युवा कलाकार सीता मल्ल
काठमाडौं, असोज १४ ।
नेपाली समसामयिक कला परिदृश्यमा महिला कलाकारहरुको उपस्थिति र उनीहरुले उठाउने विषयवस्तुहरुले समाजको गहिरो यथार्थलाई चित्रण गर्दै आएका छन् ।
यसै सन्दर्भमा, सिर्जना कलेज अफ फाइन आर्टस् बाट भर्खरै चित्रकला विषयमा स्नातक गरेकी युवा प्रतिभावान् कलाकार सीता मल्लद्वारा सिर्जना र चित्र नेपाल, लाजिम्पाटमा आयोजित एकल चित्रकला प्रदर्शनी “अ लाइफ सी क्यारिज” नेपाली श्रमजीवी महिला, मातृत्व र उनीहरुको दैनिक संघर्षको जीवन्त र कारुणिक दृश्यलाई क्यानभास र पातको टपरीमा एक्रेलिक मार्करमार्फन नयाँ शैलीलाई प्रयोग गरेकी छिन् ।
सन् २०२६ सेप्टेम्बर २३ देखि अक्टोबर ७ सम्म चल्ने यस प्रदर्शनीले स्पेस ए योङ्ग आर्टिस्ट फेलोसिप २०२६ अन्तर्गत स्थान पाएको हो ।
कलाकार मल्लको यो कलाकृतिको प्रदर्शनी केवल रङ र क्यानभासको संयोजन मात्र होइन, यो नेपाली समाजको सामाजिक–आर्थिक बनोट, लैङ्गिक भूमिका, र जीवन बाँच्ने क्रममा महिलाहरुले शारीरिक र मानसिक रुपमा बोकिरहने दृश्य–अदृश्य भारीहरुको गहिरो दृश्य–आख्यान प्रस्तुत गरेकी छिन् ।

मल्लको पहिलो एकल चित्रकला प्रदर्शनीमार्फत भुइँतहका महिलाहरुको दैनिक संघर्ष, एकाकीपन, आशा, सपना र अदम्य साहसलाई कलामार्फत उजागर गरेकी छिन् ।उनको कलाकृतिको सबैभन्दा सबल र विशिष्ट पक्ष भनेको चित्रकलामा नवीन प्राविधिक शैली र माध्यमको प्रयोग हो । परम्परागत सम्मिश्रितको साटो ह्याचिङ् र क्रस ह्याचिङ् जस्तो देखिने अनगिन्ति मसिना रङ्गिन रेखाहरुको प्रयोग गरेकी छिन् ।
एक प्रकारले यो एउटा जटिल वीभीङ् वा कपडामा रङ्गिन धागो बुनेको जस्तो देखिन्छ । एकमाथि अर्को खप्टिएका यी रेखाहरुले क्यानभासमा असाधारण टेक्सचर र गहिराइ पैदा गरेका छन्, जसले ती पात्रहरुको जीवनको जटिलता र अनगिन्ती उतारचढावलाई सङ्केत गर्दछ ।
लगभग एक महिनाभित्र सिर्जना गरिएका सम्पूर्ण कलाकृतिहरुमा एक्रेलिक मार्कर र मिक्स मिडियाको कुशल प्रयोग गरिएको छ ।
केही कृतिहरु कागज र केही चित्रकला परम्परागत सालको पातको टपरी (दुना–टपरी) भित्र सिर्जना गरिएका छन् । जसले कलाकारको मौलिक, रैथाने र वर्गीय कला चेतलाई स्पष्ट गरेको छ । यो माध्यमको बारेमा जिज्ञासा राख्दा मल्लले प्रायः दुना टपरी भन्ने बित्तिकै महिलाहरुको सीप र कार्यलाई बुझिन्छ, त्यसैलाई आफ्नो कलामा प्रस्तुत गरेकी हुन् रे ।

