लियोनार्डो दा भिन्ची
रामकुमार राई
काठमाडौं, कात्तिक ७ ।
आफ्नो सृजनशीलता र बहुप्रतिभाका लागि सदियौँदेखि विश्वभरि नै अतुलनीय मानिंदै आएका बहुप्रतिभाशाली व्यक्तित्व लियोनार्डो दा भिन्चीका छरिएर रहेका नोटब्क्सका पानाहरू चार सय वर्षभन्दा बढी समयको अन्तरालपछि अन्ततः डिजिटल माध्यमबाट पुनर्मिलन भएका छन्। कुनै बन्द ग्यालरी वा कडा सुरक्षा भएको भल्टमा होइन, यो अब ब्राउजरमार्फत जो कोहीले पनि निःशुल्क रूपमा अनलाइनमार्फत अध्ययन गर्न सक्ने गरी उपलब्ध गराइएको छ।
‘लियोनार्डोथेक’ नाम दिइएको यो परियोजना तीन प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरू—मिलानको भेनेरान्डा बिब्लियोटेका अम्ब्रोसियाना, बिब्लियोटेका लियोनार्डियाना र रोयल कलेक्सन ट्रष्ट बीचको एक दशक लामो सहकार्यको परिणामस्वरूप तयार पारिएको हो। यो परियोजना सार्वजनिक हुनु आधुनिक लियोनार्डो अध्ययनको इतिहासमा एक अत्यन्तै ऐतिहासिक र युगान्तकारी कदम मानिएको छ।
यो डिजिटल पुनर्मिलनले १७औँ शताब्दीको आरम्भमा खडा भएको एउटा ऐतिहासिक विभाजनलाई जोड्ने काम गरेको छ। सन् १५१९ मा लियोनार्डो दा भिन्चीको निधन भएपछि उनका अमूल्य कागजातहरू र हस्तलिखित नोटहरू उनका अन्तिम शिष्य फ्रान्सेस्को मेल्जीलाई हस्तान्तरण गरिएका थिए। मेल्जीले तिनलाई सुरक्षित र अखण्ड राखेका थिए।
तर, पछि जब यी सामग्रीहरू पोम्पेओ लिओनी नामक एक मूर्तिकारको हातमा पुगे, तब तिनको स्वरूपमाथि ठูलो क्षति पुग्यो। लिओनीले आफ्नै प्रकारको सम्पादकीय धारणा र निर्णयका आधारमा लियोनार्डोका नोटबुकहरूलाई भौतिक रूपमा काटेर दुई भिन्न एल्बमहरूमा विभाजन गरिदिए। उनले प्राविधिक तथा वैज्ञानिक सामग्रीलाई एउटा खण्डमा र कलात्मक तथा चित्रसम्बन्धी सिर्जनाहरूलाई अर्को खण्डमा छुट्याए।
यो विभाजनले लियोनार्डोको मूल सोचाइ र अवधारणालाई विखण्डित गरिदियो, किनकि लियोनार्डो स्वयंले कला र विज्ञानलाई कहिल्यै पनि छुट्टाछुट्टै रूपमा हेरेका थिएनन्। लिओनीद्वारा विभाजित गरिएका यी दुई ठूला भागहरूमध्ये एउटा भागलाई पछि ‘कोडिक्स एटलान्टिकस’ भनियो, जुन भेनेरान्डा बिब्लियोटेका अम्ब्रोसियानामा सुरक्षित रह्यो भने दोस्रो एल्बम बेलायत पुग्यो र करिब १६७० सम्ममा रोयल कलेक्सनको हिस्सा बन्न पुग्यो। त्यसयता यी दुई बहुमूल्य संग्रहहरू विभिन्न देश, विभिन्न संस्था र छुट्टाछुट्टै विशेषज्ञहरूको दायरामा सीमित भएर भौतिक रूपमा सधैँका लागि छुट्टिएका थिए।
‘लियोनार्डोथेक’ ले के पुनर्स्थापित गर्दछ?
