वासिङ्टन, भदौ २४:
अमेरिका र इरानबीच छ महिनाभन्दा लामो समयदेखि जारी युद्धमा तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाले मंगलबार आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको जवाफमा इरानका थप पाँचवटा तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ ।
अमेरिकी कारबाहीपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी लक्ष्यतर्फ क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
जोर्डनको सेनाका अनुसार उसको हवाई प्रतिरक्षा प्रणालीले आफ्नो भूमितर्फ प्रहार गरिएका १८ वटा ब्यालेस्टिक क्षेप्यास्त्र आकाशमै रोकेको थियो । थप दुईवटा क्षेप्यास्त्र भने मानव बस्ती नभएका क्षेत्रमा खसेका थिए । घटनामा मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जोर्डनले जनाएको छ ।(रासस/एपी)
