तिहार र देउसी
रामकुमार राई
काठमाडौं, कात्तिक २३ ।
देउरी नाचको प्रस्तुति आफैँमा एउटा ठूलो नाटकीय र सांस्कृतिक कला हो । कात्तिक शुक्ल प्रतिपदा तथा भाइटीकाका दिनमा विशेष गरी पुरुषहरुद्वारा गरिने सामूहिक नृत्य र गायन नै देउसीको मुख्य परम्परा हो ।
नारीहरुले औँसीको रात गाउने भैलो र पुरुषहरुले गाउने देउसीको गायन शैली र प्रस्तुतिमा केही भिन्नता भए तापनि दुवैको मूल भाव लोककल्याण र मनोरञ्जन नै हो ।
देउसी खेल्दा प्रदर्शन गरिने संरचना अत्यन्तै व्यवस्थित हुन्छ । घरको आँगनमा देउसेहरु गोलाकार घेरा बनाएर उभिन्छन् र लयबद्ध रुपमा घुम्दै खेल्छन् ।
यो गालोकार घेराले सामाजिक सामूहिकता र समानताको सन्देश दिन्छ । यस समूहको बीचमा एकजना मुख्य गायक भट्याउने हुन्छ ।उनीहरुसँग गीतको प्रकृतिको आधारमा अन्य कुशल नर्तकहरु पनि बीचमा रहेर नृत्य प्रस्तुत गर्दछ ।
देउसीको सबैभन्दा आकर्षक पक्ष भनेकै यसको भट्याउने शैली हो । मुख्य गायकले संवेगात्मक, काव्यात्मक र घटनावलीहरुले भरिएका टुक्काहरु मिलाएर कथा वा प्रसङ्गहरु एक्लै भट्याउँछ र प्रत्येक हरफको अन्त्यमा समूहका अन्य साथीहरुले एकै स्वरमा देउसिरे भन्दै त्यसको अन्तरालाई छोप्ने वा साथ दिने गर्दछन् । यो कल एन्ड रेस्पोन्सको शैलीले गायनमा अद्भूत ऊर्जा र माधुर्य पैदा गर्दछ ।
देउसी गीत र नाच आकस्मिक रुपमा प्रस्तुत हुँदैनन् । निश्चित विधि अनुसार देउसी नाच र गायनमा भैलीमा जस्तै मुख्य रुपमा तीनवटा सुस्पष्ट चरणहरु हुन्छन् ।
प्रथम चरण –
यो देउसीको सुरुवात हो, जहाँ देउसे समूह कुनै घरको आँगनमा पुगरे आफू आएको जानकारी दिन्छन् । यस चरणमा घरबेटीलाई आदरपूर्वक सम्बोधन गर्दै सुतिरहेको भए जगाउने र घरको मूल ढोका खोली आँगनमा स्वागत गर्न आग्रह गरिन्छ ।
हे… भनभन भाइ हो – देउसिरे !
हे… भनभन भाइ हो – देउसिरे !
हे…राम्ररी भन – देउसिरे !
हे…आएका हामी – देउसिरे !
हे…देउसी रे खेल्न – देउसिरे !
हे…यो घरमा को छ – देउसिरे !
हे… घरबेटी बाबा – देउसिरे !
हे… घरलक्ष्मी आमा – देउसिरे !
हे… तगारी खोल – देउसिरे !
हे… मूलै र ढोका खोल– देउसिरे !
दोस्रो चरण –
यस चरणमा देउसेहरुले आफुहरु कति टाढाबाट, कस्ता कठिन अप्ठ्यारो बाटोहरु पार गरेर आएको कुरा वर्णन गर्छन् ।
उनीहरुले आफूहरु सधैँ आउने मगन्ते जस्तो नभई बलिराजाका दूत भएकोले सोही अनुरुप दान दिन आग्रह गर्छन् । उनीहरु भन्दछन्, हामी त्यसै आएको होइनौँ, हामी त बलिराजाको हुकुम र आज्ञा पालना गर्न आएका हौँ ।
हे…हामी त्यसै –देउसिरे !
हे…आएका होइनौँ –देउसिरे !
हे…बलि राजाले –देउसिरे !
हे…पठाएका –देउसिरे !
हे…यसै घरको –देउसिरे !
हे…नाम सुवास सुनी –देउसिरे !
हे…इज्जतै सम्झी –देउसिरे !
हे…मानै र राख्न –देउसिरे !
