Cueva_del_Castillo_interior

रामकुमार राई
आजको आधुनिक सूचना प्रविधि, कृत्रिम बौद्धिकता र डिजितल सञ्चारको विशाल महल त्यही गुफाहरुको ढुङ्गाको भित्तामा कोरियो पहिलो धर्को र इसापूर्व ८०० ताकाको ग्रीक वर्णमालाको जगमा उभिएको छ ।
ग्रीकहरुको यही आविष्कारले इतिहासमा पहिलो पटक व्यञ्जन र स्वर दुवैको अगल अगल प्रतिनिधित्व गर्ने पूर्ण वर्णमालाको आविष्कार भयो । फिनिसियाली अलेफ, वेथ ग्रीक भाषामा अल्फा र बिटा बने, जसबाट अङ्ग्रेजी शब्दको ए, बी, सी, डी वर्णको निर्माण भएको हो ।
काठमाडौं, कात्तिक २७ ।
पुरापाषाणकालीन गुफाका भित्तामा रातो गेरु रङले कोरिएको बाइसनको चित्रदेखि इसापूर्व ८०० तिर ग्रीकहरुले पूर्णता दिएको वर्णात्मक लिपिसम्मको लेखन कलाको यात्रा मानव बुद्धिमत्ताको एक अद्भूत विजयागाथा हो ।
सुरुमा मानिसले जे देख्यो, त्यही कोर्यो चित्र लेखन विकास भयो । त्यसपछि जे सोच्यो, त्यो कोर्न थाल्यो भावचित्र लेखन विकास भयो । त्यसपछि जे बोल्यो, त्यसलाई शब्दहरुलाई चिन्हमा बन्देज बनायो, शब्द अक्षरात्मक लेखन विकास भयो ।
अन्ततः बोलीको सूक्ष्मतम ध्वनिहरुलाई पक्रेर केवल दुई दर्जन वर्णहरुमा समग्र ब्रह्माण्डलाई समेट्ने कला हासिल गर्यो, त्यो थियो वर्णात्मक लेखन कला थियो ।
अक्षरको यही आविष्कारले मानिसलाई प्रागइतिहासको अन्धकारबाट निकालेर ऐतिहासिक उज्यालोमा प्रवेश गरायो । आजको आधुनिक सूचना प्रविधि, कृत्रिम बौद्धिकता र डिजितल सञ्चारको विशाल महल त्यही गुफाहरुको ढुङ्गाको भित्तामा कोरियो पहिलो धर्को र इसापूर्व ८०० ताकाको ग्रीक वर्णमालाको जगमा उभिएको छ ।
मानव सभ्यताको इतिहासमा आगोको आविष्कार र पाङ्ग्रा (भौतिक विज्ञान) को निर्माण जतिकै महत्वपूर्ण र क्रान्तिकारी आविष्कार हो, लेखन कलाको विकास । भाषा बोलेर मात्र मानिसको विचार, अनुभव र ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा सुरक्षित रहन सक्दैन थियो ।
मानव मस्तिष्कमा जन्मिएका अमूर्त विचारहरुलाई भौतिक आकार दिएर समय र स्थानको सीमाभन्दा पर पु¥याउने माध्यम नै लेखन हो ।
आज हामी जुन सहजताका साथ डिजिटल पर्दा वा कागजका पानामा अक्षरहरु लेख्छौँ र तिनको भाव बुझ्छौँ, त्यसको पछाडि मानव जातिको करिब चालीस हजार वर्ष लामो अनवरत कल्पनाशीलता, चिन्तन, संघर्ष र बौद्धिक विकासको कथा लुकेको छ ।
