रतन भण्डारी

खरिदार बाजे अर्थात् इतिहास शिरोमणि बाबुराम आचार्य । इतिहास शिरोमणि बाबुराम आचार्यको जन्म वि.सं. १९४४ फागुन २९ गते काठमाडौंको गौचरमा भएको थियो।
उहाँका पिताको नाम धर्मदत्त र माताको नाम शिवकुमारी हो। ज्योतिष र व्याकरणमा सम्पूर्ण मध्यमा उत्तीर्ण गर्नुभएका आचार्य पछि इतिहासको शोध, खोज र अनुसन्धानमा लाग्नुभयो। उहाँको धेरैजसो समय इतिहास अन्वेषण र लेखनमै बित्यो।
वि.सं. १९६३ मा ‘सुन्दरी’ पत्रिकामा छापिएको ‘मानिनी विलास’ उहाँको पहिलो प्रकाशित लेख थियो।
उहाँका ‘नेपाल–तिब्बत–चीन सम्बन्ध’, ‘नेपालको संक्षिप्त वृत्तान्त’, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’, ‘नेपालको सांस्कृतिक परम्परा’, ‘अब यस्तो कहिल्यै नहोस्’, ‘चीन–तिब्बत र नेपाल’, ‘श्री ५ प्रतापसिंह शाह’, ‘प्राचीनकालको नेपाल’, ‘जनरल भीमसेन थापा’, ‘यिनलाई मैले जस्तो देखेँ’, ‘जनरल भीमसेन थापा : यिनको उत्थान तथा पतन’ लगायतका कृतिहरू प्रकाशित छन्।
बाबुराम आचार्यले राणाकालमा बझाङका राजा जयपृथ्वीबहादुर सिंहसँग समेत संगत गर्नुभएको थियो। इतिहासकारहरूले बाबुराम आचार्य जयपृथ्वीबहादुर सिंहसँगै बझाङसमेत जानुभएको थियो भनेर उल्लेख गरेका छन्।
संसारको सबैभन्दा अग्लो शिखरलाई अंग्रेजहरूले माउन्ट एभरेस्ट भनेर चिनाएका बेला, त्यसको नेपाली नाम ‘सगरमाथा’ खोजेर प्रचलनमा ल्याउन उहाँको ठूलो योगदान छ।
जीवनको पछिल्लो चरणमा नेत्रज्योति गुमाउँदै जानुभएका आचार्यलाई वि.सं. १९९८ तिर आँखा नदेख्ने भन्दै खरिदारको जागिरबाट हटाइएको थियो। तर पनि उहाँले इतिहासको साधना छोड्नुभएन। २००७ सालको राजनीतिक परिवर्तनपछि वि.सं. २००८ मा उहाँलाई ‘इतिहास शिरोमणि’ को पदवी दिइएको थियो।उहाँको वि.सं. २०२९ भदौ २२ गते निधन भएको थियो।
लेखक इतिहास, जलस्रोत एवं नेपालको सीमाना विषयका अध्येता ज्ञाता हुनुहुन्छ ।