यस चरणमा घरबेटीले आफ्नो क्षमता अनुसार नाङ्गोमा चामल, सेलरोटी, फलफूल र द्रव्य राखेर देउसेहरुलाई अर्पण गर्छन्, जसलाई दान थाप्ने भनिन्छ ।
तेस्रो चरण –
देउसीको सबैभन्दा सुन्दर, आध्यात्मिक र सामाजिक रुपमा हितकारी पाटो भनेकै आशिष दिने पक्ष हो । घरबेटीबाट दान प्राप्त गरिसकेपछि देउसीहरुले सो घरको उन्नति, आर्थिक समृद्धि, स्वास्थ्य र वंशवृद्धिको कामना गर्दै ठूलो स्वरमा काव्यात्मक आशिर्वाद दिन्छन् । देउसेले दिएको आशिक पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।
यो घरका घरबेटीलाई के आशिष दिऊँ, सय वर्ष बाच्नु, दुबो जस्तै मौलाउनु, असल कीर्ति राख्नु, अन्नले भकारी भरियोस, धनले थैली भरियोस्, अर्को साल हामी आउँदा यो घर महल बनोस्, हे भनभन भाइ हो ।
यो आशिष केवल संकुचित आशीर्वाद मात्र होइन, यसले समाजमा सकारात्मक ऊर्जा र एकापसमा पारस्परिक सद्भावको सञ्चार गराउँछ ।
यस्ता विधिविधान अनुसार मनाइने देउसी आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै नेपालका गाउँघरमा विस्तारै हराउँदै जान थालेका छन् । पुस्तौँदेखि चल्दै आएको पराम्परागत संस्कार, विधि र स्थानीय सामग्रीको प्रयोग घट्दै जाँदा हाम्रो चाडपर्वको मौलिकता कमजोर बन्दै गएको छ ।
संस्कृतिविद्हरुका अनुसार तिहारका मौलिक परम्परा केवल चाडपर्व मनाउने विधि मात्रै नभई नेपाली समाजको सांस्कृतिक पहिचान र पुस्तौँदेखिको अनुभावात्मक रैथाने ज्ञानसँग जोडिएको हुन्छन् । नयाँ पुस्ताले पुराना परम्पराको महत्व बुझेर त्यसालाई निरन्तरता दिनुपर्ने उनीहरुको भनाइ छ ।
पहिले गाउँघरमा तिहार मनाउँदा स्थानीय स्तरमा उपलब्ध स्रोत सामाग्रीहरुको प्रयोग गरी चाडपर्व मनाउने गरिन्थ्यो । विशेषगरी दीपावलीमा केराको दाम्चामा बत्ती बाल्ने चलनर रहेका थियो । दसैँ र तिहारको लागि कमेरो माटो, रातो माटो र कोइला वा रुखको बोक्राबाट रङ बनाएर घरलाई सिँगारपटार गरिन्थ्यो ।
टोल मिलेर बाटोघाटो, पुलपुलेसा र पानी पधेँरो सरसफाइ गरिन्थ्यो । चौरहरुमा लिङ्गे, चर्के, जस्ता परम्परागत पिङ्हरु हालेर चचहुई गर्दै सामूहिक रुपमा पिङ् खेलिन्थ्यो । यस्ता परम्परागत मनोरञ्जन र ज्ञानहरुको मौलिकता लोप भइसकेको छ ।
गाउँघरतिर तिहारका अवसरमा सामूहिक रुपमा देउसी भैलो खेल्ने, स्थानीय भाकाको गीतहरु गाउने र स्थानीय परम्परागत सामग्रीहरुको प्रयोग गर्ने चलन बढी रहेकामा त्यो पनि हराउँदै गएको अनुभव हुन्छ । यस्ता गतिविधिले गाउँमा आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको थियो । अहिले आधुनिक मनोरञ्जनका साधनको प्रयोग तथा बदलिँदो जीवनशैलीका कारण परम्परागत सीप र अभ्यासहरुमा कमी आएको छ ।
तिहार भन्ने वित्तिकै पिङ् थाप्ने, घर आँगन सफा गर्ने, दीप प्रज्ज्वलन गर्ने, देउसी भैलो खेल्ने, काग, कुकुर, गाई, गोरुको पूजा गर्ने र भाइटीका लगाउने मुख्य क्रियाकलाप भए पनि वर्षै पिच्छे नाचिने मारुनी र सोरठी नाट्यनृत्यको रौनक विशेष हुन्थ्यो । रानी मारुनीको गुञ्जयमान ताल सुनेर वल्लोपल्लो गाउँका दर्शकहरु भेला हुने मौलिक परम्परा देख्न नपाएको वर्षौँ भएको छ ।
आधुनिकताको विकाससँगै सहजता र सुविधा बढ्नु सकातात्मक भए पनि मौलिक संस्कृति र परम्परा हराउनु आफैंमा चिन्ताजनक विषय हो ।
