काठमाडौँ २१ कात्तिक : तिहार पर्व अन्तरगत आज काग तिहार पर्वका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- १ गागलस्थित कागेश्वरी मन्दिर परिसरमा रहेको कागको प्रतिमा पूजाअर्चना तथा माला लगाएर काग तिहार पर्व मनाउँदै रहेका सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस
काठमाडौं, कात्तिक २१:
हिन्दू धर्मावलम्बीहरूले आज बिहान कागलाई मीठा–मीठा खानेकुरा अर्पण गर्दै काग तिहार मनाइरहेका छन्। यमपञ्चक अर्थात् तिहारको पाँचदिने पर्वअन्तर्गत पर्ने काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ।
धार्मिक मान्यताअनुसार कागलाई मृत्यु र न्यायका देवता यमराजको दूत मानिन्छ। कागलाई भोजन अर्पण गर्दा शुभ हुने र अनिष्टबाट जोगिने विश्वासका साथ आज बिहान घर–घरमा कागका लागि खानेकुरा राख्ने गरिन्छ।
त्रयोदशी तिथिको बिहान मनाइने काग तिहार यमपञ्चकको एक महत्त्वपूर्ण पर्व हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले धार्मिक शास्त्रअनुसार त्रयोदशी तिथिको बिहान काग तिहार मनाउनुपर्ने व्यवस्था रहेकाले आजै यो पर्व मनाउने निर्णय गरिएको जानकारी दिनुभयो।
यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा भइरहेको छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गर्ने परम्परा रहेको छ।
तिहार पर्व यमराजसँग जोडिएको धार्मिक विश्वासमा आधारित छ। असल कर्म गर्नेहरूलाई यमराजले धर्मराजका रूपमा रक्षा गर्ने र गलत कर्म गर्नेहरूलाई दण्ड दिने मान्यताले यस पर्वको धार्मिक महत्त्वलाई थप उजागर गरेको छ।