पुरापाषाणकालीन अँध्यारो गुफाका भित्तामा कोरिएका शिकारका दृश्यहरुदेखि लिएर भावचित्र, शब्द अक्षरात्मक लेखन प्रणाली, अक्षरात्मक लेखन प्रणाली हुँदै इ.पू. ८०० तिर ग्रीक (युनानी क्षेत्र) हरुले पूर्णता दिएको वर्णात्मक लेखन विज्ञान सम्मको अनवरत यात्रा मानव चेतनाको एक महाकाव्य हो ।

लेखन कलाको आदिम भ्रुणः पुरापाषाणकालीन गुफाचित्र
मानिसले अक्षर चिन्नुभन्दा हजारौँ वर्ष पहिले चित्र कोर्न सिकेको थियो ।
पुरापाषाणकाल करिब ४०,००० देखि १०,००० इ.पू.को अवधिमा आदिम मानवले आफ्ना भावना, भय, आशा र दैनिक जीवनका अनुभवहरुलाई अभिव्यक्त गर्न अँध्यारो गुफाका भित्ताहरुलाई क्यानभास बनाएका थिए । फ्रान्सको लास्को र शोभे तथा स्पेनको अल्टामिराका गुफाहरुमा भेटिएका गुफा चित्रहरु मानव जातिको पहिलो दृश्य भाषाका जीवन्त प्रमाणहरु हुन् ।
ती आदिम गुफाचित्रहरु केवल सौन्दर्य प्रदर्शन गर्ने फुर्सदको कला मात्र थिएनन् । ती चित्रहरुमा जङ्गली राँगो, म्यामथ, घोडा, हरिण र शिकार गरिरहेको मानव आकृतिहरु अत्यन्तै जीवन्त रुपमा कोरिएका छन् ।
मानवशास्त्रीहरुका अनुसार, आदिम मानवले गुफाका भित्तामा जनावरको चित्र कोर्नुको पछाडि गहिरो मनोवैज्ञानिक र सांस्कृतिक कारणहरु थिए । एकातिर ती चित्रहरुले आफ्नो समूहका अन्य सदस्यहरुलाई कुन जनावरको शिकार कसरी गर्ने भन्ने जानकारी दिन्थे भने अर्कोतिर ती चित्रहरुमा शिकार सफलतापूवर्क गरिनुमा कुनै अदृश्य शक्तिको हात रहको आध्यात्मिक विश्वास पनि लुकेको हुुन्थ्यो । रातो गेरु, कालो कोइला र खनिज रङहरुको प्रयोग गरी कोरिएका ती चित्रहरु नै कालान्तरमा लिपिहरुको पहिलो बीज थियो ।
चित्रलेखको उदय
समय बित्दै जाँदा गुफाका भित्तामा कोरिएका विस्तृत र कलात्मक चित्रहरु संक्षिप्त हुँदै गए । मानिसले पुरै दृश्यहरु कोर्नुको सट्टा कुनै वस्तु वा प्राणीको सामान्य रुपरेखा वा सङ्केतहरुमा मात्र कोरेर अर्थ बुझाउन थालियो । यसलाई नै चित्रलेख भनिन्छ ।
उदाहरणको लागि, सूर्य बुझाउन एउटा गोलो चक्र कोर्ने, पहाड बुझाउन त्रिकोणात्मक रेखा मात्रै तान्ने, नदी बुझाउन लहराएका रेखाहरु कोर्ने प्रचलन सुरु भयो । यहाँ चित्रले जे देखिन्छ, ठ्याक्कै त्यही वस्तुको प्रतिनिधित्व गर्दथ्यो ।
तर, चित्रलेखको एक ठूलो सीमा थियो, यसबाट आँखाले देख्न सकिने भौतिक वस्तुहरु त बुझाउन सकिन्थ्यो तर प्रेम, क्रोध, भोग, समय, सत्य जस्ता अमूर्त भावनाहरुलाई व्यक्त गर्न असम्भव नै थियो ।
अमूर्त विचारतर्फको छलाङमा भावचित्र
चित्रलेखका सीमाहरुलाई चिर्दै मानव मस्तिष्कले अर्को बौद्धिक फड्को मार्यो, जसलाई भावचित्र भनिन्छ ।
