काठमाडौं, असोज ३१। साइबर ब्युरोले शनिबार दिउँसो घरबाट लगेको पत्रकार किशोर श्रेष्ठ साँझ रिहा हुनुभएको छ ।
रिहाइपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै श्रेष्ठले समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्न र सञ्चार उपकरण जफत गर्न नपाइने सर्वोच्च अदालतको परमादेशले पुनः मान्यता पाएको बताउनुभएको छ ।
सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्नुपर्ने उल्लेख गर्दै श्रेष्ठले साइबर ब्युरो सञ्चारमाध्यमविरुद्धका मुद्दा छिनोफानो गर्ने निकाय नभएको टिप्पणी गरेका छन्।
उनले आफूहरूमाथि सामाजिक सञ्जालमार्फत व्यक्तिलक्षित टिप्पणी भएको तथ्य सम्बन्धित पक्षले स्वीकार गरेको दाबीसमेत गर्नुभएको छ।
आफूलाई घरबाट लगिए पनि साँझ घर फर्किएको उल्लेख गर्दै श्रेष्ठले यस घटनामा प्रेस जगतको ऐतिहासिक एकता पुनः प्रदर्शन भएको बताउनुभएको छ।
उहाँले स्टाटसको अन्त्यमा ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ लेख्नुभएको छ ।

