निसान भगवती मन्दिर
धनकुटा, भदौ २७ ।
धनकुटा नगरपालिका वडा नं. ६ मा अवस्थित निसान भगवती मन्दिर एक ऐतिहासिक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध शक्तिपीठ हो । मन्दिर परिसरमा भक्तजनहरुले चढाएका साना ठूला करिब ५०० भन्दा बढी पुराना घण्टीहरुलाई जोडेर एउटा ठूलो घण्टी निर्माण गरिएको छ । जसलाई महाघण्टी नाम दिइएको छ । यसको तौल करिब १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिनुभयो ।
यो महाघण्टीमा वि.सं. १९३१ भन्दा अघिदेखिका ऐतिहासिक घण्टीहरु सुरक्षित राखिएको छन् । जसले धनकुटा भ्रमण गर्ने आगन्तुक र पर्यटकहरुलाई आकर्षित गर्ने स्थलहरुमध्ये महत्वपूण भएको छ ।
“निसान मन्दिर पुनर्निर्माणको क्रममा २०७७ सालमा यो महाघण्टीको निर्माण गरिएको हो । मन्दिर परिसरमा रहेका साना घण्टीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि ती घण्टी हटाउने तयारी गरिएको थियो । तर, घण्टी हटाउँदा ऐतिहासिक महत्त्वका पुराना घण्टीसमेत नष्ट हुने अवस्था आएपछि तिनलाई संरक्षण गर्ने विकल्पका रूपमा महाघण्टी निर्माण गर्ने सोच अघि सारिएको हो”, सचिव घिमिरेले भन्नुभयो । उहाँका अनुसार यस महाघण्टीमा १९३१ सालभन्दा अघिदेखिका घण्टीसमेत सङ्ग्रहित रहेका छन् ।
घिमिरेले महाघण्टी निर्माणले पुराना घण्टीको संरक्षण हुनुका साथै मन्दिरको सौन्दर्य र पहिचानसमेत थपिएको बताउनुभयो । सुरुमा घण्टी कसरी व्यवस्थापन गर्ने भन्ने सोचेर काम सुरु गरि।एको भन्दै अहिले यही घण्टी सबैका लागि आकर्षक केन्द्र बनेको तथा मन्दिरको शोभासमेत बढाएको घिमिरेले बताउनुभयो ।
“साना घण्टीलाई एउटै संरचनामा जोडेर बनाइएको महाघण्टी अहिले निसान मन्दिरको छुट्टै पहिचान बनेको छ । धार्मिक तथा ऐतिहासिक महत्वबोकेको मन्दिरमा आउने आगन्तुकका लागि यो घण्टी फोटो खिच्ने आकर्षक गन्तव्यसमेत बनेको छ”, उहाँले भन्नुभयो ।
यो मन्दिर पूर्वी नेपालको प्रशासनिक र सैनिक इतिहासँग जोडिएको छ । वि.सं. १८४१ मा पूर्वको प्रशासनिक कार्यका लागि प्रसादसिंह बस्नेत धनकुटा आएका बेला यहाँ जङ्गी निसानको स्थापना गरेको मानिन्छ । यो मन्दिर नेपाल एकीकरण काल र त्यसपछिको सैनिक इतिहाससँग प्रत्यक्ष जोडिएको छ । मन्दिरमा तोप र हनुमानको मूर्ति समेत राखिएको छ । मन्दिरको स्थापनादेखि नै नेपाली सेनाले नित्य पूजा गर्दै आएकाछे छ । मन्दिरमा सेनाकै तर्फबाट एकजना पुजारी रहेको विशेष व्यवस्था छ ।
