रामकुमार राई
काठमाडौं, मङ्सिर १० ।
नेपाल र तिब्बतको सिमाना खासा क्षेत्रमा हिमालको चिसो सिरेटो चलिरहेको थियो । सन् १८५४ को समय थियो । खासाको पहाडी भेगमा तिब्बती कर्मचारी र सैनिकहरुको चहल पहल बाक्लै थियो । नेपालले तिब्बत सरकारलाई प्रयोग गर्न दिएका पहाडी भूभागमा तिब्बतीहरुले धमाधम बस्ती बसाइरहेका थिए र उनीहरुसँग कर पनि उठाइरहेका थिए ।
तिब्बत सरकार र तिब्बती कर्मचारीहरु गैँती र कोदालो दिँदै गाउँलेहरुलाई काम गर्न निर्देशन दिँदैछन् । खन्नुहोस्, अझ गहिरो खन्नुहोस् । कम्तीमा ४० फुट गहिरो र आधा कोश लामो खाडल खन्नुहोस् । आजदेखि यही खाडल नेपाल र तिब्बतको सिमाना हुनेछ ।
तिब्बतको यस्तो गतिविधिको खबर काठमाडौँको थापाथली दरबारमा हावाको वेगझैँ पुग्छ । यो खबरले श्री ३ महाराज जङ्गबहादुर राणा आगो जस्तै हुन्छन् ।
दरबारको बैठक कक्षमा गर्जदैँ के तिब्बत र चीनले नेपाललाई कमजोर ठानेकै हुन् । सन् १७९३ देखिको आन्तरिक कलह र अङ्ग्रेजसँगको युद्धका कारण हामी चुप बसेका हौँ भन्दैमा हाम्रो भूमिमाथि तिनीहरुले गिद्धे नजर लगाउने ? तुरुन्तै हाम्रा कर्मचारीहरुलाई कर उठाउन पठाऊ र तिब्बत तथा चिनियाँ अम्बानलाई तुरुन्तै कडा विरोधपत्र लेख भन्दै नेपाली अधिकारीहरुलाई आदेश दिए ।
यी नेपाली बस्तीहरुमा तिब्बती इलाकामा बनेको प्रमाणहरु एकट्ठा गर्न र आफ्नो भूमि फिर्ता गर्न श्री ३ महाराज जङ्गबहादुरले निर्देशन दिए ।
सन् १८५२ को अगस्टमा राजा रणबहादुर शाहको पालादेखिको चलन अनुसार चीन गएको नेपाली प्रतिनिधि मण्डल १८ महिनाको सट्टा २२ महिनामा बल्लतल्ल फर्किएका थिए । बाटोमा तिब्बत र चिनियाँ अधिकारीहरुको असहयोग र अपमानका कारण नेता सरदार गम्भीरसिंह, सहायक नेता एवं सुबेदार कालु खत्रीको बाटैमा मृत्यु भएको थियो ।
एकमात्र जीवित नेपालका प्रतिनिधि लेफ्टिनेन्ट भीमसेन राणा थकित र विक्षिप्त मुद्रामा श्री ३ महाराजसामु आइपुगेका थिए ।
लेफ्टिनेन्ट भीमसेन राणाले आँसु खसाल्दै भने महाराज बाटोभरि हामीलाई पशुसरह व्यवहार गरियो । खाना र बासको त कुरौ छोडौँ, अपमानको घुट्को पिउँदा पिउँदै मसँग गएका सरदार र सुबेदारले प्राण त्याग गरे । म एक्लै जीवित फर्किएर आइपुगेको छु ।
श्री ३ महाराज जङ्गबहादुर राणाले मुट्ठी कस्छ तर त्यही बेला ल्हासाबाट अर्को अप्रिय समाचार आइपुग्छ ।
महाराज ल्हासामा एक जना नेवार व्यापारीले खम्पासँग लिएको ऋण समयमा तिर्न नसक्दा उनलाई कैद गरियो । भोलिपल्ट छुटाउन गएका अन्य नेपाली व्यापारीहरुमाथि खम्पाको नोकरले गोली हानी एक नेपाली हत्या गर्यो ।
