डा. जगमान गुरुङ

नेपालमण्डलमा पाशुपतक्षेत्रको आर्यघाट पवित्र नदी बागमतीको दाहिने किनारामा हरिणेश्वरको प्राचीन मूर्ति प्रतिष्ठापित छ।यो मूर्तिलाई मृगेश्वरको मूर्ति पनि भनिन्छ।
पशुपतिपुराणमा हरिणेश्वरको शिलातनु अर्थात् प्रस्तर मूर्तिको सन्दर्भमा उल्लेख गरिएको छ। भगवान् शिवले नेपालमण्डलको पाशुपतक्षेत्रमा अवस्थित श्लेषमान्तकवन(लप्सीघारी) मा मृगस्वरूपले विचरण गर्नु भयो। यसरी भगवान् शिवले मृगस्वरूपले विचरण गरेको हुँदा उक्त श्लेषमान्तकवन(लप्सीघारी) को मृगस्थली नामकरण भयो।
कालान्तरमा भगवान् शिवको उक्त मृगस्वरूप शिलातनु शिलाको शरीरको आकारमा परिणत भयो। बागमतीको किनाराको बालुवा खोस्रे पछि भगवान् शिवको मृगस्वरूपको शिलातनु शिलाको मूर्ति प्रकट भयो र भक्त किरातहरुले संपूज्यते- राम्ररी भगवान् शिवको त्यस शिलातनुको पूजा गरे।
यस मूर्तिमा मृगको पूर्ण अङ्ग प्रत्यङ्ग अंकित गरिएको छैन। केवल शरीरको रेखाङ्कन मात्र गरिएको छ। अत: हरिणेश्वरको यो मूर्ति नेपाली प्रस्तर कलाको पहिलो उन्मेष हो। यस मूर्तिको काल निर्धारण गर्न सकिएको छैन तापनि यो मूर्ति किरातकालिन नेपाली कलाकृतिको एउटा सुन्दर नमूना हो।
शैवमतको विकाशलाई पछ्याउँदै जाँदा हामी सिन्धुघाटीसम्म पुग्छौँ। सिन्धुघाटीमा पद्मासनमा बसिरहेको,उन्नत खालको उर्ध्वलिङ्ग अंकित गरिएको, टाउकोमा राँगाको बडेमानको सिङ जडान गरिएको र वरि परि विभिन्न पशु पंक्षीहरुले घेरिएको मानव मूर्ति फेला परेको छ। यस मूर्तिलाई विद्वानहरुले आद्यपशुपतिको मूर्ति मानेका छन्।
प्रतिमालक्ष अनुसार पूर्णरूपले मानिसको आकृति भएको मूर्तिलाई Anthropomorfic Form भन्दछ। यसैगरी पूर्णरूपले पशुको आकृति भएको मूर्तिलाई Thereomorfic Form भन्दछ। मानिस र पशुको आकृति मिसिएको मूर्तिलाई Anthropo- Thereomorfic Form भन्दछ। सिन्धुघाटीमा फेला परेको टाउकोमा राँगाको सिङ जडान गरिएको मूर्ति आद्यपशुपतिको Anthropo- Thereomorfic Form हो। नेपालमण्डलको पाशुपतक्षेत्रमा पाईएको पाईएको पूर्णरूपले हरिणको स्वरूप भएको हरिणेश्वरको मूर्ति आद्यपशुपतिको Thereomorfic Form हो।
मानिसले सबभन्दा पहिले देवी देवतालाई पशु आकृति Thereomorfic Form मा पूजा गर्दथे। त्यसपछि मानव आकृति Anthropomorfic Form मा पूजा गर्न थालेका हुन्। त्यसकारण नेपालमण्डलको पाशुपतक्षेत्रमा पाईएको हरिणेश्वरको पूर्ण पशु आकृति Thereomorfic Form को मूर्ति आद्यपशुपतिको पहिलो चरणको मूर्ति हो र सिन्धुघाटीमा पाईएको मानिस र पशुको आकृति मिसिएको Anthropo- Thereomorfic Form मूर्ति चाहिँ आद्यपशुपतिको दोस्रो चरणको मूर्ति हो।
बौद्धधर्ममा वज्रयानको विकाश भए पछि अनेकन् सिद्ध साधकहरु जन्मे। ती सिद्ध साधकहरुले साङ्केतिक अर्थका दोहागानहरु रचे । चर्यागीतहरु रचे। वाद्यवादनको राग र तालमा चर्यानृत्यहरुको रचना गरे।
