
रामकुमार राई
पेरुको तटीय उपत्यकामा भेटिएको ४,००० वर्ष पुरानो यो त्रिआयामिक भित्तेचित्र माटो र रङको संयोजन मात्र भेटिएको होइन । यो मानव चेतनाको विकासक्रमको एक जीवन्त दस्तावेज भेटिएको हो । आधुनिक प्रविधि नभएको युगमा पनि प्राचीन मानवले कसरी प्रकृतिका सूक्ष्म नियमहरु खगोल, ऋतु, समुद्र, बाढी, पहिरो बुझेका थिए भने कला तथा वास्तुकलाको माध्यमबाट आफ्नो आध्यामित्मक विश्वासलाई अमर बनाएका थिए भन्ने तथ्य भेटिएको हो ।
काठमाडौं, मङ्सिर ६ ।
पोन्टिकलल क्याथोलिक युनिभर्सिटी अफ पेरुका सह–प्राध्यापक तथा वरिष्ठ पुरातत्वविद् डा. आना सेसिलिया मौरिसियो नेतृत्वको समूहले पेरुको हुआका योलान्डा, तान्गुचे उपत्यकाको ला लिबर्टाडबाट ४,००० वर्ष पुरानो एउटा भित्तेचित्रलाई उत्खनन गरेका छन् ।
उत्खनन सुरु गरिएको केही हप्ता मै माटोको ढिस्को मुनि सुरक्षित रुपमा दबिएको अवस्थामा एउटा प्राचीन मन्दिरको भग्नावशेषभित्र यो प्राचीन भित्तेचित्र फेला परेको हो ।
हालसम्म उत्खननबाट बाहिर निकालिएका भित्ताको भाग करिब ४ देखि ६ मिटर (१३ देखि २० फिट) लामो र १.५ देखि २.९ मिटर (५ देखि ९.५ फिट) अग्लो रहेको छ । पुरातत्वविद्हरुका अनुसार यो मन्दिरको अझै धेरै ठूलो भाग माटोमुनि दबिएको छ, जसको उत्खनन कार्य बाँकी नै छ ।
प्रागैतिहासिक कालमा पेरुका मानिसहरुले पुरानो मन्दिरको संरचनामाथि नयाँ संरचना निर्माण गर्दा पुरानो संरचनालाई सम्मानपूर्वक बालुवा र माटोले पुरेर सुरक्षित राख्ने गर्दथे ।
यही परम्परगत अभ्यासका कारण चार हजार वर्षसम्म यो भित्तेचित्र अत्यन्तै सुरक्षित र जीवन्त अवस्थामा रहन सफल भएको हो ।
प्रशान्त महासागरको तटीय क्षेत्र तथा एन्डिज पर्वतबाट प्रवाह हुने विभिन्न नदी किनारमा विकसित मानव सभ्यताहरुमध्ये लस कोरालेस र हुआका योलान्डालाई पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ ।
विशेषगरी सुपे उपत्यका, चाओ उपत्यकार तान्गुचे उपत्यका क्षेत्रमा प्रागैतिहासिक कालदेखि नै कृषि र सामुद्रिक स्रोतमा आधारित समाजको विकास भएको थियो भन्ने पुरातात्विक अन्वेषणबाट पत्ता लागेको छ ।
यो भित्तेचित्र इसापूर्व ९००–१५० को पेरुमा विकसित चाभिन सभ्यता करिब १,००० वर्ष र १५औँ शताब्दीको इन्का सभ्यताभन्दा ३,००० वर्ष पुरानो हो ।
पृथ्वीको गर्भभित्र रहेको अङ्ग्रेजी वर्ण यु आकारको मन्दिर परिसरको सबैभन्दा माथिल्लो तल्लामा भेटिएको यो म्युरल आर्टस्ले तत्कालीन समाजको प्रारम्भिक धार्मिक आस्था, भूगोल र खगोलीय चिन्तन, प्राचीन एन्डियन वास्तुकला शैली, सामाजिक संरचना, कला शिल्प, जस्ता तथ्यहरुको उजागर गरेको छ ।
प्राचीन पेरुमा प्रायः समतल भित्तामा रङ पोतेर चित्र बनाउने चलन त थियो नै । तर यो भित्तेचित्र भने गिलो माटोलाई कुँदेर र उभारेर (हाई एण्ड लो रिलिफ) प्रविधिमा बनाइएको छ । त्यसैले कलाकृतिमा पर्ने प्रकाश र छायाँको संयोजनले गर्दा दिनको समयअनुसार यो आकृतिलाई जीवन्त र चलायमान बनाएको छ ।\

