Image

अङ्ग्रेजहरुले विभिन्न कूटनीतिक मिसन, व्यापारिक आवरण र जासुसी संयन्त्रको प्रयोग गरी नेपालको गोपनीयता तथा अलग रहने नीतिलाई चिर्दै सन् १७९२ देखि नै सन् १८१४–१८१६ मा भएको नेपाल अङ्ग्रेज युद्धको पृष्ठभूमि तयार पारेका थिए ।
यसरी २२ वर्षभित्र मै नेपालको अलग रहने नीतिलाई भङ्ग गर्ने व्यक्तिहरु थिए, क्याप्टेन विलियम कर्कप्याट्रिक र डा. फ्रान्सिस बुचानन् ह्यामिल्टन ।
रामकुमार राई
काठमाडौं, मङ्सिर ३ ।
नेपाल–अङ्ग्रेज युद्ध (सन् १८१४–१८१६) हुनु भन्दा अगाडि नेपालले अङ्ग्रेजप्रति अवलम्बन गरेको भौगोलिक, सामाजिक, राजनैतिक र सैन्य गोपनीयतालाई कसरी अङ्ग्रेजले गुप्त रुपमा भङ्ग गर्दै आगमी युद्धको तयारी गरिरहेका थिए त ?
त्यो समयमा यहाँको भौगोलिक बनावट नेपालको सबैभन्दा ठूलो रक्षाकवज थियो । यसलाई गहिरो गरी बुझेका बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको सुरुवात देखि नै भौगोलिक गोपनीयताको लागि अङ्ग्रेजसँग अलग रहने नीति लिएका थिए।
त्यसैले पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि उपत्यकामा बसिरहेका मिसनरीहरुलाई देश छाड्ने आदेश दिएका थिए ।
राजा पृथ्वीनारायण शाहदेखि रणबहादुर शाहको समयसम्म नेपालले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउन बाह्य शक्तिहरुबाट टाढा रहने र प्रतिरक्षात्मक परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट हुन्छ ।
विदेशी मानिसहरुमा विशेषगरी अङ्ग्रेजहरुलाई नेपालको पहाडी इलाकामा प्रवेश र घुमफिर गर्न कडा बन्देज लगाएका थिए । जबसम्म अङ्ग्रेजहरुले नेपालको भूगोल, बाटोघाटो र आन्तरिक पक्षको जानकारी पाउँदैन, तबसम्म ठूलो आक्रमण गरिहाल्न सक्दैन भन्ने राजा रणबहादुर शाहको समयसम्मका नेपालका शासनसत्तामा रहेको व्यक्तिहरुलाई लागेको थियो ।
तर, यो अलग रहने नीतिलाई अङ्ग्रेजहरुले विस्तारै तोड्ने क्रम जारी थियो । सन् १८१४ सम्म यो नीति ज्यादै कमजोर अवस्थामा पुगेको थियो ।
सन् १७९२ अघि अङ्ग्रेजहरुलाई नेपालको भौगोलिक अवस्था, किल्ला र गढहरु, सैन्य सङ्ख्या, बाटोघाटोको अवस्था, राजनीतिक विचार, दरबारभित्रको अवस्था र सामरिक महत्वका स्थानहरुबारे अनुमानमा मात्र सीमित थियो ।
नेपालले जतिसुकै कडा प्रतिबन्ध लगाएर गोपनीयताको नीति अपनाए पनि अङ्ग्रेजहरुले नेपालको आन्तरिक स्थिति तथा भौगोलिक परिवेशलाई पत्ता लगाउने प्रयत्न भने कहिल्यै छोडेनन् ।
अङ्ग्रेजहरुले विभिन्न कूटनीतिक मिसन, व्यापारिक आवरण र जासुसी संयन्त्रको प्रयोग गरी नेपालको गोपनीयता तथा अलग रहने नीतिलाई चिर्दै सन् १७९२ देखि नै सन् १८१४–१८१६ मा भएको नेपाल अङ्ग्रेज युद्धको पृष्ठभूमि तयार पारेका थिए ।
यसरी २२ वर्षभित्र मै नेपालको अलग रहने नीतिलाई भङ्ग गर्ने व्यक्तिहरु थिए, क्याप्टेन विलियम कर्कप्याट्रिक र डा. फ्रान्सिस बुचानन् ह्यामिल्टन । जसले हाम्रो इतिहासलाई सर्वप्रथम वैज्ञानिक ढङ्गले लेखिदिए अनि संसारलाई नेपाल चिनाएको भनी प्रशंसा पनि गर्ने गर्छौँ ।
सन् १७९२ को नेपाल–तिब्बत युद्धको सन्दर्भलाई अङ्ग्रेजले नेपालको प्रारम्भिक सूचना सङ्कलन गर्ने पहिलो सुनौलो अवसर प्राप्त गरे ।
सन् १७९२ मा नेपाल–तिब्बत युद्धको समय नेपाल सरकारले सैन्य सहयोग माग्दा अङ्ग्रेजले बाणिज्य सन्धिको प्रस्ताव गरे ।
