काठमाडौं, असोज ८। नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ।
‘सिरिज २०२५’ अन्तर्गत जारी गरिएको नयाँ नोटको आकार यसअघिको १ हजार रुपैयाँको नोटकै बराबर छ। तर नोटको रंग संयोजन र सुरक्षण विशेषतामा भने केही परिवर्तन गरिएको छ।
नयाँ नोट पर्पल अर्थात् बैजनी रंगको घेराभित्र फिक्का हरियो देखिने गरी तयार पारिएको छ। नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। यसको सङ्केत नम्बर ट/९२ ०००००१ देखि त/५० ९९९९९९ सम्म रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ।
नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र राखिएको छ भने दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको चित्र छ। लालीगुराँसको मुनि ‘१०००’ अंक देखिने पानीछाप राखिएको छ।
नोटलाई प्रकाशतर्फ फर्काएर हेर्दा नीलो रंगको सी थ्रु रजिस्टरमा ‘१०००’ को पूरा आकृति देखिन्छ। नक्कली नोट बनाउन कठिन हुने गरी विभिन्न आधुनिक सुरक्षण प्रविधि पनि प्रयोग गरिएको छ।
सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिमा भगवतीको चित्र राखिएको छ। नोटलाई सिधा हेर्दा उक्त चित्र सुनौलो र ढल्काएर हेर्दा चम्किलो हरियो देखिन्छ।
त्यस्तै, नोटमा ३.५ मिलिमिटर चौडाइको चलायमान सुरक्षण धागो राखिएको छ। सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त धागोमा ‘NRB’ र ‘1000’ लेखिएको छ।
दृष्टिविहीन व्यक्तिले स्पर्शबाटै नोट पहिचान गर्न सक्ने गरी पनि विशेष व्यवस्था गरिएको छ। नोटको दायाँतर्फ तल्लो भागमा रोमन अक्षर ‘M’ राखिएको छ। सगरमाथा र पानीछापको दायाँबायाँ १०/१० वटा स्पर्शबाट महसुस गर्न सकिने तेर्सा रेखा राखिएका छन्।
नोटको तल्लो भागमा सिरिज नम्बरका रूपमा ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ।
पछाडिको भागमा जुम्ल्याहा हात्ती
नयाँ १ हजार रुपैयाँको नोटको पछाडिको मध्य भागमा चितवनको सरकारी हात्तीसारमा देवकली नामको हात्तीबाट जन्मिएका जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’ को चित्र राखिएको छ।
चित्रको माथिल्लो भागमा अंग्रेजीमा ‘Nepal Rastra Bank’ लेखिएको छ। पानीछापको दायाँतर्फ नेपालका सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी सातवटा लालीगुराँसका फूल राखिएका छन्।
नोटको दायाँतर्फ ‘Rupees One Thousand’ लेखिएको छ। त्यससँगै ऐतिहासिक हनुमानढोका दरबारस्थित ल्होंचोकमा रहेको पुरातात्विक महत्वको थामको आकृति राखिएको छ।
नोटको तल्लो बोर्डरमा अन्तर्राष्ट्रिय सिरिज जनाउने गरी ‘2025 AD’ उल्लेख गरिएको छ।