यो डिजिटल प्लेटफर्मले केवल हाइरिजोल्युशन स्क्यानहरूलाई आमने(सामने देखाउने मात्र काम गरेको छैन, यसको मुख्य कार्य पुनर्निर्माण गर्नु हो। शोधकर्ताहरूले कागजातका भौतिक प्रमाणहरू—जस्तै काटिएका किनाराहरू, मसी फैलिएको अवस्था र पानाहरूको नाप—को गहिरो अध्ययन गरेर त्यस्ता ५० वटा व्यक्तिगत पानाहरू पत्ता लगाए, जुन लिओनीले तिनीहरूका मौलिक छिमेकी पानाहरूबाट अलग गरेका थिए। यस प्लेटफर्मले ती पानाहरूलाई पुनः तिनैको मौलिक क्रममा जोडेर प्रस्तुत गरेको छ।
यसको प्रभाव निकै चकित पार्ने र उज्यालो छ। लियोनार्डोका यी नोटबुकहरूमा दशकौँ लामो मानव शरीर रचनाका अध्ययनहरू, उड्ने मेसिनहरूका डिजाइन, प्राकृतिक दृश्यहरू र घरायसी किराना सामानका सुचीहरूसँग मिल्दोजुल्दो टिप्पणीहरू एकै ठाउँमा जेलिएका छन्, जसले लियोनार्डोको मष्तिस्कले कसरी काम गर्थ्यो भन्ने कुरालाई जीवन्त रूपमा देखाउँछ।
एउटै पानामा कुनै मेसिनको यान्त्रिक रेखाचित्र, घोडाको स्केच र कविताको कुनै टुक्रा सँगसँगै फेला पर्न सक्छन्। लिओनीले यी विषयहरूलाई पूर्ण रूपमा भिन्न कोटीका सामग्री ठानेर काटिदिएका थिए, तर ‘लियोनार्डोथेक’ ले ती सबै टुक्राहरूलाई पुनः जोडेर मूल रचनाकारको अभिप्रायलाई जीवन्त बनाएको छ। यसले के स्पष्ट पार्छ भने, लियोनार्डोले कला र विज्ञानलाई कहिल्यै अलग ठानेका थिएनन्स उनीद्वारा सृजित हरेक पानामा विज्ञानले कलालाई र कलाले विज्ञानलाई मद्दत पुर्याएको देख्न पाइन्छ।
यो परियोजनाको सार्वजनिकरण यस्तो समयमा भएको छ जहाँ मानविकी र स्टेम — विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित० विषयहरूबीचको सम्बन्ध, कुन विषयलाई बढी प्राथमिकता दिने र कस्तो प्रकारको सोचाइलाई समाजले बढी मूल्यवान् ठान्ने भन्ने विषयमा विश्वभरि नै बहस चलिरहेको छ।
पुनः जोडिएका लियोनार्डोका पानाहरूले यो देखाउँछन् कि आधुनिक समयमा गरिने यस्ता विभाजनहरू कति गलत वा अपूर्ण हुन सक्छन्। लियोनार्डोको जीवनमा शरीर रचनाले चित्रकलालाई निर्देशित गर्दथ्यो, इन्जिनियरिङ् र प्रविधिले शिल्पकलालाई र गहिरो सूक्ष्म अवलोकनले हरेक क्षेत्रलाई आकार दिन्थ्यो। ‘लियोनार्डोथेक’ ले केवल दुई वटा ऐतिहासिक एल्बमहरूलाई मात्र जोडेको छैन, यसले बौद्धिक जीवनको एउटा त्यस्तो मोडेललाई पुनर्जीवित गरेको छ जुन आधुनिक समाजले बिर्सँदै गएको थियो।
यसका साथै, यस प्लेटफर्मलाई कुनै पनि शुल्क वा विशिष्ट संस्थागत परिचयपत्र बिना सर्वसाधारणका लागि खुला डिजिटल स्रोतको रूपमा प्रस्तुत गरिनुले सांस्कृतिक सम्पदा जनताको हुनुपर्छ भन्ने आधुनिक लोकतान्त्रिक मान्यतालाई समेत थप बल पुर्याएको छ।
‘लियोनार्डोथेक’ को निर्माण केवल एक डिजिटल अभिलेखीकरण वा स्क्यानिङको काम मात्र होइनस यो १७औँ शताब्दीमा भएको ऐतिहासिक गल्तीलाई सच्याउने एक बौद्धिक र प्राविधिक साहसिक कदम हो। यसले लियोनार्डो दा भिन्चीको मष्तिस्क र सोचाइको वास्तविक स्वरूपलाई संसारसामु पुनस्र्थापित गरिदिएको छ।
विगत चार सय वर्षभन्दा बढी समयदेखि विभिन्न देश र संस्थाहरूको घेराभित्र सीमित रहेका पानाहरू आज बिना कुनै बाधा जो कोही साधारण पाठक, शोधार्थी तथा जिज्ञासुहरूको पहुँचमा पुग्नुले यो प्रमाणित गर्छ कि लियोनार्डोका सिर्जनाहरू कुनै खास वर्ग वा संस्थाका लागि मात्र नभई सम्पूर्ण मानव जातिको साझा बौद्धिक सम्पदा हुन्।
एकीकृत नेपाल
