कला
काठमाडौं, भाद्र २५ ।
ललिपुरको सातदोबाटोस्थित जेन्जी स्मृति पार्कमा निर्मित ४५ जना सहिदहरुको शालिकको अनुहार वास्तविक रुपसँग नमिल्दा अनावरण कार्यक्रमको अन्तिम समयमा स्थगित भयो । यो घटनाले सार्वजनिक स्मारक निर्माणमा हुने सरकारी लापरबाहीलाई मात्रै उजागर गरेको छैन ।
बरु नेपालको सार्वजनिक मूर्तिकला, समाजको कलाप्रतिको चेतना, सरकारको कलाको प्राविधिक पक्षहरुको बुझाइ, आममानिसको सौन्दर्यशास्त्रप्रति स्खलित चेतस्तर, भ्रष्ट सरकारी संयन्त्र र सहिदहरु प्रतिको अपमान एकै चोटी उदाङ्गो भएको छ ।
ऐतिहासिक आन्दोलनको संवेग बोकेको जेन्जी सहिदहरुको कलाकृतिमा किन यस्तो गम्भीर त्रुटि भयो भन्ने विषयलाई कलाकै आँखाबाट विश्लेषण गर्नु आवश्यक छ । कला जानकारहरुका अनुसार, कुनै पनि व्यक्तिको सजीब मूर्तिलाई ढुङ्गा, माटो, धातु वा काठमा चित्रण गर्नु मूर्तिकलाको सबैभन्दा कठिन कार्य हो ।
सातदोबाटोको जेन्जी पार्कमा राखिएका मूर्तिहरुमा अनुहार मात्रै नभएर यसको त्रिआयमिक अनुपात र शारीरिक बनावटको उचित तालमेल मिलेको देखिँदैन । यसरी हेर्दा नीति निर्माणमा रजगज गर्ने र नेपाली समाजले मूर्तिकला विषयलाई नक्कल गर्ने सामान्य विषयको रुपमा लिएको देखिन्छ ।
जेन्जी सहिदहरुको मूर्तिलाई हतार हतारमा सिर्जना गरेको पनि देखिन्छ । त्यसैले कलाकारमा पनि व्यावसायिकताको अभाव र कला प्रतिको धर्मलाई पैसासँग मोलमालाइ गरेको पनि देखिन्छ ।
नत्रभने ४५ जनाको मूर्ति बनाउने भन्ने कार्य त्यति छोटो समयमा कठिन कार्य हो । यसको लागि त्यति समय त अध्ययन अनुसन्धानको लागि मात्रै ठिक्क रहेको कला जानकारहरु भन्छन् । त्यसैगरी, मूर्तिकला बनाउने कार्यमा कम बजेट, समयसीमा, राजनीतिक दबाव, सिकारु कलाकार, आदि धेरै पक्षहरु रहने गर्दछ ।
एउटा जीवन्त पोट्रेट मूर्ति तयार गर्न वर्षौको एकाग्रता आवश्यक पर्ने कलाविद्हरु बताउँछन् । फरक फरक जेन्जीहरुको ४५ पोट्रेट मूर्तिहरु एकैपटक हतारमा बनाउँदा कलामा हुनुपर्ने मिहिन फिनिसिङ, संवेगात्मक गहिराइ र कलाको सजीवता हराउनु कुनै नौलो कुरा होइन् ।
नेपाल सरकारकै मूर्तिकलासम्बन्धि सम्बन्धित निकायहरु, कलाविद्हरु, कलासमीक्षकहरु र कलाकारहरुसँग सवन्वय गर्न नसक्नु र व्यावसायिक नभएका सस्तो र सिकारु मूर्तिकारहरुलाई जिम्मा लगाउँदा यो भन्दा गतिलो मूर्ति बन्छ भनेर अपेक्षा राख्नु व्यर्थ हो ।
सहिदहरुको स्मारक केवल ढुङ्गा, माटो, धातु, वा काठको थुप्रो मात्रै होइन, यो एउटा युगको इतिहास, समाज परिवर्तनको समयरेखा, मातृभूमिको आँसुको ऐना पो हो ।
जबसम्म मूर्तिकारले सहिदको बलिदान, समाजको गहिरो आत्मबोध र परिवारको पीडालाई आफ्नो आत्माभित्र अनुभूत गर्दैन, तबसम्म ढुङ्गा वा माटोमा जीवन्तता आउँदैन । तसर्थ, स्मारक कलालाई वस्तुमात्र ठान्दा जेन्जी पार्कका सहिद मूर्तिहरु ढुङ्गाका थुप्रो बनेको छ ।
एकीकृत नेपाल
