काभ्रेपलाञ्चोक, मंसिर ४। हरिबोधिनी एकादशीका अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित प्रसिद्ध लड्केश्वर महादेव मन्दिरमा राजपरिवारकातर्फबाट युवराज पारस वीर विक्रम शाह देवले आज दर्शन तथा पूजाआराधना गर्नुभएको छ।
मन्दिरमा पुग्नुभएका युवराज शाहलाई स्थानीय जनसमुदायले पुष्पगुच्छा तथा फूलमालासहित आत्मीय स्वागत गरेका थिए। हरिबोधिनी एकादशीका अवसरमा मन्दिर परिसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो।
करिब ३५० वर्ष पुरानो इतिहास बोकेको लड्केश्वर महादेव मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीका दिन भव्य मेला लाग्ने गर्दछ। काभ्रेपलाञ्चोकसहित आसपासका विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन महादेवको दर्शन तथा पूजाआजाका लागि यहाँ आउने गरेका छन्। गुफाभित्र अवस्थित महादेवको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने हुँदा मेलास्थल धार्मिक उत्साह र भक्तिमय वातावरणले भरिने गर्दछ।
लड्केश्वर धाम परिसरमा निर्माण गरिएको १०८ फिट अग्लो शिव त्रिशूल तथा १०८ शिवधाराले यस क्षेत्रको धार्मिक र आध्यात्मिक महत्वलाई थप उचाइ दिएको छ। यी धार्मिक संरचनाले दर्शनार्थीलाई आकर्षित गर्नुका साथै धामको विशिष्ट पहिचान स्थापित गरेका छन्।
धार्मिक किंवदन्तीअनुसार तत्कालीन राजा भूपतेन्द्र मल्लले लड्केश्वर महादेवको दर्शन तथा पूजाआराधना गरेपछि यस क्षेत्रमा मेलाको परम्परा सुरु भएको मानिन्छ। मेलाका अवसरमा भक्तजनले पूजाआजा, भजनकीर्तन तथा जाग्राम बस्ने परम्परा रहिआएको स्थानीय सागर आचार्य बताउनुहुन्छ।
हरिबोधिनी एकादशी भगवान् विष्णु चातुर्मासको शयन समाप्त गरी जागरण हुने पवित्र दिनका रूपमा मानिन्छ। यस दिन तुलसी विवाह, व्रत, पूजाआराधना, भजनकीर्तन तथा तीर्थदर्शन गर्ने धार्मिक परम्परा रहिआएको छ। मेलाको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै पनौती नगरपालिकाले यस अवसरमा स्थानीय बिदासमेत दिने गरेको छ।
नगरप्रमुख रामशरण भण्डारीले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउँदै नगरपालिकाले यस्ता परम्पराको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार यस वर्षको मेलामा करिब ५० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ।
धार्मिक आस्था, ऐतिहासिक विरासत र प्राकृतिक सौन्दर्यले भरिपूर्ण लड्केश्वर क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ। पुस्तौँदेखि निरन्तरता पाउँदै आएको यस मेलाले स्थानीय संस्कृति, परम्परा र धार्मिक आस्थालाई जीवन्त राख्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्दै आएको छ।