नेपाल र ब्रिटिस इष्ट इण्डिया कम्पनीबीच वाणिज्य सन्धिको लागि क्याप्टेन विलियम नक्सको कूटनीतिक मिसनको प्रतिनिधिका रुपमा फेब्रुअरी १३, १८०२ मा कर्नेल विलियम कर्कप्याट्रिक नेपाल आएर अप्रिल ३, १८०३ सम्म एक हप्ता बसेका थिए ।
नेपाल–तिब्बत बीचको युद्ध रोकिइसकेको थियो । तैपनि कर्कप्याट्रिक पटनाबाट मकवनपुरको हेटौँडा हुँदै तत्कालीन शीतकालीन राजधानी नुवाकोट र त्यसपछि काठमाडौं पुगेका थिए । उनलाई रोक्न नेपाली पक्षले पटनामा महिनौँ रोकेको थियो ।
क्याप्टेन कर्कप्याट्रिकले नेपालको अलग रहने तथा गोपनीयताको नीतिलाई तोड्ने र भविष्यमा हुने युद्धको लागि आवश्यक आधिकारिक सूचना सङ्कलको रुपमा यो भ्रमणलाई प्रयोग गरे ।
उनले नेपालबाट फर्किएपछि आफ्नो इष्ट इन्डिया कम्पनी सरकारलाई नेपालको बारेमा एउटा विस्तृत प्रतिवेदन बुझाए, जसमा नेपालका किल्लाहरु, बाटोघाटो, तिब्बत र चीनप्रतिको नेपालको धारणा, तथा नेपाल दरबारको आन्तरिक नीतिबारे उल्लेख थियो ।
उनले लेखेको पुस्तक एन अकाउन्ट अफ द किङ्गडम अफ नेपाउलले अङग्रेज तथा युरोपेलीहरुका लागि पहिलो पटक नेपालको भूगोल र सैन्य संरचनाको ढोका खोलिदियो ।
जसमा उनले नेपालको भौगोलिक र दरबारभित्रको राजनीतिको जानकारीका साथै चिनियाँ प्रभाव रोक्न र गङ्गाको उर्वर मैदान सुरक्षित राख्न नेपालमाथि अङ्ग्रेजको अधिपत्य अति आवश्यक रहेको स्पष्ट उल्लेख गरेका थिए ।
यसरी क्याप्टेन कर्कप्याट्रिकको नेपाल–तिब्बत युद्धको मध्यस्थता गर्ने प्रकट उद्देश्यजस्तो देखिए तापनि गुप्त उद्देश्य भने नेपालको भौगोलिक अवस्था, गढ–किल्ला, सैन्य गतिविधि, बाटोघाटो, तिब्बतप्रतिको नेपालको धारणा र दरबारभित्रको आन्तरिक गुटबन्दीको विस्तृत नक्साङ्कन गर्नु नै थियो ।
सोही वर्ष १७९२ को मार्च महिनामा इष्ट इण्डिया कम्पनीको कूटनीतिक प्रतिनिधि भएर स्कटल्याण्डका वनस्पतिविद् तथा चिकित्सक डा. फ्रान्सिस बुचानन ह्यामिल्टन नेपाल आएर काठमाडौं तथा उपत्यका आसपासका क्षेत्रमा १४ महिना बिताएका थिए ।
उनले पनि नेपालबाट फर्किए पछि भारत स्थित ब्रिटिस इष्ट इण्डिया कम्पनीलाई आफ्नो प्रतिवेदन पेस गरे, जसमा नेपालको चीन र अङ्ग्रेजप्रतिको दृष्टिकोण तथा सैन्य अवस्थालाई छर्लङ्ग पारिदिएको थियो । डा. ह्यामिल्टनले कर्कप्याट्रिक पुस्तकमा भन्दा विस्तृतमा नेपालको प्राचीन इतिहास, जातजाति, रीतिरिवाज, वनस्पति, समाज आदिको सूचना सङ्कलन गरी नेपालको जानकारी इष्ट इण्डिया कम्पनीमा पु¥याएका थिए ।
यसरी, सन् १७६७ मा सिन्धुलीगढीको युद्धमा क्याप्टेन किनलकको नेतृत्वमा आएको ब्रिटिस फौज पराजित भएपछि अङ्ग्रेजहरुले नेपालको पहाडी भूगोल र गोर्खाली सैन्य क्षमताको गम्भीरता बुझेका थिए । यस घटनापछि इष्ट इण्डिया कम्पनीले नेपालको भू–रणनीतिक अलग रहने नीतिलाई भङ्ग गर्नका लागि विभिन्न मिसनहरु विभिन्न बहानामा जबर्जस्ती नेपाल प्रवेश गराउने र सामरिक महत्वको सूचना सङ्कलन गर्ने नीति लिएका थिए ।
बडामहाराजधिराज पृथ्वीनारायण शाहले अङ्ग्रेजको लागि अवलम्बन गरेको भौगिलिक गोपनीयता र कूटनीतिक नियन्त्रण नीति कमजोर हुँदै सन् १८१४–१८१४ को नेपाल–अङ्ग्रेज युद्धमा नेपालले हार बेहोर्नु परेको थियो ।
