भाइटीका
रामकुमार राई
ज्योतिषीय मान्यता अनुसार, ब्रह्माण्डका नवग्रह र तिनका किरणहरूका आआफ्नै विशिष्ट रङहरू हुन्छन्। निधारमा लगाइने यो सप्तरङ्गी टीकाले दाजुभाइलाई विभिन्न ग्रहजन्य नकारात्मक प्रभावबाट त्राण दिलाउँदै सकारात्मक ऊर्जा र तेज प्रदान गर्ने विश्वास गरिन्छ।
सँघारमा ओखर फुटाउँदा दिदीबहिनीहरूले शत्रुहरूको दुराशय चूर्ण होस् र दाजुभाइले चालेका हरेक कदममा सफलता मिलोस् भन्ने कामना गर्छन्।
काठमाडाै, कात्तिक २४ ।
पौराणिक मान्यताका अनुसार, सृष्टिको नियम र विधान चलाउने मृत्युका अधिपति यमराज आफ्नी स्नेही बहिनी यमुनाको निमन्त्रणा स्वीकार गर्दै कात्तिक शुक्ल द्वितीयाका दिन उनको दैलोमा पुग्नुभएको थियो।
बहिनीले आत्मीयता प्रकट गर्दै दाजुको दीर्घायु, आरोग्य एवं अटल समृद्धिको कामनाका साथ विशेष विधिपूर्वक पूजाआजा गरी निधारमा टीका सुशोभित गरिदिएकी थिइन्। यही स्वर्णिम पौराणिक पृष्ठभूमिको आलोकमा आजपर्यन्त चेली र माइतीबीच आत्मीय सामीप्य साट्ने महान पर्व ‘भाइटीका’ को परम्परा जीवन्त रहिआएको छ।
यस पवित्र पर्वका दिन दिदीबहिनीहरू आफ्ना दाजुभाइको निधारमा रातो, सेतो, पहेँलो, हरियो, नीलो, बैजनी र सुन्तले रङ मिसिएको सप्तरङ्गी टीका प्रदीप्त गरिदिन्छन्।
यो परम्परा केवल रङहरूको लेपन वा टीका मात्र होइन, यसको गर्भमा गहन धार्मिक, आध्यात्मिक र मनोवैज्ञानिक आयामहरू अन्तरसहित रहेका छन्।
ज्योतिषीय मान्यता अनुसार, ब्रह्माण्डका नवग्रह र तिनका किरणहरूका आआफ्नै विशिष्ट रङहरू हुन्छन्। निधारमा लगाइने यो सप्तरङ्गी टीकाले दाजुभाइलाई विभिन्न ग्रहजन्य नकारात्मक प्रभावबाट त्राण दिलाउँदै सकारात्मक ऊर्जा र तेज प्रदान गर्ने विश्वास गरिन्छ।
योग विज्ञानका दृष्टिबाट विचार गर्दा, मानव शरीरमा सातवटा मुख्य ऊर्जा केन्द्र वा चक्रहरू विद्यमान हुन्छन्। यसै शृङ्खलाको मध्यभाग अर्थात् दुई आँखीभौंको बीचमा ‘आज्ञा चक्र’ अवस्थित हुन्छ, जसलाई चेतना र सुझबुझको उद्गम केन्द्र मानिन्छ।
सप्तरङ्गी टीकाले यी ऊर्जा चक्रहरूलाई सन्तुलित र प्रदीप्त तुल्याउँदै जीवनमा दीर्घायु र उच्च चेतनाको विकास गर्न मार्गप्रशस्त गर्दछ।
कला र दर्शनको परिप्रेक्ष्यमा हेर्दा, यी सात रङहरूले मानव जीवनका विविध अनुभूति र रङ्ग–मञ्चलाई प्रतिनिधित्व गर्छन्। सुख, दुःख, उत्साह, शान्ति, ज्ञान, समृद्धि र त्यागजस्ता जीवनका शाश्वत आयामहरूसँग यी रङहरूको साइनो हुन्छ।
दिदीबहिनीहरूले आफ्ना दाजुभाइको जीवन पनि यी इन्द्रेणी रङहरू झैं सुन्दर, सन्तुलित, सुसंमय र परिपूर्ण रहोस् भन्ने मंगलमय कामनाका साथ यो टीका लगाइदिने गर्दछन्।
यससँगै, भाइटीकामा प्रयोग हुने कतिपय पूजासामग्रीहरूको पनि आफ्नै किसिमको गरिमामय धार्मिक तथा प्रतीकात्मक अर्थ छ। यस दिनको विधिमा ओखर, कटुस, तेलको धारा र दुबोको प्रयोगलाई अनिवार्य मानिएको छ।
कठोर आवरणभित्र स्नेहको सागर लुकाएको ओखरलाई यमराज वा जीवनका बाधा–अवरोधहरूको प्रतीकका रूपमा दैलोमा राखेर फुटाइन्छ। सँघारमा ओखर फुटाउँदा दिदीबहिनीहरूले शत्रुहरूको दुराशय चूर्ण होस् र दाजुभाइले चालेका हरेक कदममा सफलता मिलोस् भन्ने कामना गर्छन्। यो क्रिया मानसिक दृढता र विघ्नबाधामाथिको विजयको प्रतीक हो।
त्यस्तै, बाह्य रूपमा कडा खोलले घेरिएको कटुसलाई दाजुभाइको जीवनरक्षा गर्ने ‘सुरक्षा–कवच’ मानिन्छ। जीवनका कुनै पनि मोडमा आइपर्ने सङ्कट र अनिष्टहरूबाट यो आवरणले झैं भगवान्ले सधैं रक्षा गरून् भन्ने प्रार्थना यसमा निहित हुन्छ।
टीका ग्रहण गराउनुपूर्व दाजुभाइलाई राडीपाखीमाथि आसन गराई चारैतिर शुद्ध तेलको धाराले घेरा हालिन्छ। यसले काल वा यमराजको मार्गलाई छेकेर दाजुभाइको दीर्घायुको सुदृढ कामना गर्ने सांस्कृतिक सङ्केत बोकेको छ।
यसैगरी, वैदिक सनातन संस्कृतिमा दुबोलाई अमरत्व र पवित्रताको प्रतीक मानिन्छ। जस्तोसुकै खडेरी वा प्रतिकूल परिस्थितिमा पनि कहिल्यै नसुक्ने, सधैं हरियाली छाइरहने यो वनस्पति झैं दाजुभाइको जीवन पनि अटल, अजेय र सर्वदा पुष्पित भइरहोस् भन्ने पवित्र भावनाले दुबोको पूजा गरिन्छ।
