दीपावलीको लागि माटोको दियो किन्दै सर्वसाधारण धनगढी, २१ कात्तिकः धनगढीको जिल्ला प्रशासन कार्यालय गेट अगाडी फुटपात पसलमा दीपावलीको लागि माटोको दियो किन्दै सर्वसाधारण । दीपावली सुरु भएसङ्गै धनगढी बजारमा सामान किनमेल गर्ने सर्वसाधारणको भिडभाड ह्ववात्तै बढेको छ । तस्बिरः तिलकराज ओझा÷रासस
काठमाडौँ, २१ कात्तिकः तिहारको सांस्कृतिक महत्त्व र सबै प्राणीलाई सम्मान गर्ने यसको सन्देश नयाँ पुस्तासम्म पुर्याउन संस्कृतिविद्हरूले जोड दिएका छन् ।
धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले तिहार तथा देउसीभैलोको सांस्कृतिक महत्त्वबारे आज यहाँ आयोजना गरेको अन्तरक्रियामा संस्कृतिविद्हरूले तिहारका धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको अध्ययन गरी प्रचारप्रसार गर्नुपर्ने बताएका हुन् । गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनले काग, कुकुर, गाई, गोरु, दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिने तिहारले सबै प्राणी र पारिवारिक सम्बन्धको महत्त्व उजागर गर्ने बताउनुभयो ।
यसको मौलिक पक्ष नयाँ पुस्तासम्म पुर्याउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा डा नवराज कट्टेलले प्रकृति र सबै प्राणीप्रति सम्मानभाव राख्न सिकाउने तिहारजस्ता पर्वको सन्देश पत्रकारितामार्फत प्रवाह गर्नुपर्ने बताउनुभयो । यस्ता पर्वले सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ बनाउन पनि योगदान गर्ने उहाँले उल्लेख गर्नुभयो ।
पूर्वमन्त्री एवं संस्कृतिविद् डा कान्ता भट्टराईले काग, कुकुर, गाई र गोरुको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको भन्दै तिहारको सांस्कृतिक सन्देश बुझाउनुपर्ने बताउनुभयो । संस्कृतिविद् प्रा डा ध्रुवप्रसाद भट्टराईले कागलाई नैतिक शिक्षा र न्यायसँग जोडेर हेर्ने परम्परा रहेको उल्लेख गर्दै तिहारका विभिन्न सांस्कृतिक पक्षको खोज तथा व्याख्या आवश्यक रहेको बताउनुभयो ।
रेक्जोनका अध्यक्ष पूर्णप्रसाद मिश्रले संस्थाले दोस्रो वर्ष पनि तिहार र देउसीभैलोको सांस्कृतिक महत्त्वबारे बहस आयोजना गरेको जानकारी दिनुभयो । यसैबीच, धार्मिक तथा सांस्कृतिक पत्रकारिताको संस्थागत विकासका लागि पुस्तकालय तथा स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यले रेक्जोनले देउसीभैलो कार्यक्रम सुरु गरेको उपाध्यक्ष एवं कार्यक्रम संयोजक डा अलका लम्साल रेग्मीले जानकारी दिनुभयो ।
रासस
