मस्को, मङ्सिर १२ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नयाँ आणविक ऊर्जाबाट चल्ने पनडुब्बी सार्वजनिक गर्दै रूसले सन् २०३० सम्म देशको आणविक ऊर्जाबाट चल्ने पनडुब्बी सेवालाई थप पाँच वटा थप्नेछ बताएको छ ।
क्रेमलिनले सार्वजनिक गरेको भिडियोमार्फत् यो जानकारी गराइएको हो । उत्तरपश्चिमी शहर सेभेरोद्विन्स्कको सेभ्माश शिपयार्डमा राष्ट्रपति पुटिनले ‘पर्म’ पनडुब्बीको अनावरण गर्ने समारोहमा सरीक हुनुभएको थियो ।
अनावरणले नौसेनामा यसको औपचारिक हस्तान्तरणलाई सङ्केत गर्छ ।
उहाँले भन्नुभयो, “रूस यस्तो शक्तिशाली आणविक पनडुब्बी निर्माण गर्न सक्ने विश्वका थोरै देशहरूमध्ये एक हो । यी हतियारहरूको विश्वव्यापी पहुँच र महत्व छ।”
आणविक ऊर्जाबाट चल्ने पनडुब्बीहरू रुसको आणविक प्रतिरोध क्षमताको महत्वपूर्ण हिस्सा हुन् किनभने पानीमुनि गोप्य रूपमा सञ्चालन गर्न सक्ने क्षमताले आक्रमण भएमा शत्रुविरूद्ध जवाफी आक्रमण सुनिश्चित गर्छ ।
रूसी नेता पुटिनले भन्नुभयो, “नौसेनाले सन् २०३० सम्म थप पाँच वटा यस्ता े पनडुब्बीहरू प्राप्त गर्नेछ, जसमा तीन वटा यासेन–एम वर्गका हुनेछन्।
पर्म पनि यही वर्गको हो। यी पनडुब्बीहरू क्रुज मिसाइलहरूको भार बोकेर ‘विश्वका महासागरका कुनै पनि भाग’ मा चल्न सक्छन् ।”
रासस/एएफपी
