कंकालिनी मन्दिर
सप्तरी, भाद्र २९ ।
सप्तरी जिल्लाको भारदहस्थित सप्तकोशी नदीे किनारमा कंकालिनी मन्दिर रहेको छ । राजमार्गसँगै जोडिएको यो मन्दिर ऐतिहासिक एवं पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण रहेको छ । यो मन्दिर कर्णाटवंशीय हिन्दु राजा शक्तिसिंहदेव सखडाबाट भारदह आइपुगेको र भारदहमा कंकालिनी भगवतीको मन्दिर स्थापना गरेको बताइन्छ ।
स्थानीयका अनुसार ३०० वर्ष पहिले वैरवा बिर्तामा बस्ने उदयानन्द अर्याललाई सपनामा भगवतीले म भारदह गाउँको पिपलको फेखमा जमिनमुनि बसेको छु । निकालेर मलाई स्थापित गर म तिम्रो वंशको रक्षा गर्नेछु भनि भनिन् । देवीले भनेको ठाउँमा खनेर हेर्दा भगवतीको मूर्ति भेटाएपछि सोही स्थानमा मन्दिर बनाएर देवी स्थापना गरेका थिए ।
यसरी हालको मन्दिरभन्दा डेढ दुई किलोमिटर पूर्व बनाइएको उक्त मन्दिर कोशी कटानमा परेपछि गाउँलेहरूले अहिलेको ठाउँमा ल्याएर मूर्ति स्थापना गरेको हो । यो मन्दिर एक बिगाहा क्षेत्रफलमा अवस्थित छ । यो मन्दिर एक तहको चतुष्कोण पेटी पाँचतले छानो भएको तल्ले शैलीको मन्दिर हो ।
मुख्य जगमा वरिपरि खम्बा दिई माथिबाट भिरालो परेर आएको पहिलो तहको छानालाई अड्याएको छ । पेटीलाई प्रदक्षिणापथको रुपमा प्रयोग गर्न सकिने बनाएको छ । गर्भगृहमा प्रवेश गर्न दक्षिणतर्फ र ध्वजा रहेको छ । मन्दिरको गर्भगृहभित्र बीच भागमा प्रस्तरको सिंहासनमाथि मूर्तिहरू विराजमान छन् । सिंहासनमाथि मण्डप बनाइएको छ । जसमाथि तीनवटा गजुर जडान गरिएको छ । बीचको गजुर सुनको र अरु दुईवटा चाँदीका गजुर हुन् ।
सप्तरी जिल्लाको साविक भारदह एवं हालको हनुमान नगर कंकालिनी मन्दिर कोशी नदीको किनारमा रहेको छ । मन्दिर परिसरमा श्रीगणेशको मूर्ति पनि रहेको छ । कंकालिनी भगवतीको पूजा वैदिक पद्धति अनुसार नै गरिन्छ ।
यहाँ पहिले वैरबाका उदयानन्द अर्यालका वंशजहरूले नै पूजा गर्दथे । तर पछि सन्यासीहरूलाई पूजाको जिम्मा दिइयो । यो मन्दिरमा पुजारीले बिहानबेलुका नित्य पूजा गर्छन् । पूजा गर्दा आरती गर्छन् । भक्तजनहरू विभिन्न किसिमका फलफूल मिठाइ लिएर आउँदछन् । साथै, यहाँ बली पनि दिने गरिन्छ । विशेषगरेर यहाँ वडादशैंको समयमा भव्य पूजा हुने गर्छ ।
तस्वीर : एकीकृत नेपाल