त्यसको भोलिपल्ट ८० जना नेपाली मिलेर खम्पाको घर घेर्न जाँदा भएको झडपमा तीन जना नेपाली पनि मारिए । उल्टै तिब्बती सरकारले खम्पालाई मात्र २० रुपैयाँ जरिवाना तिराएर नेपाली वकिललाई देश छाड्ने आदेश जारी गरेको छ ।
यो खबरले श्री ३ महाराज जङ्गबहादुुर तिलमिलाए र कुर्सीबाट जुरुक्क उठेर आफ्नो कम्मरको तरबारको बिँड समात्दै भने अति भयो, अब पत्र लख्ने र कूटनीतिक ढोका बन्द भयो । ब्रिटिस राजदूत याम्सेले करको लोभमा युद्ध नगर भनेका थिए । तर यो अब करको मात्र विषय रहेन । यो त नेपालको सार्वभौमिकता, स्वाभिमान र स्वाधीनताको विषय भयो । कुति र केरुङको व्यापारिक मार्ग र नेपाली जनताको हत्याको न्यायको सबाल हो ।
श्री ३ जङ्गबहादुर राणाले हिसाब लगाए कि यतिबेला युरोपमा क्रिमियाको युद्ध चल्दै छ र चीन पनि आफैँ ताइपिङ विद्रोहमा फसेको छ । तिब्बतमा पञ्चन लामाको मृत्य भएको छ र दलाई लामा पनि नाबालक नै छन् । यही नै तिब्बत माथि आक्रमण गर्ने उपयुक्त समय हो ।
नेपालमा युद्धको अभूतपूर्व तयारी चलिरहेको थियो । चौध हजार नेपाली सैनिक, बाह« हजार घोडाहरु, असी वटा हलुका तोप, चौबीस वटा ठूला तोप र हजारौँ बख्खुहरु तयार भइसकेको थियो ।
चार जना कमान्डिङ जनरललाई कलकत्ता र पटनाबाट हतियार किन्ने जिम्माको साथै आवश्यक परेमा भारतीय बाटो तथा जमिन प्रयोग गर्ने अनुमति पनि ब्रिटिस इष्ट इन्डिया कम्पनीसँग मिलाइ सकिएको थियो ।
युद्धको पूर्व तयारी पछि सन् १८५५ फेब्रुअरी २२ का दिन श्री ३ महाराज जङ्गबहादुर राणाले तिब्बत सरकारलाई अन्तिम चेतावनी पत्र पठाउँछन् । यो चेतावनी पत्रमा १. ल्हासामा भएको नोक्सानीबापत एक करोड रुपैयाँ क्षतिपूर्ति तिब्बत सरकारले तिर्नुपर्ने, २. कुति र केरुङको व्यापारिक मार्ग नेपाललाई दिनुपर्ने र ३. पश्चिमी तिब्बतको ताक्लाकोट नेपाललाई सुम्पिनु पर्ने जस्ता बुँदाहरु उल्लेख गरिएको थियो ।
चेतावनी पत्र पठाएको केही दिनपछि तिब्बत सरकारले एक गुम्बाका खजान्ची पाद्देन दोनदुपलाई काठमाडौँ पठायो । श्री ३ महाराज जङ्गबहादुर राणाले उनलाई तर्साउन २८ हजार तिब्बती लुगा लगाएका नेपाली सैनिकको भव्य परेड देखायो ।
त्यसपछि श्री ३ महाराज जङ्गबहादुर राणाले भारदारी सभामा तिब्बती दूत पाद्देन दोनदुपतर्फ हेर्दै महोदय हेर्नुभयो हाम्रो तयारी, यति तिब्बतले युद्ध चाहँदैन भने हाम्रो तीन सर्तहरु स्वीकार्नु पर्छ भने ।
तिब्बती राजदूत पाद्देन दोनदुपले डराउँदै भने महाराज म त सामान्य गुम्बाको खजान्ची हुँ, मसँग त्यस्तो कुनै राजनीतिक अधिकार छैन । तिब्बत सरकार एक करोड त होइन, साढे पाँच लाख दिन र नेपाली व्यापारीमाथि राम्रो व्यवहार गर्न तयार छ ।