यस्ता सिद्ध साधकहरुमा महासिद्ध नाडपाद(नारोपा) मुख्य छन्। नाडपादको जन्म कश्मिरी ब्राह्मणको कुलमा भएको हो। महासिद्ध नाडपादले बङ्गालका तिलपाद(तिलोपा) संग चक्रसंवरतन्त्रको दीक्षा लिएका थिए। महासिद्ध नाडपाद भारतको विक्रमशिल महाविहारका द्वारपण्डित थिए। महासिद्ध नाडपादका धर्मकीर्ति, वागीश्वरकीर्ति आदि नेपाली शिष्यहरु थिए।
महासिद्ध नाडपाद विक्रमशिल महाविहारको द्वारपण्डित भए कै बेलामा उनका नेपाली शिष्य वागीश्वरकीर्ति पनि विक्रमशिल महाविहारका द्वारपण्डित थिए। नेपालका यी स्वनामधान्य विद्वान् धर्मकीर्ति र वागीश्वरकीर्ति फर्पिङका धर्तिपुत्र थिए।
तिब्बतको महावंशावली नीलपत्र Blue Annals का अनुसार महासिद्ध नाडपादले नेपालमण्डलको पाशुपतक्षेत्रमा साधना गरेर चक्रसंवरतन्त्रको पूर्णसिद्धि प्राप्त गरेका थिए। पाशुपतक्षेत्रमा आर्यघाट र सूर्यघाटको बीचमा बागमती दाहिने किनारामा अवस्थित गुफालाई महासिद्ध नाडपादले साधना गरेको गुफा मानिएको छ।
संस्कृत भाषामा चर्या कहलाउने बौद्धचर्यालाई नेपालभाषामा चचा र तिब्बती भाषामा च्योए भन्दछ। मध्य रातमा मशानघाटमा त्यही पनि भर्खर मान्छे जलाएको तातो चितामा वज्रपर्यङ्कासनमा बसेर दाहिने हातले डमरु र वायाँ हातले मानिसको नलि हाडको काङ्लिङ बजाएर नरकपालपात्र थापेर त्यस नरकपालपात्रमा मद्य, मांस र रक्त राखेर डर लाग्दो स्वरले च्योए वाचन गरेर ठोनाक- ठोएमा नक्मो- रौद्रकालीको साधना गर्नु बौद्धचर्या- चचा वा च्योए साधनाको पूर्ण साधना हो।
चर्या, चचा वा च्योएको उठान हरिणेश वा हरिणेश्वरको साधनाबाट प्रारम्भ हुन्छ, यथा-
ॐ आ हूँ वं गुरु हरिणेश सिद्धिफल हूँ फट् फट् फट् ।।
ॐ ॐ ॐ सर्वबुद्धडाकिनीये वज्रवर्णनीये वज्रवैरोचनीये हूँ हूँ हूँ फट् फट् फट् ।।
यहाँ स्पष्टरूपले हरिणेश शब्दको उल्लेख आएको छ तर हरिणिश भनेर अशुद्ध उच्चारण गर्दछन् ।वं यो अमृत बीज हो। महाप्रलयको त्यो महानिशामा केवल भगवान् शिवको मात्र सत्ता बाँकी रहन्छ र भगवान् शिवले वं वं वं बीजाक्षर उच्चारण गरेर दाहिने हातले डमरु बजाएर ताण्डव नृत्य गर्नु हुन्छ। भगवान् शिव श्मशानमा त्रिशूल गाडेर भस्म लेपन गरेर बस्नु हुन्छ। त्यसकारण श्मशानमा च्योए साधना गर्दा खट्वाङ्ग गाडेर च्योए गर्न पर्छ।
तसर्थ चर्या, चचा र च्योएको त्यो मध्य रातको तुरीय सन्ध्याको श्मशान साधनाको स्रोत भगवान् शिव हो र बौद्धचर्या, चचा र च्योएको केन्द्रबिन्दु नेपालमण्डलको पाशुपतक्षेत्रमा विराजित श्रीहरिणेश्वरको श्रीविग्रह अर्थात् मूर्ति हो। लोका: समस्ता: सुखिनो भवन्तु।।
लेखक नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुनुहुन्छ। उहाँ ‘नेपाल ऋषि’ पदावलीले सम्मानित संस्कृतिविद् हुनुहुन्छ।
