काठमाडौं, कात्तिक २० । नेपालमा बढ्दो साइबर स्क्याम तथा डिजिटल वित्तीय ठगी नियन्त्रण गर्ने उद्देश्यले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) सञ्चालनमा आएको छ।
प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.को प्रमुख आतिथ्यमा बिहीबार केन्द्रले औपचारिक रूपमा सेवा प्रारम्भ गरेको हो।
नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट २०८३ असोज २३ गते स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३’ अनुसार केन्द्र स्थापना गरिएको हो।
केन्द्रमा नियामक निकाय, नेपाल प्रहरी, बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू एउटै भौतिक कक्षबाट समन्वयात्मक रूपमा काम गर्ने व्यवस्था गरिएको छ।
यस प्रणालीमार्फत साइबर स्क्याम तथा डिजिटल ठगीका घटनामा तत्काल र प्रभावकारी प्रतिकार्य गर्दै सम्भावित आर्थिक क्षति तथा जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ। साथै, नेपालको डिजिटल वित्तीय प्रणालीलाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउने केन्द्रको उद्देश्य रहेको छ।
साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना चौबिसै घण्टा प्राप्त गर्न सम्पर्क अधिकृतको व्यवस्था गर्नुका साथै १२४७ आकस्मिक फोन नम्बरसमेत सञ्चालनमा ल्याइएको छ।
सम्बन्धित निकायहरूबीच प्रत्यक्ष समन्वय र सूचना आदानप्रदानमार्फत ठगीमा संलग्न व्यक्तिहरूको पहिचान, शंकास्पद कारोबारको समयमै जानकारी तथा पीडितको रकम सुरक्षित गर्ने प्रक्रियालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नेपालमा डिजिटल भुक्तानी तथा अनलाइन कारोबारको प्रयोग बढ्दै जाँदा साइबर ठगीका चुनौतीसमेत बढिरहेका बेला एकीकृत प्रतिकार्य केन्द्रको सञ्चालनलाई डिजिटल सुरक्षाका क्षेत्रमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

