देउसिरे

रामकुमार राई
काठमाडौं, कात्तिक २१ ।
नेपाली संस्कृतिको विशाल फाँटमा तिहार केवल उज्यालो र रङ्हरुको पर्व मात्र होइन । यो त नेपाली लोकजीवनका अमूर्त कला, सङ्गीत र नृत्यको गौरवमय पुनर्जागरण पनि हो ।
शरद ऋतुको शितलतामा नेपाली आकाशमा झिलिमिली बत्ती, मखमली, गोदावरी र सयपत्री फूलहरुको मगमगाउने सुगन्ध, अनि सेलरोटीको सुवाससँगै गाउँघरका बस्तीहरु, डाँडाकाँडा, कुनाकाप्चा एवम् सहरका चोक गल्लीहरुमा एउटा विशिष्ट लोकधुन गुञ्जयमान बनाउँछ ।
त्यो धुन हो – देउसी रे ।
सामूहिक स्वरमा गुञ्जने ए…भनभन भाइ हो – देउसिरे ! को त्यो सुमधुर झङ्कारले नेपाली मानसपटलमा एउटा अलौकिक ऊर्जा र आत्मिक आनन्दको सञ्चार गराउँछ ।
देउसी नेपाली लोकसंस्कृतिका पुराना र मौलिक धरोहर हुन् । विशेष गरी पुरुषहरुद्वारा सामूहिक रुपमा नाचिने र गाइने देउसी नाच केवल एक परम्परागत मनोरञ्जन मात्र होइन, बरु यसले नेपालको प्राच्य दर्शन, ऐतिहासिक किंवदन्ती, सामाजिक एकता र आर्थिक विनिमयको एउटा सिङ्गो युगलाई प्रतिनिधित्व गर्दछ ।
देउसी परम्पराको सुरुवात सम्बन्धि मुख्यतः पौराणिक कालका दानवीर बलिराजका दुई कथाहरु र पश्चिम नेपालको मध्यकालमा खस वा सिंजाराज्यको अन्तिमतिर अभय मल्ल कमजोर बनेपछि कालैगाउँका कल्याणवंशी वलिराज रावलले जुम्लामा खसराज्यमा अलग गरी छुट्टै राज्य बनाएका थिए । यी बलिराज रावलसँग पनि देउसी परम्परालाई जोड्ने गरिन्छ ।
देउसी नाचको उत्पत्ति र यसको गायनको अन्तर्यलाई नियाल्दा यसको सम्बन्ध सोझै पौराणिक कालका महादानी राजा बलिसँग जोडिएको पाइन्छ ।
श्रीमद्भागवत महापुराण र अन्य हिन्दू धर्मग्रन्थहरुका अनुसार, सत्ययुगमा विरोचनका पुत्र राजा बलि अत्यन्तै शक्तिशाली, न्यायप्रिय र दानवीर थिए ।
उनको बढ्दो प्रभाव र स्वर्गमाथिको आधिपत्यबाट त्रसित भएका देवताहरुले आफ्नो सत्ता रक्षाका भगवान विष्णुलाई गुहारे । भगवान विष्णुले वामनको रुप धारण गरी बलिको यज्ञशालामा दान माग्न पुगे ।
त्यहाँ भगवान विष्णुले कपटपूर्ण चाल चाल्दै वामनको रुप लिई राजा बलिसँग मात्र तीन पाउ राख्ने जमिन दानको रुपमा मागे ।
आफ्ना गुरु शुक्राचार्यको सचेत गराउँदा गराउँदै सत्यवादी राजा बलिले वामनको माग अनुसारको दान दिन स्वीकार गरे ।
तत्पश्चात वामनले आफ्नो विराट रुप धारण गरी एक पाउले सम्पूर्ण पृथ्वी र अर्को पाउले आकाश एवं पाताल ढाकिदिए । तेस्रो पाउ राख्ने ठाउँ कतै नपुगेपछि राजा बलिले आफ्नो वचनको पालना गर्दै विनम्रतापूर्वक आफ्नो शिर थापिदिए ।
बलिको यस्तो अभूतपूर्व दानी, निष्ठा र आत्मसमर्पणबाट भावविह्वल भई भगवान विष्णुले उनलाई पाताल लोकको अधिपति बनाए र वरदान दिए ।
हे दानवीर बलि ! तिमीले आफ्नो सर्वस्व र शिरसमेत दान दिएका हुनाले आजदेखि हरेक वर्ष कात्तिक महिनाको यसै अवधिमा तिम्रो पूजा, सम्मान र उत्सव हुनेछ ।
यही पौराणिक वरदान स्वरुप पृथ्वीलोकको बलिराजाको स्मरण गर्दै र उनको उत्सवलाई निरन्तर दिने क्रममा नै देउसी र भैलो खेल्ने परम्पराको प्रादुर्भाव भएको मानिन्छ ।
राजा बलिसँगको अर्को आख्यान पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय छ ।
यस किंवदन्ती अनुसार, राजा बलिले एक पटक विशाल अश्वमेध यज्ञ गर्न आँटेका थिए । तर, राज्यको ढुकुटी र आन्तरिक सम्पत्तिले मात्र त्यो महायज्ञ सम्पन्न गर्न नपुग्ने स्थिति सिर्जना भयो ।
यस विषय परिस्थितिबाट पार पाउन राजा बलिले आफ्ना दरबार र राज्यका कुशल सङ्गीतकार, नर्तक र कलाकर्म गरिरहेका गन्धर्व तथा किन्नरहरुलाई दरबारमा बोलाए ।
उनीहरुलाई देशदेशावरका विभिन्न राज्य र समाजमा गई साङ्गीतिक कार्यक्रम गरेर तथा नाचगान गरेर राज्यले सम्पन्न गर्न लागेको अश्वमेध महायज्ञका लागि धनधान्य संवृत्ति, अनुदान र सहयोग जुटाउने जिम्मेवारी दिए ।
बलिराजाको आज्ञा शिरोधार्य गरी गन्धर्व र किन्नरहरुले कोमल, सुमधुर र मर्मस्पर्शी शब्दावलीमा गीत गाउँदै, लयबद्ध रुपमा नाच्दै गाउँ बस्तीका घर घरबाट अन्न, द्रव्य र धनधान्य सङ्कल गरे ।
यसरी कलाको माध्यमबाट उठेको ठूलो धनराशीबाट बलिराजाले आफ्नो अश्वमेध महायज्ञ सफलतापूर्वक सम्पन्न गरे । त्यसै यज्ञमा बलिराजाले आफ्नो राज्य र शरीरसमेत दान गरिदिए, त्यसैले भगवान विष्णुले उनलाई कात्तिक कृष्ण त्रयोदशी देखि कात्तिक शुक्ल प्रतिपदा सम्म पाँच दिन बलिराजाको सम्मानमा उत्सव मनाउने वरदान दिएको अनुश्रुति रहेको छ ।
नेपालमा यही लोकविश्वासका आधारमा बलिराजाको नाम लिँदै घरघरमा देउसी गीत गाउने र नाच्ने संस्कृति जीवन्त रहँदै आएको छ ।