भावचित्रमा चित्रले प्रत्यक्ष वस्तुलाई मात्र नभई त्यो वस्तुसँग सम्बन्धित विचार, गुण, क्रिया आदिलाई सङ्केत गर्न थाल्यो । उदाहरणको लागि, सुरुमा सूर्यको चित्रले केवल सूर्यलाई मात्र बुझाउँथ्यो भने भावचित्रको चरणमा आइपुग्दा सूर्यको चित्रले उज्यालो, ताप, देवता, आदिको अर्थ प्रदान गर्न थाल्यो ।
त्यस्तै, दुईवटा खुट्टा हिँडिरहेको चित्रले खुट्टा मात्र नभई हिँड्नु, यात्रा गर्नु भन्ने क्रियालाई बुझाउन थाल्यो । आँखाको चित्रमा आँसुको थोपा थप्दा त्यसले रुनु, हर्ष र शोकको भाव पनि प्रकट गर्न थालियो ।
प्राचीन चिनिया लिपि र इजिप्टको चित्रलिपिमा भावचित्रहरुको अत्यन्त समृद्ध प्रयोग भएको पाइन्छ । यद्यपि, हजारौँ विचारहरुका लागि हजारौँ अलग अलग चिन्हहरु सम्झन र लेख्न अत्यन्त जटिल र झन्झटिलो थियो ।
सभ्यताको उषाकाल र शब्द अक्षरात्मक लेखन
इसापूर्व ३५,००० देखि ३,००० को बीचमा विश्वका ठूला नदी किनारका सभ्यताहरु जस्तै टिग्रिस र युफ्रेटस नदीको बीचको क्षेत्रमा विकसित मेसोपोटामिया सभ्यता, नाइल नदी उपत्यकामा विकासित इजिप्ट सभ्यता, सिन्धु नदी आसपास विकसित सिन्धु सभ्यत र चीनको ह्वाङ्हो नदी किनारमा नगर सभ्यताहरुको विकास भयो ।
कृषि उत्पादनमा वृद्धि, व्यापारको विस्तार, कर सङ्कलन र राज्य प्रशासन सञ्चालनको अभिलेख राख्नुपर्ने आवश्यकताले लेखनकलालाई एक व्यवस्थित प्रणालीमा ढाल्न बाध्य बनायो । यही आवश्यकताबाट शब्द अक्षरात्मक लेखनको आविष्कार भयो । यस लेखन प्रणालीमा प्रत्येक चिन्हले कुनै एक सिङ्गो शब्दको प्रतिनिधित्व गर्दथ्यो ।

मेसोपोटामियाको क्युनिफर्म लिपि विकास
विश्वको सबैभन्दा पुरानो व्यवस्थित लेखन प्रणाली मेसोपोटामियाका सुमेरिया जातिले करिब इसापूर्व ३२,००० तिर विकास गरेका थिए । सुरुमा उनीहरुले गिलो माटोका पाटीहरुमा अन्न, गाईवस्तु र व्यापारको हिसाब राख्न चित्रहरु कोर्ने गर्दथ्यो । ती माटोको पाटीहरु सुकेपछि तीखो किलाकाँटी जस्तो देखिने भएको त्यसलाई क्युनिफर्म लिपि भनिएको हो ।
यो लिपि शब्द अक्षरात्मक लेखन प्रणालीको उत्कृष्ट नमुना हो । यसमा सुरुमा करिब १,५०० भन्दा बढी चिन्ह सङ्केतहरु बनाइको थियो, जसलाई पछि ६०० जतिमा सीमित गरियो ।
सुमेरियाली, अक्काडियन र बेबिलोनियन सभ्यताका कानुन, जस्तै हम्मुराबीको कानुन संहिता र विश्वको प्रथम महाकाव्य गिल्गामेस यही लिपिमा लेखिएका थिए ।
प्राचीन इजिप्टको हियरोग्लिफिक वा डेमोटिक लेखन
