दमौली (तनहुँ), २८ असोजः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा दायर गरेको छ । न्यून गुणस्तरका खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तरमा लापरबाही गरेको दाबी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा मुद्दा दाखिला भएको हो ।
कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रकृतिका छ वटा मुद्दा दर्ता गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख ज्योति आचार्यले दर्ता भएका मुद्दामध्ये एक वटा दुषित तथा न्यूनस्तरको खाद्यवस्तुसँग सम्बन्धित र पाँच वटा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित कसुरका रहेको बताउनुभयो ।
कार्यालयको कार्यक्षेत्र तनहुँ, लमजुङ, गोरखा, नवलपुर र मनाङ जिल्ला हो । कार्यक्षेत्रभित्रका विभिन्न उद्योग तथा खाद्य व्यवसायको अनुगमनका क्रममा खाद्य ऐन तथा नियमावलीविपरीत उत्पादन, प्रशोधन तथा बिक्री वितरण गरेको पाइएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको आचार्यले बताउनुभयो ।
नवलपुरको गैँडाकोट नगरपालिका–७ स्थित कालिका रिफाइनरी उद्योग प्रालिले न्यूनस्तरको प्रशोधित सूर्यमुखी तेल उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय नवलपुरमा मुद्दा दर्ता गरिएको छ ।
खाद्य वस्तुको गुणस्तर परीक्षणका क्रममा तोकिएको मापदण्डअनुसार नरहेको पाइएपछि कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
त्यस्तै, गैँडाकोट नगरपालिका–१६ स्थित एचओएफ फुड्स प्रालिविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय नवलपुरमा मुद्दा दर्ता गरिएको छ ।
रासस
