64 yrs Chandrika Shrestha rescued in Betrawati. Photo: RSS
त्रिशूली, भदौ २०। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि आज नेपाल संयुक्त उद्धार टोलीले दुई जनाको सकुशल जीवित उद्धार गर्न सफल भएका छन्।
नुवाकोटको बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई बाढीले पुरिएको घरबाट ११ दिनपछि उद्धार गरिएको छ भने माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट एक चिनियाँ नागरिकलाई जीवितै निकालिएको छ।
बाढी प्रभावित बेत्रावतीमा खोज तथा उद्धारमा खटिएको टोलीले घरको चौथो तलाबाट आवाज सुनेपछि भित्तामा प्वाल बनाएर सशस्त्र प्रहरीले श्रेष्ठको उद्धार गरेको हो।
उहाँ हिलोमा गाडिएको अवस्थामा फेला पर्नुभएको थियो। उद्धारपछि उपचारका लागि काठमाडौँ ल्याइएको छ।
यसैबीच, नेपाली सेना र कोरियाली विपद् उद्धार टोलीले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। उद्धार दिउँसो १ः२० बजे गरिएको हो।
विनाशकारी बाढीको ११ दिनपछि भएको यो उद्धारले विपत्तिको बीचमा पनि आशा जीवित रहेको सन्देश दिएको छ।