पाद्देन दोनदुपको कुरा सुनिसकेपछि श्री ३ महाराज जङ्गबहादुर राणाले कठोर स्वरमा भने हामीलाई मञ्जुर छैन । तिब्बत फर्कनुहोस र भन्नुहोस्यति नेपालको माग पूरा भएनन् भने अब काठमाडौँमा होइन, हिमालको रणभूमिमा हाम्रो भेट हुनेछ । त्यही हिसाबकिताब गरौँला ।
सन् १८५५ मार्चमा श्री ३ महाराज जङ्गबहादुर राणाले थापाथली दरबारबाट तीन रेजिमेन्ट सैनिकलाई बिदाइ गरे । सुरुमा ६ ठाउँबाट आक्रमण गर्ने योजना बने पनि पछि तीन मुख्य क्षेत्रबाट नेपाली फौज अघि बढ्यो । यी तीन मोर्चामा उत्तरी क्षेत्रको केरुङ र कुति थियो । जसमा श्री ३ महाराज जङ्गबहादुर राणा र उनका भाइ बमबहादुर राणाको नेतृत्वमा तैनाथ भए । पश्चिमी क्षेत्र कुतिमा जनरल धीरशमशेर र खड्गबहादुरले नेतृत्व गरेका थिए भने सुदूरपश्चिमी क्षेत्र मुस्ताङ र हुम्लामा जनरल कृष्णध्वजले नेतृत्व गरेका थिए ।
सन् १८५५ अप्रितको पहिलो हप्तामा कुति र केरुङ क्षेत्रमा नेपाली सेनाको युद्ध गर्जनहरु गुञ्जियो । जनरल धीरशमशेर विना ठूलो युद्ध नै कुतिको किल्लामा विजयको झण्डा फहराउँदै अघि बढे । कुति नेपालको कब्जामा आइसक्यो अब अगाडि बढौँ र नौ माइल टाढाको गुम्बा पनि नियन्त्रणमा लिनुपर्छ भन्न थाले ।
जनरल बमबहादुर राणाले केरुङ र कुकुरघाट विजय गर्दै झुङ्गाघाटी तर्फ बढ्न थाले । त्यसबेला तिब्बतीहरुको मुख्य केन्द्र नै झुङ्गाघाटी थियो । नौ दिनसम्म झुङ्गाघाटीमा नेपाली सेनाले घेरा हाले । अन्ततः केही तिब्बती सैनिकहरुले आत्मसमर्पण गरे भने केही तिङ्ग्री मैदानतर्फ भागे । त्यसपछि वर्षायाम सुरु भएको कारण युद्ध केही समय रोकियो ।
मौसम र भौगोलिक कठिनाइको कारण युद्ध रोकिएपछि नेपालले कूटनीतिक ढङ्गले युद्धको समाधान तर्फ ध्यान दियो । सन् १८५५ को उत्तरार्धमा नेपाल सरकारले सुब्बा सिद्धिमान मार्फत चिनियाँ अम्बानलाई तीन वटा कूटनीतिक नोट पठायो । त्यसमा चीनले युद्धको मध्यस्थता गर्न सक्छ कि सक्दैन, कुति र केरुङ जस्ता भूभाग नेपालको पक्षमा पार्न सघाउँछ कि सघाउँदैन र सन् १७९१ को जस्तो दूत पठाउनु पर्छ कि पर्दैन ।
चिनियाँ अम्बानले सभा बोलाएर तिब्बतलाई २,३३,००० काला मोहर र चीनले थप ८०,००० रुपैयाँ (दिगर्चा मठबाट) सिधै नेपाली प्रधानमन्त्रीलाई बुझाउने प्रस्ताव राख्छन् । तर, कुति र केरुङको भूभाग नपाउने देखेपछि श्री ३ महाराज जङ्गबहादुर राणाले तिब्बती र चिनियाँ प्रतिनिधि मण्डललाई यस्तो प्रस्ताव लिएर नेपाल नआउन खबर पठाउँछन् । यद्यपि, खबर पुग्नु अघि नै तालीको नेतृत्वमा एउटा प्रतिनिधि मण्डल काठमाडौँ आइपग्छन् ।
काठमाडौंमा श्री ३ महाराज जङ्गबहादुर राणा र तालीको नेतृत्वमा वार्ता हुन्छ । वार्ता असफल भएपछि पुनः दोस्रो चरणको युद्ध सन् १८५६ मा भड्किन्छ, जसको अन्त्य ऐतिहासिक थापाथली सन्धिबाट हुन्छ ।
