तुकहरुका लागि सूचना पाटी जस्ता न्यूनतम पूर्वाधारको अझै अभाव रहेको छ ।
दैलेखको भूर्ति देवल क्षेत्र केवल ढुङ्गाको थुप्रो नभएर कर्णाली प्रदेश र समग्र नेपालकै मध्यकालीन सभ्यता, प्राचीन इन्जिनियरिङ प्रविधि र कलाको एउटा खुला संग्रहालय हो । यसको ऐतिहासिक तथ्यहरु उजागर गर्न थप सांस्कृतिक एवम् ऐतिहासिक अध्ययन अनुसन्धान, पुरातात्विक अन्वेषण, उत्खनन र स्थानीय तथा सङ्घीय सरकारको तर्फबाट प्रभावकारी संरक्षण योजना ल्याउनु अपरिहार्य देखिन्छ । अन्ततः विकास गर्नु भनेको नयाँ नयाँ संरचना बनाउनु र सिर्जना गर्नु मात्रै होइन । बरु पुर्खाहरुले हामीलाई नासोको रुपमा छाडेर गएका ज्ञान, सीप, प्रविधि, धरोहरको जगमा संरक्षण, प्रवद्र्धन र सिर्जना गर्नु नै दीगोविकास हो ।
तस्वीर : एकीकृत नेपाल