मेसोपोटामिया कै समकालीन अर्को लिपि इजिप्टको हियरोग्लिफिक हो । जसको अर्थ पवित्र चिन्ह भन्ने हुन्छ । इसापूर्व ३,१०० तिर विकसित यो लिपि मन्दिरका भित्ता, चिहान र पापाइरस नामको बिरुवाबाट बनेको कागजमा लेखिन्थ्यो ।
हियरोग्लिफिकमा करिब ७०० भन्दा बढी कलात्मक चित्रात्मक चिन्हहरु थिए, जसमा केही चिन्हले सिङ्गो शब्दलाई बुझाउने र केहीले भने ध्वनिको काम गथ्र्यो ।
रेबस सिद्धान्त चित्रबाट ध्वनितर्फको क्रान्ति
लेखन कलाको इतिहासमा सबैभन्दा ठूलो क्रान्ति रेबस सिद्धान्तको आविष्कारले ल्यायो ।
जब लेखकहरुलाई अमूर्त शब्द वा व्यक्तिवाचक नाम लखनमा कठिनाइ भयो, तब उनीहरुले चित्रको अर्थलाई छोडेर त्यसको उच्चारण ध्वनिलाई प्रयोग गर्न थालियो । यसलाई नेपाली भाषाको उदाहरणबाट सरल रुपमा बुझ्नका लागि मानौँ चित्रमा एउटा कमलको फूल र अर्को कलमको चित्र बनाइयो । यदि कमल र कलमको चित्रहरुबाट म ध्वनि बुझाउने अर्को चित्र जोडेर अन्य नयाँ नयाँ शब्द बनाइन्छ भने ध्वनिमा आधारित लेखन हुन्छ ।
अङ्ग्रेजीमा मौरी (Bee) र पात (Leaf) को चित्र जोडेर विश्वास (Belief) नयाँ शब्द बनाउनु नै रेबस सिद्धान्त हो ।
यही सिद्धान्तले लेखनलाई आँखाले प्रत्यक्ष देख्ने चित्रबाट रुपान्तरण गरी कानले सुन्ने भाषाको ध्वनिसँग जोडिदियो । यहीँबाट अक्षरात्मक र वर्णात्मक लेखनको विशाल ढोका खुल्यो ।

अक्षरात्मक लेखन प्रणालीको विकास
शब्द अक्षरात्मक लेखनमा हजारौँ चिन्हहरु कष्ठस्थ गर्नुपर्ने भएकाले लेखपढ गर्ने कला केवल दरबारका पुरोहित र सीमित लिपिकारहरुको एकाधिकार मात्र सीमित रहन गयो । सर्वसाधारणका लागि यो लेखन प्रणाली अत्यन्तै कठिन हुन गयो ।
जब रेबस सिद्धान्तको प्रयोग व्यापक हुँदै गयो, तब तत्कालीन भाषाविद् र लिपिकारहरुले महसुस गरे कि भाषाका अनगिन्ती शब्दहरुलाई तिनका ध्वनि खण्डहरुलाई अक्षरमा टुक्राएर थोरै चिन्हरुबाटै लेख्न सकिने विषयमाथि गहन चिन्तन गरे र अक्षरात्मक लेखन प्रणालीको विकास भयो ।
अक्षरात्मक लेखन प्रणालीमा प्रत्येक लिपि चिन्हले एउटा स्वरसहितको व्यञ्जन ध्वनिको प्रतिनिधित्व गर्दछ । यस प्रणालीले लिपि चिन्हहरुको सङ्ख्यात्मक घटाएर ६० देखि १०० को बीचमा सीमित गरियो ।
यस्ता अक्षरात्मक लेखनका प्रमुख ऐतिहासिक उदाहरणहरु मेसोपोटामिया वरपरका प्राचीन जातिहरुले क्युनिफर्म चिन्हहरुलाई शुद्ध अक्षरात्मक रुपमा प्रयोग गर्न थालियो । इसापूर्व १४५० तिर प्राचीन ग्रीसको माइसेनियन सभ्यतामा प्रयोग हुने लिनियर बी लिपि एक पूर्ण अक्षरात्मक लिपि हो, जसमा करिब ८७ वटा अक्षर चिन्हहरु रहेका थिए ।
