Unified Nepal
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु
कास्की,२७ कात्तिकः पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगङ्गा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिनुभयो । पोखरा–५ जिरो किलोमिटर नजिक दिउँसो अन्दाजी २ः५० बजेको समयमा रोकिराखेको लु३च ५२७४ नम्बरको बोलेरो जिपमा ग२३प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किदाँ गम्भीर घाइते दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रमममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बोलेरो जिपका चालक पोखरा–२८ कालिका बस्ने ४८ वर्षीय अृमत बजगाईँ र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिनुभयो ।
रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु
सङ्खुवासभा, २७ कात्तिकः सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् । आज दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिनुभयो । घटनाबारे आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक सुन्दरकुमार यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ ।
७० वर्षीय वृद्धको आगलागीमा परेर मृत्यु
खोटाङ, २७ कात्तिकः साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ । परिवारदेखि छुट्टिएर एक्लै बाँझेच्यानडाँडाको रातमाटेस्थित गोठमा बस्दै आउनुभएका वृद्ध राई बुधबार गोठमा मृत फेला पर्नुभएको हो । करिब एक वर्षदेखि गोठमा बसेर सुन्तलाखेती र सुङ्गुरपालन गर्दै आउनुभएका राई आफैँले अगेनामा बालेको आगो गोठमा सल्किँदा जलेर उहाँको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष हेमन राईले जानकारी दिनुभयो । “दुई छोरा र दुई छोरीका बुबा धिरजबहादुर राई विगत एक वर्षदेखि एक्लै गोठमा बस्दै आउनुभएको थियो । घरदेखि टाढा रहेको बारीमा गोठ बनाएर बस्नुभएका उहाँ आज मृत फेला पर्नुभयो”, उहाँले भन्नुभयो, “एकान्त ठाउँमा घटना भएकाले कुन समयमा के भएर आगलागी भयो भन्ने खुलेको छैन । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ ।” बाँझेच्यानडाँडामा भएको घटनाको जानकारी पाएलगत्तै जिल्लाबाट टोली पठाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
