
रामकुमार राई
काठमाडौं, कार्तिक १० ।
काठमाडौंको केन्द्र टुँडिखेलको पूर्व दक्षिण कुनामा अवस्थित भद्रकाली वैष्णवी मन्दिरलाई नेवार समुदायले लुँमधि अजिमा र सनातन धर्मावलम्बीहरुले लज्जा पीठका रुपमा श्रद्धापूर्वक मान्दै आएका छन् ।
प्राचीन हस्तलिखित ग्रन्थहरु र जनश्रुति अनुसार, कुनै समय काठमाडौंका सातौँ शताब्दीका प्रसिद्ध तान्त्रिक बज्राचार्य शाश्वत बज्रले यस पीठको स्थापना गरेका थिए ।
कथा अनुसार परापूर्वकालमा काठमाडौं र पाटन राज्यबीच भीषण युद्ध भएको थियो । उक्त युद्धमा मारिएका सैनिकहरुको शब जलाउन नसकिएपछि लासहरुको ठूलो थुप्रो लाग्यो । जसलाई आज पनि थापाथलीमा दोला अजिमा पीठका रुपमा चिनिन्छ ।
त्यस भयानक युद्धलाई शान्त पार्न तान्त्रिक शाश्वत बज्र कामारु कामाक्षा पीठमा गई कठोर पूजापाठ, जप र तपस्या गरे । उनको साधनाबाट प्रसन्न भई भद्रकाली देवी प्रकट भइन् ।
तान्त्रिक बज्रले देवीलाई एउटा कलशमा राखी काठमाडौं ल्याए । हाल राष्ट्रिय नाचघर रहेको जमल क्षेत्रमा आइपुग्दा, उनले साधना गरी ल्याएको कलशलाई एउटा रुखमा झुण्ड्याएर आफू शौच गर्न गए ।
त्यतिबेला जमल क्षेत्र काठमाडौं सहरभन्दा बाहिर जङ्जल थियो । तर जब उनी शौच गरी फर्किए, रुखमा झुण्ड्याएको कलश गायब भइसकेको थियो र भुँइमा पूजामा सामग्रीहरु छरपस्ट थिए । यो देखेर बज्र अचम्मित र चिन्तित भए ।
कलशबाट प्रकट भएकी कालिका देवीले एक सानी गरिब केटीको रुप धारण गरिन् र रुँदै टोखा भद्रकाली क्षेत्र नजिकको तुप्पा नवलिङ्ग तर्फ गइन् ।
त्यही समयमा मलको खर्पन बोकेर आफ्नो खेततिर जाँदै गरेका एक स्थानीय किसानले बाटोका रुँदै गरेकी ती सानी बालिकालाई देखे । किसानले दयाभाव राख्दै सोधे, तिम्रा आमाबुबा को हुन् ? बालिकाले केही जवाफ दिइनन् । फेरि किसानले सोधने, के तिमी मसँग आउँछौ ? बालिकाले टाउको हल्लाएर सहमति जनाइन् ।
किसानले आफ्नो आधा खर्पनको मल भुँइमा फ्याँकेर त्यसमा ती सानी बालिकालाई राखे र अर्कोतिर चिउरा तथा जाँडको घ्याम्पो राखेर खेततर्फ लागे । खेतमा पुगेपछि बालिका निदाइन् ।
किसानले उनलाई घामबाट जोगाउन आफ्नो बलेचा वा खेतको सानो घरमा आधा शरीरमा छाँया पर्ने गरी सुताएर काम गर्न थाले ।
खाजा खाने समयमा जब किसान बलेचामा आए, उनले अनौठो दृश्य देखे । ती बालिका त साक्षात कालिका देवीको रुपमा प्रकट भइन् र दर्शन दिएर अलप भइन् ।
कालिकाको दर्शन पाएर हर्षित भएका किसान हतार हतार आफ्नो घरतिर फर्किए । यता जमलमा शाश्वत बज्र र सहरवासीहरु देवी हराएकोले खोजतलास गरिरहेका थिए ।
खेतबाट फर्केका किसानले देवीले आफूलाई दर्शन दिएको वृत्तान्त सुनाएपछि सबैजना मिलेर तुप्या नवलिङ्ग पुगे । त्यहाँ देवीले पुनः बालिकाकाे रुपमा सबैलाई दर्शन दिइन् । सहरवासीहरुले ती बालिका रुपी देवीलाई फकाएर सहर भित्राउन अनेक कोसिस गरे ।
अन्ततः तिमीलाई लुँ मधि (नेवारी भाषामा सुनको रोटी) दिउँला भनी फकाएर देवीलाई काठमाडौं सहर भित्र ल्याइयो । यही ऐतिहासिक घटनाको कारण देवीको नाम लुँमधि अजिमा रहन गयो ।
भद्रकाली मन्दिरमा प्रत्येक वर्ष बडा दसैँ र पिशाच चतुर्दशी (पाहाचह्रे) का दिन यहाँ जात्रा लाग्दछ । उक्त दिन देवीलाई वाचा गरे अनुसारको चामलको पहेँलो रोटी (चटामरी), जसलाई सुनको रोटीको प्रतीक मनिन्छ ।
त्यसैगरी, मासको बारा, तोरीको पहेँलो फूल (सुनको फूलको प्रतीक), र मूलाको सेतो फूल (चाँदीको फूलको प्रतीक) चढाई विशेष पूजाआजा गरिन्छ ।