आधुनिक जापानी भाषाको हिरागाना र काताकाना शुद्ध अक्षरात्मक लिपि हुन् । त्यस्तै, दक्षिण एसियको ब्राह्मी लिपिबाट विकसित देवनागरी लिपिलाई भाषाविज्ञानमा अक्षरात्मक वर्णात्मक प्रणाली मानिन्छ, जहाँ प्रत्येक व्यञ्जन वर्णमा अ स्वर अन्तर्निहित हुने गर्दछ ।
यसरी अक्षरात्मक लेखनले लेखनकलालाई सरल त बनायो तर यसमा अझै एउटा जटिलता बाँकी नै थियो । यदि कुनै भाषामा क, का, कि, की, कु, कू … जस्ता बाह्रखरीका लागि अलग अलग चिन्ह बनाउने हो भने चिन्हहरुको सङ्ख्या अझै धेरै हुन्थ्यो । यस समस्याको अन्तिम समाधान वर्णात्मक लेखन प्रणालीले प्रदान गर्यो ।

वर्णात्मक लेखनको जन्म र इ.पू. ८०० तिरको पूर्णता
मानव लेखन इतिहासको सर्वोच्च उपलब्धि हो, वर्णात्मक लेखन ।
यस लेखन प्रणालीमा शब्द वा अक्षरलाई पनि अझ सूक्ष्म एकाइमा विभाजन गरियो । यसलाई व्यञ्जन र स्वर ध्वनिमा विभाजन गरियो । त्यसैबाट व्यञ्जन र स्वर वर्ण वा चिन्हहरुको विकास गरियो ।
भाषामा प्रयोग हुने ध्वनिहरुको आवश्यकताको आधारमा २० देखि ३० वटा सम्म आधारभूत चिन्हहरुको संयोजनबाट संसारको जुनसुकै अक्षर, शब्द, वाक्य, विचार र साहित्यहरुलाई सहजै लेख्न सकिने पत्ता लगाइयो ।
प्रोटो सिनाइटिक र फोनेसियाली लिपि
वर्णात्मक लेखनको प्रारम्भिक बीजारोपण इसापूर्व १८०० देखि १५०० को बीचमा इजिप्टको सिनाई प्रायद्वीपमा काम गर्ने सेमेटिक श्रमिकहरुले गरेका थिए ।
उनीहरुले इजिप्टको हियरोग्लिफिकबाट करिब २२ वटा चित्र चिन्हहरु छनोट गरे र तिनलाई शब्दको सट्टा प्रत्येक शब्दको पहिलो ध्वनि बुझाउन प्रयोग गरे । उदाहरणको लागि, सेमेटिक भाषामा गोरुलाई अलेफ भनिन्थ्यो, त्यसैले अलेफबाट अल्फा वा अ ध्वनि चिन्ह निर्माण गरियो । घरलाई वेथ भनिन्थ्यो, वेथ वा व ध्वनिको चिन्ह बनाइयो ।
उँटलाई बुझाउने गिमेल चित्रचिन्हबाट ग उच्चरण हुने गामा चिन्ह निर्माण गरियो । ढोका अर्थ बुझाउने दालेथ् चिन्हबाट ड उच्चरण हुने डेल्टा चिन्ह निर्माण गरे ।
इसापूर्व १०५० तिर भूमध्यसागरका कुशल समुद्री व्यापारी फिनिसियालीहरुले यस लेखन प्रणालीलाई अझ परिष्कृत गरी २२ वटा व्यञ्जन वर्णहरु भएको एक अत्यन्त छरितो लिपि तयार पारे ।
व्यापारका सिलसिलामा फिनिसियाली जहाजहरु जहाँ जहाँ पुगे, त्यहाँ त्यहाँ यो लिपि पनि फैलियो । तर, फिनिसियाली लिपिको एउटा विशेषता के थियो भने यसमा केवल व्यञ्जन वर्णमात्र थिए तर स्वर वर्णहरु लेखिँदैनथे । पाठकले सन्दर्भ अनुसार आफैँ स्वर ध्वनि अनुमान गरेर पढ्नु पथ्र्यो, आजको अरबी र हिब्रु भाषामा त्यसको अवशेष देखिन्छ ।
