काठमाडौं । हिमानी ट्रस्टले श्रीमद् राजचन्द्र लभ एन्ड केयरसँगको सहकार्यमा रसुवाका बाढी प्रभावित ३०० भन्दा बढी परिवारलाई अत्यावश्यक राहत सामग्री वितरण गरेको छ।
बाढीबाट प्रभावित परिवारलाई कठिन परिस्थितिमा केही राहत र सहयोग पुर्याउने उद्देश्यले ट्रस्टले राहत वितरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, शुभेच्छुक तथा आर्थिक र अन्य सहयोग प्रदान गर्ने सबैप्रति हिमानी ट्रस्टले आभार व्यक्त गरेको छ। त्यसैगरी, रसुवाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वयकर्ताहरू, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको महत्वपूर्ण सहयोगप्रति पनि ट्रस्टले धन्यवाद दिएको छ।
यसैबीच, वरिष्ठ नेता रविन्द्र मिश्रले हिमानी ट्रस्टको मानवीय कार्यको प्रशंसा गरेका छन्। उनले ट्रस्टले निरन्तर गर्दै आएको परोपकारी गतिविधिले बेलायतको ‘किङ्स ट्रस्ट’ (पूर्व प्रिन्सेस ट्रस्ट) को स्मरण गराएको टिप्पणी गरेका छन्।
मिश्रले हिमानी ट्रस्टको सामाजिक सेवासँग हिमानी सरकारको मानवीयता, संस्कार, सरलता, भद्रता र देशप्रेमलाई जोड्दै यी गुण सबैका लागि प्रेरणादायी बन्नुपर्ने बताएका छन्।
उनले रसुवाका बाढी प्रभावित ३०० भन्दा बढी परिवारलाई राहत वितरण गरिएको कार्यको प्रशंसा गर्दै यस्तो मानवीय सहयोगले विपद्को समयमा पीडित समुदायलाई ठूलो सहारा पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउन विभिन्न संघसंस्था र सामाजिक अभियानहरू सक्रिय भइरहेका बेला हिमानी ट्रस्टको यो पहललाई मानवीय सेवाको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।






Photo Courtesy: Himani Trust
