काठमाडौं, मंसिर १० । कानुनी परामर्शका लागि कानुन व्यवसायीको कार्यालय पुगेकी सेवाग्राहीलाई प्रहरीद्वारा कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनाप्रति नेपाल बार एसोसिएसनले गम्भीर आपत्ति जनाएको छ।
प्राप्त विवरणअनुसार, काठमाडौंको डिल्लीबजार/कालिकास्थानस्थित जनचेतना ल फर्ममा कानुनी परामर्शका लागि पुगेकी हस्तमाया बस्नेतलाई मंसिर १० गते बुधबार प्रहरीले पक्राउ गरेको हो।
कानुनी परामर्श भइरहेको अवस्थामा सादा पोसाकमा आएका प्रहरी कार्यालयभित्र प्रवेश गरी सेवाग्राहीलाई नियन्त्रणमा लिएर गएको बताइएको छ। उक्त घटनाका क्रममा प्रहरीले कानुन व्यवसायीको कार्यालयमा प्रवेश गर्दा आवश्यक कानुनी प्रक्रिया पालना नगरेको तथा उपस्थित कानुन व्यवसायीहरूसँग असम्मानजनक व्यवहार गरेको आरोपसमेत लगाइएको छ।
नेपाल बार एसोसिएसनले कानुन व्यवसायीको कार्यालय कानुनी परामर्श, सेवाग्राहीको गोपनीयता तथा संवेदनशील कागजात सुरक्षित राखिने व्यावसायिक स्थान भएको उल्लेख गर्दै त्यस्तो स्थानमा प्रहरीको हस्तक्षेपले कानुनी सहायता प्राप्त गर्ने नागरिकको अधिकार तथा कानुन व्यवसायको स्वतन्त्रता र मर्यादामाथि असर पर्ने जनाएको छ।
एसोसिएसनले घटनाको निष्पक्ष छानबिन गर्न, दोषी देखिएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
कानुन व्यवसायीको कार्यालयबाटै सेवाग्राही पक्राउ गरिएको घटनाले कानुन व्यवसायी तथा नागरिकले कानुनी परामर्श लिने अधिकार, सेवाग्राहीको गोपनीयता र कानुनी शासनको प्रत्याभूतिमाथि गम्भीर प्रश्न उठाएको छ।

