काठमाडौं, कार्तिक १७ ।
विशेष अदालतमा हदबन्दी छुट पाएको जग्गा बिक्री वितरण गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पछि मुद्दा दायर गरेको हो। पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध यसअघि पनि पतञ्जली आयुर्वेदिक कम्पनीलाई हदबन्दी छुट दिएर जग्गा घोटाला गरेको आरोपमा दायर मुद्दा विचाराधीन नै छ ।
अदालतको प्रशासन शाखाले जारी गरेको मुद्दा दर्ता भएको सूचनाअनुसार उक्त मुद्दा नम्बर ०८३-CR-००६३ मा कायम भएको हो। हदबन्दी छुट पाएको जग्गा बिक्री वितरण गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ।
प्रतिवादीमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल, तत्कालीन संघीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री एवं मन्त्रिपरिषद् सामाजिक समितिका तत्कालीन संयोजक डा. मिनेन्द्र रिजाल, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्वर्गीय डम्बर श्रेष्ठ र तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेसमेत रहेका छन्।
अभियोगपत्रमा रु. ७३,४९,५६,००० (त्रिहत्तर करोड उनान्चास लाख छपन्न हजार) बिगो दाबी गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ र सोको पहिलो संशोधनको दफा ३ को उपदफा १ बमोजिम कैद र जरिवाना तथा सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर गर्न मागदाबी गरिएको छ।
साथै, रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि. को नाममा रहेको सुनसरी र मोरङ जिल्लाको ५९ बिगाहा ९ कठ्ठा १२ धुर जग्गा जफत गर्न माग गरिएको छ।
अदालतले मुद्दाको सुनुवाइ गर्न बाँकी छ।

