आफ्नो बारेमा आएका समाचारलाई देश र न्यायपालिकाको अस्थिरताभन्दा अलग गरेर नहेर्न सर्वोच्च अदालतका न्यायाधीशको आग्रह
काठमाडौं, कात्तिक १२। सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालले न्यायिक विचलनसम्बन्धी भइरहेको अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।
बिहीबार जारी गरेको वक्तव्यमा उहाँले आफ्नो र न्यायपालिकाबारे सार्वजनिक भइरहेका विवरण तथा समाचारमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ।
वक्तव्यमा न्यायाधीश फुयालले स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। नेपालको न्यायिक विचलनका सम्बन्धमा चलिरहेको अनुसन्धानलाई उहाँले “महत्वपूर्ण” भन्दै त्यसप्रति पूर्ण सहयोग रहने बताउनुभएको छ।
वक्तव्यको सबैभन्दा ध्यान तान्ने अंश सुरक्षासँग जोडिएको छ। उहाँका अनुसार पछिल्लो समय न्यायक्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसङ्गतिको गलत फाइदा उठाएर गरिएका कार्य राज्यको जानकारीमा आइसकेका छन् र ती विषयमा अनुसन्धान भइरहेको छ। यसले न्यायालयभित्रको कमजोर अवस्थालाई कसैले आफ्नो स्वार्थमा प्रयोग गरेको संकेत गर्छ।
आफ्नो बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरता र असुरक्षाभन्दा बाहिरबाट नहेर्न उहाँले समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आम सञ्चार माध्यमलाई अनुरोध गर्नुभएको छ।
आफूबाट न्यायिक विचलन, निष्ठा र न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य नभएको दाबी गर्दै उहाँले न्यायिक विचलन ल्याउने कार्य अहिले अनुसन्धानको प्रक्रियामा रहेको उल्लेख गर्नुभएको छ।
न्यायाधीश फुयालले आफूप्रति सिर्जना गरिएको भ्रम, अर्धसत्य र चलिरहेको अनुसन्धानलाई प्रभाव पार्ने गरी भएका कार्यमा दुःख व्यक्त गर्नुभएको छ। अन्त्यमा उहाँले सम्पूर्ण न्यायकर्मी मित्रहरूलाई न्यायपालिकाप्रतिको विश्वास थप कायम राख्न हार्दिक अनुरोध गर्नुभएको छ।
यसअघि बिचौलिया भनिएका इनाम सापकोटाको मोबाइलमा रहेको भनिएका न्यायाधीश फुँयालसँगको ह्वाट्सएप संवाद र सन्देश तथा होटल हिमालयमा उहाँले बिचौलियालाई भेटेको घटना सार्वजनिक भएपछि न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठिरहेको छ।
विचाराधीन मुद्दासँग सम्बन्धित कुराकानी, धरौटीको जानकारी, भेटघाटको प्रस्ताव र रकम जम्मा गर्न आग्रहको आरोप त्यसमा समेटिएका छन्।