इसापूर्व ८०० तिर ग्रीकहरुको ऐतिहासिक योगदान : पूर्ण वर्णमालाको उदय
लेखन कलाको विकासक्रममा इसापूर्व ८०० को दशक एक युगान्ताकारी मोड थियो । भूमध्यसागरीय व्यापारका क्रममा प्राचीन ग्रीकहरुले फिनिसियाली व्यापारीहरुबाट २२ अक्षरको व्यञ्जन लिपि सिके ।
तर, ग्रीक भाषाको संरचना सेमेटिक भाषाभन्दा फरक थियो । ग्रीक भाषामा स्वर ध्वनिको स्पष्ट उच्चारण बिना शब्दको अर्थ नै अनर्थ हुने अवस्था थियो ।
त्यसैले इसापूर्व ८०० तिर ग्रीक भाषाविद् र लिपिकारहरुले फिनिसियाली लिपिमा एक क्रान्तिकारी सुधार गरे । फिनिसियाली लिपिमा भएका केही व्यञ्जन ध्वनिहरु, जस्तै अलेफ, हे, योड, आयिन जस्ता ग्रीक भाषामा उच्चारण हुँदैन थ्यो । तिनलाई ग्रीकहरुले शुद्ध स्वर वर्ण (Vowel — A, E, I, O, U) रुपान्तरण गरिदिए ।
ग्रीकहरुको यही आविष्कारले इतिहासमा पहिलो पटक व्यञ्जन र स्वर दुवैको अगल अगल प्रतिनिधित्व गर्ने पूर्ण वर्णमालाको आविष्कार भयो । फिनिसियाली अलेफ, वेथ ग्रीक भाषामा अल्फा र बिटा बने, जसबाट अङ्ग्रेजी शब्दको ए, बी, सी, डी वर्णको निर्माण भएको हो ।
यही ग्रीक वर्णमाला इटालीको एस्ट्रस्कन सभ्यता हुँदै रोमन लिपिमा रुपान्तरण भयो, जुन आज विश्वका अधिकांश भाषाहरु लेख्ने लिपिको रुपमा प्रयोग गरिन्छ ।
लेखन कलाको विकासले मानव सभ्यतामा पारेको प्रभाव
इसापूर्व ८०० तिर पूर्ण वर्णात्मक लेखन कलाको विकास हुनु केवल प्राविधिक आविष्कार मात्र थिएन ।
यसले मानव सभ्यताको बौद्धिक, सामाजिक र सांस्कृतिक स्वरुपलाई नै आमूल परिर्वतन गरिदियो । हजारौँ चित्र र शब्द चिन्हहरु सिक्नु सर्वसाधारणका लागि असम्भवप्रायः थियो । तर, २४ देखि २६ वटा वर्णहरु सिक्न जोकोहीले सक्ने भएकोले लेखपढ गर्ने कार्य दरबारका सीमित पुरोहित र शासक वर्गहरुबाट आम सर्वसाधारण सम्म पुग्न सफल भयो ।
वर्णात्मक लेखनको सहजताले गर्दा नै इसापूर्व ८०० पछि ग्रीसमा होमरका महाकाव्यहरु लिपिबद्ध भयो ।
सुकरात, प्लेटो र एसिस्टोटलका गहन दार्शनिक चिन्तनहरु, इतिहासका अभिलेखहरु र वैज्ञानिक सिद्धान्तहरु सुरक्षित हुन सक्यो । लेखन कलाले मानव जातिको सामूहिक स्मृतिहरुलाई लिपिबद्ध गरेर अमर बनाइदियो । मानिसहरु मरेर गए पनि उसका विचार, अनुभव र आविष्कारहरु अक्षरका माध्यमबाट भावी पुस्ताका लागि लिखित रुपमा जीवित रहन थाल्यो ।