मल्लको रङ चयन विरोधाभासपूर्ण तर सन्तुलित छ । उनले एउटै क्यानभासमा चम्किलो हरियो, नीलो, गुलाबी र पहेँलो रङसँगै पृष्ठभूमिमा अँध्यारो वा गम्भीर खैरो र कालो रङहरुको सम्मिश्रण गरेकी छिन् । यी रङहरुले श्रमजीवी महिलाको जीवनमा विद्यमान दुःख र अभावका बीचमा लुकेको झिनो आशा, उत्सव र जीवन्ततालाई प्रतिबिम्बित गरेको छ ।
मल्लका कलाकृतिहरुमा उपभोक्तावादी समाजको चित्रण गर्नको लागि पसलको अगाडि कपडा र झोला नियालिरहेका आमासँग बालक, सडक किनारमा तरकारी र फलफूल बिक्रेता महिलाको संघर्ष, जीविकोपार्जनका लागि बत्ती बेच्न मन्दिर पेटीमा बसेकी महिला, दुना–टपरी गाँसेर सीप र सिर्जनाले थाकेका नारी हातहरु, जस्ता दृश्यहरुले दर्शकलाई तान्ने ताकत राख्दछ ।
नारीवादी चित्रकला हो ? भन्ने जिज्ञासामा मल्ल प्रतिप्रश्न गर्छिन्, महिलाहरुको बारेमा चित्र बनाउँदैमा नारीवादी कला हुन्छ र ? नेपाली समाजमा नारी भनेको घरायसी काममा बढी केन्द्रीत हुन्थ्यो तर आजभोलि नारीहरुले बच्चाहरुको स्याहारसुसार गर्ने, पालनपोषण गर्ने, हुर्काउने जस्ता घरायसी एवम् पसल, व्यापार, जस्ता घरबाहिरको दुबै काम सम्हाल्नु पर्ने बाध्यतालाई मिहीन ढङ्गले अवलोकन गरी विषयवस्तु छनौट गरेको पनि बताइन् ।

कलाकार सीता मल्लका यी कलाकृतिहरु कलाको सिद्धान्तमा मात्र सीमित राखेकी छैनन्, बरु सामाजिक र लैङ्गिक बहस सिर्जना गरेकी छिन् । चित्रहरुमा पुरुष पात्रहरुको उपस्थिति न्यून छ वा भए पनि उपभोक्ता वा द्रष्टाका रुपमा मात्र रहेको छ । मुख्य पात्रहरु महिला नै छन्, तरकारी बेच्ने, बत्ती बेच्ने, पसल चलाउने, बच्चा बोक्ने, आदि ।
यसले नेपाली समाजको आर्थिक मन्दी, पुरुष वैदेशिक रोजगारमा जाँदा घर र सडक दुवै सम्हाल्न आइपुगेका एकल महिलाहरुको संघर्षको वास्तविकतालाइ प्रतिनिधित्व गर्दछ । टपरीमा कोरिएको कलाकृतिले महिलाहरुको त्यो श्रमलाई बहसको केन्द्रमा ल्याउँछ, जसको कुनै मौद्रिक मूल्याङन् हुँदैन । महँगो बजार र सस्तो मानव जीवन भएको सहरमा महिलाले आफू र आफ्नो परिवार कसरी धानिरहेको छ भन्ने कुरालाई चित्रहरु मार्फत प्रकाश पारेकी छिन् ।

नेपाली कला क्षेत्रमा नयाँ माध्यम र शैलीको प्रयोगहरु भइरहेको बेला, सीता मल्लको अ लाइफ सी क्यारिज प्रदर्शनी एक कोशेढुङ्गाको रुपमा रहने छ । उनले प्रयोग गरेको रेखीय बुट्टा र टपरी जस्ता स्थानीय माध्यमको प्रयोगले नेपाली समसामयिक कलामा नयाँ आयम थपेको छ ।
उनका कलाकृतिहरुले दर्शकलाई केवल सौन्दर्यात्मक आनन्द मात्र दिँदैन, बल्कि समाजको त्यो तहतप्का प्रति गम्भीर र संवेदनशील बन्न बाध्य बनाउने शक्ति चित्रकलामा रहेको छ । उनका चित्रहरु नेपाली नारीत्व, श्रम र अस्तित्वको एउटा बलियो र जीवन्त दस्तावेज हो, जसले भविष्यमााा पनि नेपाली कला इतिहासमा आफ्नो विशिष्ट स्थान सुरक्षित गर्नेछ ।
एकीकृत नेपाल
