
रामकुमार राई
राजमुकुट र नृत्यकला दुवैलाई उत्तिकै सम्मान दिने सम्राट लुई चौधौँले दरबारिया मनोरञ्जनको घेरालाई तोड्दै नृत्य कलालाई संस्थागत अनुशासन, शास्त्रीय व्याकरण र कलाको व्यावसायिकतालाई स्थापित गर्दै सूर्य राजाको उपाधि कमाएका थिए ।
कला विशेष
काठमाडौं, मङ्सिर ९ ।
सत्रौं शताब्दीको फ्रान्स राजकाज, दरबारी षडयन्त्र र सत्ताको खेलमा मात्र अल्झिरहेको थिएन ।
कला र वास्तुकलाका नवीनतम सुरुवात भइरहेको थियो । त्यही कालमा बनेको भर्साइल दरबारको प्राङ्गणबाट विश्वभरी फैलिरहेको थियो अनुशासित, भव्य र शास्त्रीय ब्याले नृत्यको आधुनिक स्वरुप, त्यसका जनक फ्रान्सका सम्राट लुई चौधौँ थिए ।
यस काललाई कला, साहित्य र वास्तुकलाको इतिहासमा बरोक शैली भनिन्छ ।
राजमुकुट र नृत्यकला दुवैलाई उत्तिकै सम्मान दिने सम्राट लुई चौधौँले दरबारिया मनोरञ्जनको घेरालाई तोड्दै नृत्य कलालाई संस्थागत अनुशासन, शास्त्रीय व्याकरण र कलाको व्यावसायिकतालाई स्थापित गर्दै सूर्य राजाको उपाधि कमाएका थिए ।
सन् १६३८ देखि १७१५ सम्मको जीवनकालमा लुई चौधौँले सत्ताको गरिमासँगै कलाको साधनालाई पनि उत्तिकै उचाइ दिए । सन् १६३८ देखि १६६९ बीच करिब ४० वटा दरबारिया नृत्य नाटकहरुमा मुख्य भूमिका निर्वाह गरे ।
सन् १६५३ मा ले ब्याले दे ला नुइट नामक १३ घण्टा लामो भव्य नृत्य प्रस्तुतिमा जब उनी सूर्य देवता अपोलोको रुप धारण गरेर मञ्चमा उत्रिए, तब भर्साइल दरबारको भव्य रङ्गमञ्च तथा उनले गरेको नृत्यको प्रकाशले उनलाई फ्रान्सभरि सूर्य राजा बनाइदियो ।
राजाको दूरदर्शिता केवल मञ्चीय चमकमा सीमित रहेन । उनले नृत्यलाई विकास र विश्वव्यापी प्रवद्र्धनको लागि संस्थागत आधार बनाउने कसरतमा लागे ।
यसकै प्रतिफल स्वरुप सन् १६६१ मा विश्वकै पहिलो औपचारिक नृत्य संस्था अकादेमी रोयाल दे डान्स स्थापना गरे । जहाँ १३ जना अनुभवी नृत्य गुरुहरुले नृत्यको स्तरोन्नति र शिक्षकलाई प्रमाणपत्र दिने व्यवस्थाको सुरुवात गरे ।
सन् १६६९ मा सङ्गीत र नृत्य जोड्ने अकादेमी रोयाल दे म्युजिक स्थापना गरे । जसमा सन् १६७२ मा नृत्य विद्यालय थपिएर आजको विश्वप्रसिद्ध ओपेरा ब्यालेको रुपमा लियो ।
सन् १७१३ मा व्यावसायिक नर्तकको नियमित तालिमका लागि नृत्य संरक्षणालयको निर्माण गर्न पहल गरे । लुई चौधौँको नृत्य गुरु पियरे ब्युच्याम्पले राजाकै सहयोगमा ब्याले नृत्य गर्दा प्रयोग गरिने खुट्टाका पाँच आधारभूत अवस्थालाई मानकीकरण गरियो ।
नृत्यका चालहरुको फ्रेन्च भाषामा नामकरण गरियो । यी पाँच आधारभूत स्थितिलाई आज पनि विश्वभर ब्याले नृत्य सिक्नेले अनुसरण गर्दछ ।
राजाका सङ्गीत गुरु राउल–एन्जर फुइलेर ब्युच्याम्पले नृत्य नोटेशन प्रणालीको विकास गरी नृत्यलाई लेखन कलामा रुपान्तरण गर्ने सुरुवात गरे । यसले नृत्यको चालहरुलाई कागजमा लिपिबद्ध गरी संरक्षण गर्न सहयोग पु¥यायो ।
सङ्गीतकार जँ–ब्याप्टिस्ट लुली र नाटककार मोलियर मिलेर नाटक, सङ्गीत र नृत्य विधालाई जोडेर कमेडी ब्यालेको अवधारणा विकास गरे । ब्याले नृत्यलाई दरबारको आँगनमा मात्र सीमित नगरी सर्वसाधारणले पनि टिकट किनेर दृश्यपान गर्ने व्यावसायिक कला यात्राको सुरुवात गरे ।
