पोखरा एभेन्जर्सका खेलाडी कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ब्याट उठाएर सेलिभ्रेसन गर्दै काठमाडौँ, २९ कात्तिकः काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सका खेलाडीबीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका खेलाडी कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ब्याट उठाएर सेलिभ्रेसन गर्दै । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस
काठमाडौँ, २९ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजविरुद्ध सहज जित निकालेको छ । पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको हो । जारी संस्करणमा पोखराको यो दोस्रो जित हो । पोखराले सात खेलमध्ये पाँच खेलमा भने पराजय व्यहोरेको थियो । आजको हारका बाबजुद काठमाण्डुले प्लेअफमा स्थान सुरक्षित गरेको छ । पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाण्डुको पारी १९ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर १६९ रनमै समेटियो ।
पोखराका लागि स्मित पटेलले ३४, राशिद खानले ३१, सोनु देवकोटाले २९, विल बोसिस्टोले २६ र जहानदाद खानले २४ रन बनाए । बलिङतर्फ पोखराका लागि दिनेश खरेलले ४, विपिन खत्रीले ३ तथा सनी बिक, युवराज साम्रा र रमेश मेन्डिसले समान एक एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो । पोखराका लागि कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट पारी खेले ।
भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन तथा साम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको पारी खेले । यस्तै, कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए । बलिङतर्फ काठमाण्डुका लागि करण केसीले दुई र जहानदाद खानले एक विकेट लिए। आजै भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हराएको थियो ।
रासस