भित्तेचित्रमा प्रयोग गरिएको रङहरु र प्रविधि अद्भुत रहेको छ । किनकि ४,००० वर्ष पुरानो भएपनि यस भित्तेचित्रमा प्रयोग गरिएका रङहरु अझै चम्किलो र स्पष्ट देखिन्छन् । प्रयोगशाला विश्लेषण र प्रारम्भिक अध्ययनका आधारमा यसका मुख्यतया गाढा नीलो, पहेँलो, गेरु, रातो र कालो पाँच प्रकारका प्राकृतिक खनिज र वनस्पतिजन्य रङहरुको प्रयोग भएको पाइएको छ ।
पुरातत्वविद् डा. मौरिसियोका अनुसार नीलो रङ तत्कालीन समाजले समुद्र, पानी र आकाशसँगको गहिरो आध्यात्मिक सम्बन्धलाई दर्शाउँन प्रयोग गर्दथे, भने माटो र खनिज पदार्थबाट निकालिएको पहेँलो रङले सूर्य, उज्यालो र उर्वर भूमिको प्रतिनिधित्वको लागि गर्दथे ।
त्यसैगरी हेमाटाइट जस्ता खनिजबाट तयार पारिएको रातो रङले जीवनशक्ति, रगत र धार्मिक बलिदानको सङ्केत गर्ने र कोइला वा कालो खनिजबाट बनाइएको कालो रङले आकृतिहरुको किनारा कोर्न र गहिराइ देखाउन प्रयोग गर्दथे ।
अध्ययनले के पनि देखाएको छ यो भित्तामा एकै पटक मात्र रङ लगाइएको थिएन । एउटै भित्तामा रङका विभिन्न पत्रहरु भेटिएका छन् । जसले इसापूर्वको त्यो कालखण्डमा सयौँ वर्षसम्म यस मन्दिरमा निरन्तर धार्मिक अनुष्ठानहरु भइरहन्थे र समय समयमा भित्तेचित्रको मर्मत तथा पुनः रङरोगन गरिन्थ्यो भन्ने प्रमाणित गर्दछ ।
यस भित्तेचित्रको दक्षिणी मोहोडामा पखेटा फिँजाएको एक विशाल शिकारी चरा र चराको शीरमा हीरा आकारको ज्यामितीय बुट्टाको आकृति बनाइएको छ । प्राचीन एन्डियन संस्कृतिमा आकाशमा उड्ने शिकारी चरा बाज, चीललाई दैवी शक्ति, दिव्य दृष्टि र स्वर्ग तथा पृथ्वीबीचको सन्देशवाहकको रुपमा पूजा गरिन्थ्यो ।
यही मोहोडामा विभिन्न आकारका माछाहरु, सामुद्रिक वनस्पति र माछा मार्ने जालको आकृतिहरु पनि कुँदिएका छन् । पेरुको तटीय क्षेत्रको मुख्य अर्थतन्त्र हालसम्म पनि समद्री माछा व्यवसाय र कृषिमा निर्भर रहेको छ । यो प्रचीन कालदेखि कै निरन्तरता हो भन्ने स्पष्ट हुन्छ ।
भित्ताको माथिल्लो भागमा ताराहरु, आकासीय पिण्डहरु अङ्कित छन् । यसले ४,००० वर्ष पहिलेको मानिसहरु आकाशका तारा र ग्रहहरुको चाल पनि गहिरो अध्ययन गर्दथे भन्ने बुझ्न सकिन्छ । सोही अनुसार दैनिक जीवन सञ्चालन, कृषि कार्यका लागि ऋतुहरुको पहिचान, समुद्रका ज्वारभाटा तथा ठूला लहरहरुको अनुमान, मौसमको भविष्यवाणी गर्ने गर्दथे ।

यो भित्तेचित्रको उत्तरी मोहोडामा भने रहस्यमय र आध्यात्मिक विषयवस्तु अङ्कित गरिएको छ । जहाँ मानिसबाट चरामा रुपान्तरण हुँदै गरका मानव–पक्षीहरुका आकृतिहरु कुँदिएका छन् ।
पेरुमा धामीझाँक्रीहरुले धार्मिक अनुष्ठानमा सान पेड्रोे क्याक्टस जस्ता लठ्याउने वनस्पतिको सेवन गरी चरा बनेर आकाशमा उडेको, देवता र आफ्ना पुर्खाहरुसँग संवाद गरेको अनुभाव आम मानिसलाई बताउँने गर्दथ्यो । यसले तत्कालीन समाजमा धामीझाँक्री वा पुजारीहरु शक्तिशाली हुन्थे भन्ने यसले दर्शाउँछ ।
पेरुको तटीय उपत्यकामा भेटिएको ४,००० वर्ष पुरानो यो त्रिआयामिक भित्तेचित्र माटो र रङको संयोजन मात्र भेटिएको होइन । यो मानव चेतनाको विकासक्रमको एक जीवन्त दस्तावेज भेटिएको हो । आधुनिक प्रविधि नभएको युगमा पनि प्राचीन मानवले कसरी प्रकृतिका सूक्ष्म नियमहरु खगोल, ऋतु, समुद्र, बाढी, पहिरो बुझेका थिए भने कला तथा वास्तुकलाको माध्यमबाट आफ्नो आध्यामित्मक विश्वासलाई अमर बनाएका थिए भन्ने तथ्य भेटिएको हो ।
