शिष्टाचार भेटवार्ता काठमाडौँ, १८ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालसँग आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै भारतका विदेश सचिव विक्रम मिश्री । तस्बिरः किरणराज विष्ट/रासस
काठमाडौँ, १८ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिश्रीबीच दुई मुलुकबीचको सम्बन्ध र सहकार्यसहित ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका विविध विषयमा छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेका बेला भारतीय विदेश सचिवको आगमन भएको हुनाले यसलाई महत्वका साथ हेरिएको छ ।
उहाँलाई परराष्ट्र सचिव अमृत बहादुर राईले एयरपोर्टमा स्वागत गर्नुभएको थियो।

