काठमाडौं, असोज २३ । सरकारले प्रधानमन्त्रीको निगरानी गरेर अनधिकृत व्यक्तिलाई सूचना दिएको भन्ने आरोप लगाइएका सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गरेको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उहाँलाई पदबाट बर्खास्त गरिएको जनाएको छ ।
पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरी प्रहरी परिसर टेकु पुर्याइएको बेलामा उनलाई भेट्न गएपछि जबराका ज्वाईँ नाता पर्ने दाहालमाथि सरकारको वक्रदृष्टि पर्न गएको हो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको बराबर अनुशासनहीन काम गरेको र संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याएको भनी आरोप लगाइएको छ ।
तर उहाँले गरेको कुन कुन कार्यले त्यस्तो हुन गएको भन्ने चाहिँ विज्ञप्तिमा खुलाइएको छैन । उहाँलाई आजैका मितिदेखि लागू हुने गरी प्रहरी सेवाबाट हटाउने विभागीय सजाय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दाहाललाई सरकारले असोज १९ गते पदबाट निलम्बन गरेको थियो। सो विषयमा छानबिन गर्न एआईजी अञ्जनीकुमार पोखरेलको एक सदस्यीय छानबिन समिति गठन गरिएकोमा उक्त समितिले बिहीबार मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।
सोही प्रतिवेदनका आधारमा आज उहाँलाई बर्खास्त गरिएको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११० (ख) मा उल्लेख भए बमोजिम उहाँलाई विशेष सजाय गरिएको छ ।
