हेलिकप्टर
काठमाडाै, कात्तिक १७ ।
अाज विहान करिब ८:११ बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेस्टीका दुई हेलिकप्टरहरू अवतरण गर्ने क्रममा मुख्य पंखाहरू एकआपसमा ठोक्किएर दुर्घटना भएकाे छ ।
यस दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतको चेन्नाई (तमिलनाडु) का ४७ वर्षीय नागरिक वसन्तकुमार बालारामडुको घटनास्थलमै मृत्यु भएको छ भने फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्वल केसी र भारतीय मूलका न्युजिल्यान्ड नागरिक ४९ वर्षीय सेलिसकुमार पटेल गम्भीर घाइते भएका छन् ।
दुर्घटनालगत्तै स्थानीय सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा खटिएका थिए। घाइतेहरूमध्ये सेलिसकुमार पटेल र पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ।
अर्का घाइते पाइलट प्रज्वल केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतकको शवलाई पनि प्रभु एयरकै हेलिकप्टरमार्फत लुक्ला पुर्याइएको जनाइएकाे छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रहरी प्रशासनले दुई हेलिकप्टरहरू एकआपसमा ठोक्किनुको प्राविधिक वा वातावरणीय कारणबारे थप अनुसन्धान अगाडि बढाएका छन्।
